शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मेयर रेणु दाहाललाई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, २५ फागुन २०८०, २१ : ५७
शुक्रबार, २५ फागुन २०८०

-नरेन्द्र बस्नेत

लन्डन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । लन्डनको  हाउस अफ कमन्स टेरेस् पेभिलियनमा बिहीबार आयोजित समारोहबिच दाहालले ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेकी हुन् ।  इपिजी नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड लन्डनका मेयर सादिक खानले दाहाललाई हस्तान्तरण गरेका थिए । 

अवार्ड प्राप्त गरेपछि दाहालले आफूमा थप ऊर्जा र हौसला थपिनुका साथै जनताप्रति अझ बढी उत्तरदायी हुन मद्दत पुगेको बताइन् । जनताका लागि आफूले गरेको योगदानको अन्तर्राष्ट्रिय मूल्याङ्कन भएको समेत दाहालले बताइन् । दोस्रो कार्यकालका लागि मेयर बनेकी दाहालसँगै एउटै स्टेजमा लन्डनका मेयर सादिक खानले ‘लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गरेका थिए ।

सो समारोहमा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ‘इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् ।  यसैगरी भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले पार्लियामेन्टरियन अफ द इयर (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले मिनिष्टर अफ द इयर, सांसद ग्यारेथ थोमसले ‘स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ र  सनराइज रेडियोले ‘मिडिया अफ द इयर अवार्ड’ पाएका छन् । इन्टरकन्टिनेन्टल लन्डन ओटुले ‘होटल अफ द इयर अवार्ड’ पाएको छ भने  प्रोफेशर जसपाल कोनरले ‘डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

१६ औं वार्षिक अवार्डस् वितरण समारोहमा कुल २४ विद्यामा अवार्ड प्रदान गरिएको थियो भने होष्ट सांसद भ्यालिरी भाज थिइन् । अवार्ड वितरण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मेयर दाहालका श्रीमान अर्जुन पाठक, लन्डनका व्यवसायी रविन्द्रजंग लामिछाने लगायत ब्रिटिश तथा भारतीय मूलका बेलायतीको बाहुल्यता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप