सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तन अनुसारकाे रोगका लागि औषधि उत्पादनमा जोड

शनिबार, २६ फागुन २०८०, ०७ : ४६
शनिबार, २६ फागुन २०८०

चितवन । नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरूलाई काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले औषधिमा आत्मनिर्भर हुँदै गर्दा नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरूलाई  काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने बताए । 

नेपाल  औषधि उत्पादक सङ्घ (एपोन)ले भरतपुरमा आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले एउटै औषधि धेरै कम्पनीले उत्पादन गर्न नहुने समेत उल्लेख गरे । नेपालमा के–के रोगहरू छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्ने उनको जोड थियो । 

नेपाली औषधि उद्योगको बजारीकरणको परम्परालाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।  “प्रतिष्ठित उद्योगलाई हानि नोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ ।” उनले भने ।

यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने देवकोटाको भनाई छ । उत्पादनमा, नियमनमा र प्रेस्किप्सनमा नियति भएको भन्दै डा। देवकोटाले भने “नीतिको नियतीको जिम्मा हाम्रो हो । चिकित्सक प्रेस्किप्सनको नियति, औषधि व्यवस्था विभाग लगायत नियमनमा नियति र उत्पादनमा पनि नियति छ, यो हेर्नुपर्छ ।” 

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्दै उनले खाडल छैन भनेर सकारात्मक रुपमा बुझ्नु आग्रह गरे  । औषधि ऐन नयाँ ल्याउन थालिएको भन्दै उनले एक्स्पो जस्ता फोरमबाट छलफल गरेर केही निकास निकाल्नुपर्छ । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए ।  “सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन् ।” उनले भने । सरकारले कुनै नकुनै किसिमले औषधि उद्योगलाई सहयोग गरिरहेको उनको भनाई थियो ।

जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै  आफूहरु नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए । ज्ञान, सीप आदानप्रदान गरेर औषधि क्षेत्रमा काम गर्न सकिने उनको भनाई छ । 

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पु¥याउन सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने बताए । उनले नेपाली औषधि उद्योगमा उच्चस्तरको जनशक्ति समेत तयार भएको बताए । 

एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । उनले मूल्य बजारले नै निर्धारण गर्ने जनाए । 

कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले नेपालको औषधि अरु देशको भन्दा कम भएको भन्दै प्रश्न गरे “एउटै उपकरण, एउटै कच्चा पदार्थ, त्यही विज्ञ समूहले बनाएको औषधि कसरी कमजोरी हुन्छ ?” 

अहिलेको परिस्थितिमा सबै उद्योगहरु अप्ठ्यारोमा परेको भन्दै उनले संयमता अपनाउनु पर्ने समय रहेको बताए । उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए । उनले भने “सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौँ ।” नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। अनिल विक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताए । 

आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहीँ पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान रहेको बताए ।  सङ्घले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा हिजोदेखि २७ गतेसम्म ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो । 

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन  लगायत नौ  देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली  औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ  । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको छ ।

0a4954a9-b3eb-4338-9e9b-e3137c564600-1024x461

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप