नगर प्रमुख केसीको सम्झना : भूकम्पमा पुरिएका शव निकाल्दा हात काँपिरहे
त्यो मध्यरात हाम्रो लागि कालो रात बनेर आयो । मस्त निन्द्रामा सुनौलो सपना साँचेर निन्द्रादेवीसँगै साक्षात्कार गरिरहेका सारा आठबिसकोट बासीलाई रुवाएर गयो । पलाउन लागेको आशाको पालुवा निमोठियो भूकम्पले ।
२०८० कार्तिक १७ विनाशकारी भूकम्पले तहसनहस भएको दिन । शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प जसले पालिकामा ठुलो जनधनको क्षति गर्यो । राति ११:४७ मा गएको त्यो विनाशकारी भूकम्पले धेरैलाई आजीवन असक्त बनाइदियो । कसैको खुसी लुट्यो, कसैको अभिभावक त कसैको ज्यान लियो ।
भूकम्पको धक्का महसुस भएको १० मिनेट पछि क्षातिको अपडेट आउन थालिसकेको थियो । नगरपालिकाको प्रतिनिधित्व गरेको र नगर प्रमुखको हैसियतले मलाई बसेरै निर्देशन गर्न दिएन । १२ बजे नै म आफैँ फिल्डमा खटिएर उद्धार कार्यमा खटिसकेको थिएँ । कतिपय ठाउँमा दयनीय र कारुणिक रूपमा पुरिएका शव निकाल्दा आँखामा आँसुको तलाउसँगै हात काँपिरहेका थिए । तर आफूलाई सम्हाल्नुको विकल्प थिएन ।
नगरपालिकाका सबै प्रभावित ठाउँमा पुग्दा बिहानको ४ बजेको थियो । आफैँले गाडी चलाएर शव निकालेर अस्पतालसम्म पुर्याउँदाको त्यो दुखद् क्षण सम्झिदा अहिले अनि मन भक्कानिएर आउँछ ।
उद्धारपछि घाइते र शवले एकैछिनमा अस्पताल भरियो । मान्छेको भिड त्यस्तै थियो । जाडोमा सबै बाहिर थियौँ । हामीसँग एउटा त्रिपालसमेत थिएन । खुल्ला आकाशमा वृद्धवृद्धा र सुत्केरी महिला बालबालिकाको अवस्था नाजुक बन्दै थियो । उद्धार चाँडै गरेकाले सहयोगीदाताबाट सहयोग जुट्न थाल्यो । केही समयका लागि भएपनि सित र ओत छल्न सफल भयौँ ।
मध्यरात १२ बजेतिर सबै वडामा जनशक्ति खटाएर उद्धारको काम राति नै सकियो । नगरपालिकाको ११, १२, १३ र १४ वडामा बढी क्षति भएको थियो । नगरपालिका भर ४४ जना नागरिक गुमाउनुपर्यो । उद्धारमा खटिँदा निन्द्रा, भोक प्यास सबै कुरा बिर्सिँदो रहेछ । सवारी साधन सहज तरिकाले पुग्ने गरी बाटो विस्तार भएकाले हामीले तुरुन्तै उद्धार गर्न सफल भयौँ ।
भूकम्प गएको चार महिना पूरा भइसक्दा पनि भूकम्पले दिएको चोट भने ताजै छ । सुरुमा भूकम्पको दिएको पिडा भुलेर अब कसरी अगाडी बढ्ने त ? अब फेरि पहिले जस्तै दैनिकीमा कसरी फर्किने ? यही कुराले मानसपटलमा बास गरिरह्यो ।
भूकम्पका कारण अधिकांश गाउँ जोखिममा परेका छन् । बस्ती माथि र बस्ती मुनिका जमिनहरू भूकम्पका कारण फाटेको र अब बर्खा सुरु हुनै लाग्दा पहिरोको उच्च बस्तीहरू जोखिममा परेका छन् । ग्रामीण भेकमा सबैभन्दा खुसी र जीवन जिउने घर खेतीपाती गर्ने जमिन नहुँदाको पिडा हामीलाई मात्रै थाहा छ । आज त्यही पिडाले ग्रसित हुनुपरेको छ ।
नागरिकका समस्या तमाम छन्। पुनर्निर्माणको टुङ्गो छैन। हामीसँग भएको स्रोत साधन सीमित मात्रामा छन् । यसका बिच पनि सबै भूकम्प प्रभावित नागरिकलाई छानोमुनि ल्याउन अस्थायी आवास निर्माण सकिएको छ । अब दश हजार नागरिकलाई आवासको प्रबन्ध मिलाउनु छ ।
गुमेका नागरिकका पीडा र भूकम्पको त्रासले ननिदाएर कैयौँ रात त्रिपालमै बिते । ढलेका संरचना र घरको पुरिएको सम्पत्तिको समेत हेर्दै शोकमा रहेका गाउँवासीको मुहारमा पिडाका लाप्साहरू प्रस्टै देखिन्थे । तल ठुलीभेरी नदीमाथि भूकम्पले फाटेका पहाड र तहसनहस भएको बस्तीले मेरो मात्रै होइन सबैको आँखामा आँसु देख्यौँ ।
सरकारको तर्फबाट पहिलो चरणमा शव निकाल्ने र उद्धारको काम भयो । त्यसपश्चात् दोस्रो चरणमा राहत वितरणको काम सुरु भयो । अहिले अस्थायी आवास निर्माणपछि अब पुनर्निर्माणमा केन्द्रित भएका छौँ ।
निजी आवास शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा आवास, सुरक्षा निकायका भवन तथा अन्य सार्वजनिक संरचनाहरूसमेत ध्वस्त भएका छन्। अहिले पनि अस्थायी आवासबाट शिक्षण भइरहेको छ । अब सरकारले जतिसक्दो चाँडो पुनर्निर्माण कार्यविधि ल्याएर पुनर्निर्माणलाई अगाडी बढाउनुपर्छ । भूकम्पले थिलथिलो पारेका नागरिकलाई अब थप हावा हुरीले पिडा थप्छ कि भन्ने पिरलो बढ्दै छ । संघ र प्रदेश सरकारले बर्खा लाग्नु अगावै भूकम्प पीडितहरूका लागि गाँस र बासको जोहो तर्फ लाग्नुपर्छ ।
केसी रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिकाका नगर प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन