नयाँ समीकरणसँगै वामपन्थी एकताको चर्चा, कहाँ पुग्यो प्रक्रिया ?
काठमाडौँ । फागुन २१ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढाउने निर्णय ग¥यो ।
सोही अनुसार फेरिएको सत्ता समीकरणले फेरि दुई ठुला वामपन्थी दल एमाले र माओवादी नजिकिएका छन् । २०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात यी दुई दल दुई ध्रुवमा बाँडिएका थिए ।
सत्ता सहकार्य भएसँगै फेरि वामपन्थी एकता अनुसार यी दुई दल एउटै पार्टीमा आउन सक्छन् त भन्नेबारे स्वाभाविक रूपमा जिज्ञासा उत्पन्न भएको छ । तर एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना नरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले विगतको अनुभवबाट पनि आफूहरू तत्काल एकताको पक्षमा नरहेको स्पष्ट पारे ।
‘विशेष परिस्थितिमा सत्ता गठबन्धन बनेको हो । तर तत्काल एकता हुने सम्भावना छैन । विगतको अनुभवले पनि त्यस्तो देखिँदैन’, उनले भने, ‘पार्टी एकताका लागि कार्यकर्ता तहमै भावनात्मक एकता आवश्यक पर्छ । भावनात्मक एकताबिनाको सम्बन्ध टिकाउ हुँदैन ।’
सरकार पुनर्गठनसँगै हिजो गल्ती भएको कुरा सच्याएर एक ठाउँमा आउँदै नयाँ अध्यायको सुरुवात भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनाए ।
‘फेरि अर्कोपटक वामपन्थीहरूबिच सहकार्य र एकताको प्रसंग जोडिएको छ । सरकार पुनर्गठनसँगै वामपन्थी शक्तिहरू हिजो गल्ती भएको कुरा सच्याएर एक ठाउँमा आउने नयाँ अध्यायको सुरुवात भएको छ,’ उनले भने, ‘नेपालको राजनीतिले नयाँ मोड लिनेगरी हाम्रो पार्टीले नयाँ शिराबाट अगाडि बढ्ने निर्णय गरेको छ’, सचिव पौडेलले भने ।
पूरै राजनीतिक कोर्स नै नयाँ ध्रुवबाट जान प्रक्रिया चालिएको भए पनि उनले तत्कालै पार्टी एकता नहुने स्पष्ट पारे । तर नयाँ समीकरणले त्यो दिशातर्फ लैजाने उनको विश्वास छ ।
यता, समीकरण बदलिएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल गरिहरेको दाबी गरे ।
सहिद प्रतिष्ठानले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने बताएका थिए ।
‘सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन,’ उनले भनेका थिए, ‘क्रान्तिकारीले ठुला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ ।’
त्यसअघि फागुन १ गते प्रज्ञा भवन कमलादीमा पार्टीको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले सम्पूर्ण वामपन्थी घटकलाई एक ठाउँमा आउन आह्वान गरेका थिए । कांग्रेसको भर्खर सम्पन्न महासमिति बैठकको निर्णयले बिच्किएको माओवादी बृहत् वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा उभिएको हो ।
माओवादीको तत्कालीन वा दीर्घकालीन कारण जेसुकै भए पनि नयाँ समीकरणले बृहत् वामपन्थी एकताका लागि आधार तय भएको पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको बुझाइ छ ।
नेकपा दुर्घटना परेदेखि नै आफूले बृहत् वाम एकताका लागि पहल गरिरहेको उनले बताए । वामपन्थी एकता र ध्रुवीकरणका विषयमा गत शनिबार खनालले प्रधानमन्त्री प्रचण्ड र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’सँग छलफल गरेका थिए ।
‘वामपन्थी एकता आजको एजेण्डा हो । यसै एजेण्डामा कुराकानी गरेको हुँ । वामपन्थी एकता र ध्रुवीकरणको विषयमा निरन्तर संवाद अगाडि बढाउने विषयमा कुरा भएको छ,’ खनालले भने, ‘र, अहिले परिस्थिति जुन ठाउँमा आइपुगेको छ, यसका निम्ति धेरै खालका कुराकानी भइरहेको छ ।’
खासगरी उनले वाम एकताका लागि एमाले र माओवादीले हृदय ठुलो बनाउनुपर्ने बताए ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वामपन्थी तथा समाजवादी विचार भएका पार्टीहरूलाई मोर्चामा ल्याउन पहल भइरहेको र छलफल एमालेसम्म लैजानुपर्ने यसअघि नै रातोपाटीसँग बताएका थिए ।
‘वामपन्थी तथा समाजवादी विचार भएका पार्टीहरूलाई मोर्चामा ल्याउन पहल भइरहेको छ । नेकपा मशाल, नेपाल समाजवादी पार्टी, वामदेव गौतमको पार्टीसँग छलफल भइरहेको छ,’ उनले भनेका थिए, ‘अब छलफल नेकपा एमालेसम्म लैजानुपर्ने स्थिति बन्न सक्छ ।’
फागुन ६ गते मोर्चाको संयोजक भएका उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग यसबिचमा तीन पटक भेट गरिसकेका छन् ।
पछिल्लो समय फागुन १९ गते प्रधानमन्त्री निवास बालुवाटार पुगेर बृहत् वामपन्थी मोर्चाको विषयमा छलफल गरेको विप्लवको सचिवालयले जनाएको छ । विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनालसँग पनि भेटघाट गरेका छन् ।
मोर्चामा नेकपा मशाल लगायतका दललाई ल्याउन पहल भइरहेको विप्लवले बताएका थिए । उनी आफैँ माओवादीसँग एकता गर्न सकारात्मक देखिएका छन् । तर ठोस निष्कर्षमा नपुगेको उनी बताउँछन् ।
- निष्क्रिय वार्ता टोली
एक वर्षअघि नै वामपन्थी एकताका लागि माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाले वार्ता टोली घोषणा गरेका थिए । वार्ता टोलीमा माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष डा.वेदुराम भुसाल, उपमहासचिवद्वय डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन् । यस्तै जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ र गोविन्द चौधरी छन् ।
वार्ता टोलीमा नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेश यादव छन् ।
मङ्सिरको पहिलो हप्ता बसेको नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो, जसमा अर्का अध्यक्ष महिन्द्र राय यादवसहित पुरानै वार्ता टोली सहभागी छन् ।
सुरुवाती चरणमा एकतासम्बन्धी आधारपत्र एक अर्काबिच आदानप्रदान गरी दुई तीन राउन्ड छलफल चलाएका थिए । तर पछिल्लो समय पार्टी एकताका लागि कुनै पहल नभएको नेताहरूले दाबी गरेका छन् ।
माओवादी र नेसपाबिच निकै अगाडि बढेको एकता प्रक्रियासमेत प्रभावित भएको छ । माघ २० गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादीसहित विभिन्न वामपन्थीसँग एकता र बृहत् ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म माओवादी केन्द्रले एकता समायोजन समिति गठन गरेको छैन ।
माओवादीको स्थायी समिति, केन्द्रीय समिति र विधान अधिवेशन सम्पन्न भइसक्दा समेत एताका लागि ठोस निर्णय नगरेकोमा नेसपाका नेताहरू अन्योलमा देखिएका छन् ।
नेसपाका अध्यक्ष यादवले एकताका लागि प्रक्रियागत ढंगले अगाडि बढाउन समय लाग्ने बताए । उनले अब एकताकै महाधिवेशनबाट छिनोफानो गर्दा राम्रो हुने निष्कर्ष सुनाए ।
‘हामी एकताको पक्षमा छौँ । माओवादीले नाम, झण्डा फेरेमा एकताका लागि सजिलो हुन्थ्यो । अब एकता गर्नुभन्दा पनि एकताको महाधिवेशन गरेर छिनोफानो गर्दा राम्रो हुन्छ’, उनले भने ।
यसैगरी एमालेसहित तत्काल बृहत् वामपन्थी एकताको सम्भावना नभएको उनको बुझाइ छ । तर अहिलेको समीकरणबाट वामपन्थी मोर्चा बन्ने सम्भावना रहेको उनले बताए ।
तथापि बाबुराम एकताको पक्षमा नदेखिएको उनको आरोप छ । बाबुराम पक्ष ९ बुँदे पत्रको स्पष्ट जवाफ नआएसम्म पार्टी एकता गर्न नहुने अडानमा छ । माओवादीसँग एकताका लागि पार्टीको नाम, झण्डा, ब्यानर, सैद्धान्तिक तथा वैचारिक कार्यदिशा लगायत विषयमा सहमत हुनुपर्ने सर्त उनले राखेका छन् ।
यस्तै एकीकृत समाजवादी, जसपा, वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान लगायतसँग पनि एकता प्रक्रिया अगाडि नबढेको माओवादीका महासचिव देव गुरुङले बताए ।
‘विचार, वर्ग, नीति, कार्यक्रम मिल्नेसँग बृहत् वामपन्थी एकताका लागि पहल भइरहेको छ । तर ठोस निष्कर्षमा पुगेका छैनौँ,’ उनले भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकार सञ्चालनमा समेत ध्यान दिनुपर्ने भएकाले विलम्ब भएको हो । घटनाक्रम निष्कर्षमा नपुगेसम्म एकता प्रक्रिया अगाडि बढ्ने छैन ।’
- समाजवादी मोर्चाको भविष्य के हुन्छ ?
नयाँ सत्ता समीकरण बने लगत्तै समाजवादी मोर्चाको भविष्य अनिश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य भङ्ग गरी एमालेसँग मिलेर समीकरण बनाएपछि मोर्चाको भविष्य अनिश्चित देखिएको हो ।
गत असार ४ गते माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा मिलेर मोर्चा गठन गरेको थियो । राष्ट्रिय मुद्दामा एकजुट हुँदै समाजवादी क्रान्तिको आधार तय गर्न मोर्चा गठन भएको नेताहरूले दाबी गरेका थिए । यद्यपि गठबन्धन भत्किएसँगै नयाँ समीकरणमा पनि नेकपाबाहेक माओवादी, जसपा र एकीकृत समाजवादी सत्ता पक्षमै समेटिएका छन् ।
समीकरण फेरबदलप्रति सुरुमा असन्तुष्ट देखिएका माधव नेपाललाई प्रचण्ड र ओली आफैँ उनको निवास पुगेर सरकारमा ल्याउन सफल भएका छन् । ८ बुँदे सहमतिमा हस्ताक्षर गरेको जसपा सरकारमा जाने तयारीमा छ ।
सातै प्रदेशमा सन्देश सभा गरेको मोर्चाले ५५ जिल्लामा संगठन विस्तार गरेको छ । माओवादीका सचिव देवेन्द्र पौडेलले मोर्चा निरन्तर रहने बताए । बृहत् वामपन्थी एकताका लागि सबै पक्ष सकारात्मक हुनुपर्ने भन्दै उनले एकले अर्कामाथि इगो राखेमा कसैको पनि हित नहुने प्रस्ट पारे ।
नयाँ समीकरण सत्ता र शक्तिको अभ्यासका लागि मात्र प्रयोग ल्याइएको हो या शीर्ष नेताहरूले भनेजस्तै विगतका गल्तीबाट पाठ सिकेर राजनीतिक कोर्स करेक्सनका लागि बनाइएको भन्ने बुझ्न अझै केही समय कुर्नै पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक