बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

गच्छदारले फोरमलाई कांग्रेसमा मिसाइदिएपछि नेता कार्यकर्ताको बिचल्ली !

बिहीबार, ०६ वैशाख २०७५, १६ : ०५
बिहीबार, ०६ वैशाख २०७५

काठमाडौं–विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएपछि सो पार्टीका नेता कार्यकर्ता अलमलमा परेका छन् ।  एकीकरण भएको ६ महिना बितिसकेपनि कांग्रेसमा कुनै जिम्मेवारी  पाउन नसकेको उनीहरुको गुनासो छ । 

२०७२ असोज ३० गते नेपाली काँग्रेससँग लोकतान्त्रिक फोरमबीच बालुवाटारमा एकीकरण भएको थियो । 

पदाधिकारीसहित १५ देखि २५ जना फोरमबाट कार्यसमितिमा समाहित गर्ने,  लोकतान्त्रिक फोरममा रहेका महाधिवेशन प्रतिनिधिलाई काँग्रेसमा पनि निरन्तरता दिने, सक्रिय सदस्यलाई पनि यथावत राख्ने, प्रतिनिधिसभामा १०  र प्रदेशसभामा १२ जनालाई समानुपातिक उम्मेदवार बनाउने सहमति त्यतिबेला दुई पार्टीबीच समझदारी भएपनि  कार्यान्वयन हुन नसकेको तत्कालिन लोकतान्त्रिक फोरमका महासचिव भर्तेन्दु मल्लिकले गुनासो गरे । 

विजयकुमार गच्छदारले काँग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका छन् भने जितेन्द्र देव पनि सोही दलबाट राष्ट्रियसभा सदस्य बनेका छन् । यसबाहेक लोकतान्त्रिक फोरमका कुनै पनि नेता तथा कार्यकर्तालाई कुनै जिम्मेवारी दिइएको छैन । 

कुनै जिम्मेवारी नपाएपछि ती पार्टीका नेता तथा कार्यकर्ताहरु अलपत्र परेका छन् । न उनीहरु आफूलाई काँग्रेस भन्न सकिरहेका छन् न लोकतान्त्रिक फोरम । 

मल्लिकले भने, ‘दुईजना (गच्छदार र देव) लाई काँग्रेसमा ‘सेटल’ गर्दैमा सबै नेता ‘सेटल’ भएको वा सम्झौता कार्यान्वय भएको मानिदैन । अरु नेताको पनि राजनीतिक क्यारियर छन्, उसको पनि राजनीतिकमा लगानी छ तर न काँग्रेस पार्टी गम्भीर देखिन्छ न गच्छदारजी गम्भीर देखिनुहुन्छ, अब के गरौं जस्तो भएको छ ।’

प्रतिनिधिसभामा फोरमबाट १० जनालाई समानुपातिक उम्मेदवार बनाउने सहमति भएको थियो । त्यसमा भर्तेन्दु मल्लिक, सुमित्रा थरुनी र रामकुमारी चौधरी गरी तीनजनाको नाम मात्र दिइएको थियो तर तीन जनामध्ये कसैलाई पनि सांसद नबनाइएको उनको गुनासो छ ।

मल्लिकले भने, ‘धेरैमा अब हामी एक महिना कुर्छौ । अहिले पार्टीको केन्द्रीय समिति बैठक (बैशाख ७ गतेदेखि पुनः शुरु हुन्छ) चलिरहेको छ । यो बैठकले हाम्रो बारेमा केही निर्णय गर्यो भने ठिकै छ नभए विकल्प खोज्छौ ।’ 

यसो त सांसद बनेपनि पार्टीमा गच्छदार र देवले समेत कुनै जिम्मेवारी पाएको छैनन् । सभापति देउवाले गच्छदारलाई उपसभापति दिने आश्वासन दिएको बताइएको छ । तर, हाल उनलाई केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा बोलाइँदै आएको छ । 

तत्कालिन लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले पनि काम नपाएर गाउँतिर बरालिरहेको सुनाए । लोकतान्त्रिक फोरमका सक्रिय नेताको रुपमा चिनिएका उनले  काँग्रेसमा कुनै भूमिकमा नभएको  कारण गाउँघरतिरै रहेको बताए । 

उनी भन्छन्, ‘केन्द्रमा अहिले कुनै भूमिकामा छैन, जिल्लामा कहिले काहीँ काँग्रेसीहरुले बोलाउनु हुन्छ त्यहाँ गइरहन्छु । खासै काम नभएर गाउँतिरै बसिरहेको छु ।’ 

मल्लिकले गच्छदारले काँग्रेसमा कुरा मिलाउँदैछु, भन्ने आश्वासन दिँदै आएपनि  ६ महिना सम्म कुनै प्रगति हुन नसकेको बताए । 

निष्कृय र निराश नेता कार्यकर्तालाई नसमेटिए काँग्रेस पार्टीलाई घाटा लाग्ने समेत उनले चेतावनी दिए । 

‘मधेशमा काँग्रेस त्यतिकै कमजोर पार्टीको रुपमा आएको छ, पार्टी एकीकरण गरेपछि केही बल पुगेको हो, यदि यसलाई बेलैमा समेट्न नसके पछि शुन्य हात लाग्न सक्छ’, मल्लिकले भने ।

लोकतान्त्रिक फोरमको ३४५ सदस्यीय कार्यसमिति थियो । त्यसमध्ये लगभग एक सयजना जति यताउति भएका छन् । बाँकी अढाई सयमध्ये २५ जनालाई केन्द्रीय समितिमा राख्न गच्छदारको माग गरेको बताइएको छ । तर,  काँग्रेसले १५ जनालाई मात्र केन्द्रीय समितिमा लिने जवाफ दिएको बताइएको छ । 

अरु बाँकी सदस्यलाई विभाग तथा प्रदेश समितिमा समावेश गर्ने बताइएको छ । 

शुक्रवारदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकबाट पार्टीका नेता तथा कार्यकतालाई पार्टीले समायोजन गर्ने गर्ने आशमा नेता कार्यकर्ता रहेका छन् । 
    
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप