मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यास्ट्रो पछिको क्युवा

बिहीबार, ०६ वैशाख २०७५, १७ : १९
बिहीबार, ०६ वैशाख २०७५

नेतृत्व परिवर्तन क्युवामा बिरलै हुने घटना हो । सन् १९५९ देखि यता त्यहाँ एक पटक मात्र नेता बदलिए । त्यो वर्ष सन् २००६ थियो जब राष्ट्रपति फिडेल क्यास्ट्रो विरामी भए पछि उनका भाई राहुल क्यास्ट्रोले उनको ठाउँ लिए ।

राहुल क्यास्ट्रो साँच्चै परिवर्तनको सम्बाहक भएर आए । दुई कार्यकालपछि ८६ वर्ष उमेरमा राहुल क्यास्ट्रोले पनि राष्ट्रपति पद छाड्ने निर्णय गरे । सोही परिवर्तन स्वरुप अप्रिल १९ मा राष्ट्रिय सभाले क्युवाको नयाँ राष्ट्रपतिको रुपमा मिगेल डियाज कनेल चुनेको छ ।

साठी वर्षमा पहिलो पटक त्यहाँको राष्ट्रपतिको नामको अन्तिममा क्यास्ट्रो हुने छैन ।

यो ऐतिहासिक समय हो । क्रान्तिबाट बनेको हरेक देशमा नयाँ पुस्तामा सत्ता हस्तान्तरण सधैँनै राजनैतिक रुपमा चुनौतीपूर्ण हुने गर्छ ।

राहुल क्यास्ट्रोका उत्तराधिकारीलाई क्युवाको अर्थतन्त्र उकास्ने, अमेरिकासँग राम्रो सम्बन्ध बनाउने, ठूलो सङ्ख्यामा रहेका विरोधीहरुको सामाना गर्ने चुनौती रहेको छ । र, उनले यो चुनौती कम्युनिष्ट पार्टीको नेतृत्वमा अझै राहुल र क्रान्तिका पहिलो पुस्ता हावी भइरहँदा सामाना गर्नुपर्नेछ ।

को हुन् नयाँ राष्ट्रपति डियाज कनेल ?

५७ वर्षे मिगेल डियाज कनेल राहुल क्यास्ट्रोको सरकारमा उपराष्ट्रपति थिए । उनको सत्तारोहणले सन् १९५९ मा क्रान्ति गरेका ‘ऐतिहासिक पुस्ता’बाट सत्ता हस्तान्तरणको प्रतिनिधित्व गर्दछ । यो पुस्ताका अधिकांश नेता हाल ९० वर्षको हाराहारीमा रहेका छन् ।

सन् २०११ मा राहुल क्यास्ट्रोले उच्च सरकारी र पार्टीको पदमा दुई कार्यकालको सीमा तोकिदिए । सीमा तोक्दा उनले बुढाहरु लामो समय शासनमा रहनु सकारात्मक नहुने बताएका थिए ।

तर, सन् २०१६ मा मृत्यु भएका फिडेल क्यास्ट्रोको चमक अझै पनि क्युवाको शासनको आधारस्तम्भ रहेको छ । इन्जिनियरका रुप प्रशिक्षित डियाज कनेलले प्रादेशिक राजनीतिबाट आफ्नो राजनीति शुरु गरेका थिए ।

उनको राजनीति निगरानी गरिरहेका अनुसार डियाज अनुभवी र व्यवहारिक नेता हुन् । उनका राजनैतिक गुरु राहुलजस्तै डियाज पनि भिडको अगाडी केही मात्रमा कडा रुपमा प्रस्तुत हुने र सानो समूहमा भने सहज र मैत्रीपूर्ण रहने बताइन्छ ।

राष्ट्रपतिको रुपमा डियाज कनेलमाथि क्यास्ट्रोको छायाँ हुनेछ । क्यास्ट्रो सन् २०२१ सम्म क्युवाको एक मात्र पार्टी कम्युनिष्ट पार्टीको महासचिवको रुपमा रहनेछन् । यसले उनमा राहुलको अनुभवको फाइदा हुनेछ भने अर्कोतर्फ उनीमाथि नियन्त्रणको चुनौती पनि हुनेछ । 

संविधान अनुसार यो पद राष्ट्रपतिभन्दा शक्तिशाली पद हो । पार्टीको नेत्तृत्वले सबै खालको आर्थिक, सामाजिक र वैदेशिक सम्बन्धको नीति बनाउछ जसलाई राष्ट्रपतिले कार्यन्वयन गर्नुपर्छ ।
त्यसैले अहिलेनै डायज कनेलले व्यापक परिवर्तन गर्न सक्ने ठाँउमा छैन ।

हराएको वा अदृश्य पुस्ताका चर्चित नामहरु

तथापि नेतृत्वको संक्रमण महत्वपुर्ण कुरा हो । डायजसँगै अन्य पदमा पनि यो पाली नयाँ अनुहारहरु आउँदै छन् । राहुलले राष्ट्रपतिसँगै सरकार र पार्टीका शीर्ष पदहरु सबैमा दुई कार्यकालको सीमा लगाएका थिए । यो पटक शीर्ष पदमा आउने चर्चित नामहरुमा ६० वर्षे विदेश मन्त्री ब्रुनो रोड्रिग्वेज, ५४ वर्षिय हावानाका पार्टी नेता मर्सिडिज लोपेज एसेया, ५७ वर्षीय आर्थिक मामिला विज्ञ मारिनो मुरिल्लो र देशको दोश्रो बढी जनसङ्ख्या भएको शहर स्यान्टियागोका पार्टी प्रमुख ६३ वर्षिय लाजरो एक्पोसितो छन् ।

पर्दा पछाडी रहने राहुलका ५२ वर्षीय छोरा एलेजान्द्रो गृह मन्त्रालयका शक्तिशाली व्यक्तित्व हुन् । उनी बाराक ओबामाको पालामा अमेरिकासँग भएको सम्बन्ध सुधारको वार्ताहरुमा सुत्रधार मध्ये एक थिए । ५० र ६० को दशकमा रहेका क्यास्ट्रोका पूर्व ज्वाइँ जनरल लुई अलबर्टो रोड्रिग्वेज लोपेज सेनाको आर्थिक विभाग चलाउछन् । यो विभागले देशमा ठूलो हिस्साको सरकारी व्यवसायहरुमा नियन्त्रण राख्छ ।

क्युवाली क्रान्तिपछि जन्मिएका नेताहरुको यो पुस्तालाई हराएको वा अदृश्य पुस्ता भनिन्छ । यी नेताहरुको सबैभन्दा ठूलो कमजोरी भनेको अनुभवको कमी हो । यो पुस्ताको आजसम्मको जीवन क्रान्ति गर्ने नेताहरुको निर्णयहरु पालना गरेरै बितेको छ । 

“डियाज कनेलले असहज अवस्थामा वर्षौँ बिताए । उनको पुस्ताको कोही पनि उनी पुगेको तहमा पुग्न सकेनन् । त्यसले उनमा केही मात्रामा तनाव श्रृजना गरेको थियो,” क्रान्तिपक्षधर ब्लगर र डायज कनेलका समर्थक हारोल्ड कारडेनासले भने ।

बर्षौँ छायाँमा रहेपछि अब डायज कनेल र उनको पुस्ताले आफूहरु देशमा रहेको समस्या समाधान गर्न सक्षम भएको प्रमाणित गर्ने समय आएको छ ।

क्युवाले अब पार्टी र राज्यबीचको काम कारबाही बीचमा सीमा कोर्नुपर्नेछ । डियाज कनेलले आफ्नो सरकारको मन्त्रालयहरु आफ्ना निकटका मानिसहरु राख्ने भएकाले उनको आफ्नो अलग टिम हुनेछ । यसले गर्दा सत्ता र नीतिको व्याख्या र कार्यन्वयनमा उनको सामर्थ बढी हुन्छ नै ।

नयाँ राष्ट्रपतिका चुनौतीहरु

नयाँ राष्ट्रपतिले केही कठिन मुद्दाको सामना गर्नु पर्नेछ ।

क्युवाको अर्थतन्त्र संघर्ष गरिरहेको छ । यसलाई त्यहाँ कायम रहेको द्वैध मुद्रा प्रणालीले नकारात्मक असर गरिरहेको छ । यो प्रणाली सन् १९९४ मा फिडेलले लागु गरेका थिए । फिडेलले तत्कालिन समयमा सोभियत संघको पतनपछि गुमेको आर्थिक सहयोगको पूर्ती गर्न देश बाहिर रहेका क्युवालीको विप्रेषणको रकम ल्याउन सहजताका लागि यो प्रणाली लागु गरेको थिए । सुरुमा सकारात्मक रहेको भए पनि हाल यसले अर्थतन्त्रलाई नोक्सानी पु¥याइरहेको छ । राहुल क्यास्ट्रोले पनि मुद्रा एकीकरण अझै लम्बाउन नहुने भनेका छन् ।

तर, दुई मुद्रालाई एक बनाउने कार्यले अर्थतन्त्रमा अप्रत्यासित असर गर्नसक्छ । र, बाँकी देशहरुलाई जस्तो यसमा सहयोगको लागि क्युवाले अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैङ्कतर्फ फर्किन सक्दैन । यी संस्थाहरुबाट क्रान्तिपछि नै क्युवा हटेको हो ।

डियाज कनेललाई राहुलले शुरु गरेको क्युवाली अर्थतन्त्र सुधारको कार्यक्रमलाई चालु राख्ने अझ थप अघि बढाउने दबाब रहनेछ । राहुलले आफ्नो पहिलो कार्यकालमा नीजि संघसस्था र बैदेशिक लगानीमा रहेको नियन्त्रण केही खुकुलो बनाएका थिए । तर यसमा परिवर्तन भने धिमा भइरहेको छ ।

यदी डियाज कनेलले अर्थतन्त्रलाई छिटो गरेर खुल्ला बनाए भने उनले पार्टीका हार्डलाईनरहरुलाई रुष्ट बनाउँनेछन् र ढिलो गरे भने परिवर्तनका पक्षधरहरुबाट विश्वास गुमाउँनेछन् । क्युवाको ठूलो जनसंङ्ख्या यो परिवर्तनप्रति सकारात्मक रहेको देखिएको छ ।

क्युवाको नयाँ राष्ट्रपतिले सामना गर्नुपर्ने अर्को कठिन मुद्दा भनेको अभिव्यक्तिको स्वतन्त्रता हो । पहिलेजस्तो विरोधीहरुलाई जेल हाल्ने परम्पराको लगभग अन्त्य भइसकेको छ तर पनि विरोधीहरुलाई कयैन कुरामा निगरानी र नियन्त्रण राख्ने गरिन्छ । साथै इन्टरनेटको पहुँचले गर्दा शासनको आलोचना बढ्दै गएको देखिन्छ ।

राहुलले आफ्नो कार्यकालमा दुई विरोधी गुटहरुलाई ‘हतार नगरी, तर नरोकी परिवर्तन’ भन्ने चतुर रणनीति अपनाएर सन्तुलनमा राखेका थिए । उनलाई पार्टीको नेतृत्व रहेको फाइदा पनि थियो । डायज कनेललाई आफ्नै बैधता स्थापना गर्नुपर्नेछ ।

अमेरिका–क्युवाको सम्बन्धमा उतार चढाव

अन्त्यमा डियाज केनलले अनुमान गर्न नसकिने डोनाल्ड ट्रम्प प्रशासनको सामाना गर्नुपर्नेछ । डोनाल्ड ट्रम्पले क्युवा हेर्ने जिम्मा रुढीबादी क्युवन–अमेरिकीलाई दिएको देखिन्छ ।

फ्लोरिडाका सिनेटर मार्को रुवियाले नेतृत्व गरेको यो समूहले वाराक ओबामाले शुरु गरेको अमेरिका र क्युवाको सम्बन्ध सुधारको पहलकदमीलाई आलोचना गर्दछ । हुनत शासनमा आउनासाथ ओबामाको क्युवा नीति परित्याग गर्ने बताए पनि हालसम्म डोनाल्ड ट्रम्पले ओबामाले शुरु गरेका आर्थिक खुलापनलाई छोएका छैनन् ।

अक्टोबरमा ट्रम्पले क्युवामा रहेको अमेरिकी दुतावासमा कर्मचारी घटाएर त्यो दुईपक्षिय सम्बन्धलाई थप प्रहार गरेका थिए । हालको ट्रम्प प्रशासनले अमेरिका र क्युवाको सम्बन्धमा सकारात्मक असर पार्ने देखिँदैन । हालसालै चुनिएका विदेश सचिव माइक पोम्पियो ओबामाको हवानासँगको सम्बन्ध सुधारको कट्टर विरोधी हुन् ।

भावी दिन

८०% क्युवालीहरुले आफ्नो जीवनमा क्यास्ट्रो मात्र राष्ट्रपतिको रुपमा पाए । त्यसैले परिवर्तनले केही भय पनि निम्त्याएको देखिन्छ । मानिसहरुमा शीर्ष स्थानमा हुने परिवर्तनले अस्थिरता ल्याउने हो कि भन्ने भय देखिन्छ ।

यदी डायज केनलले अर्थतन्त्रमा केही सुधार ल्याउन सके भने उनलाई सफल मानिनेछ । राहुलले ल्याएको परिवर्तनबाट उत्साहित ठूलो जनसमुदायनै उनको समर्थक हुनेछन् अन्यथा उनले चौतर्फी असन्तोष भोग्नुपर्नेछ ।

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप