मन्त्रीमा निरन्तरता नपाएका महिन्द्र भन्छन्– ‘ठीकै छ, मुख्य विषय पार्टी एकता हो’

काठमाडौँ । आकस्मिक सत्ता समीकरण बदलिएपछि जिम्मेवारीमुक्त भएका प्रचण्ड सरकारका निवर्तमान खानेपानीमन्त्री महिन्द्र राय यादव अहिले फुर्सदिला देखिएका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादीका तीन मन्त्रीलाई निरन्तरता दिँदा यादव सत्ताबाट विमुख भएका थिए । यद्यपि मन्त्रीमा निरन्तरता नपाएकोमा आफूलाई कुनै गुनासो नभएको उनले बताएका छन् ।
‘ठीक कै छ । यत्रो गठबन्धन छ । प्राइम मिनिस्टरले सोच्ने हो । उहाँलाई के अप्ठ्यारो पर्यो ? के समस्या भयो ? हिजो उहाँले नै मन्त्री बनाउनुभयो । आज जिम्मेवारीमुक्त भइएको छ । जहाँ भएपनि हामीलाई जनताको काम नै गर्ने हो’, रातोपाटीसँग उनले भने ।
नेपाल समाजवादीका अध्यक्षसमेत रहेका यादवले आफ्नो मुख्य विषय पार्टी एकता भएको बताए ।
‘हाम्रो मुख्य विषय पार्टी एकता हो । प्रक्रियाका लागि समय लाग्ने भयो । पार्टीको नाम, झण्डा परिवर्तन भयो भने एकता गर्न हामीलाई सहज हुन्छ । मन्त्री पद आउने जाने भइरहन्छ । यो सामान्य कुरा हो’, उनले भने, ‘माओवादीबाट प्रधानमन्त्रीको नेतृत्वमा एकता समायोजन समिति बनिसकेको छ । पूर्णता दिएर चाँडैभन्दा चाँडै टुंग्याउनु भए हुन्छ ।’
उनले अध्यक्ष बाबुराम भट्टराईको मनस्थिति एकताको पक्षमा नदेखिएको आरोप लगाए । यादवले सहमति गर्ने र पछि हट्टे प्रवृत्ति देखिएकोमा असन्तुष्ट जनाए । ‘डाक्टर साबको स्थिति एकताको पक्षमा देखिएको छैन । सहमति गर्ने पछि हट्टे प्रवृत्ति सुरुदेखि नै थियो’, बाबुरामको भूमिकाप्रति असन्तुष्ट जनाउँदै उनले भने, ‘हामीले विश्वास गर्यौं । सर्वसम्मत निर्णय गरायौं । प्रधानमन्त्रीज्यूले पनि धेरै पहल गर्नुभयो । कार्यान्वयन गर्ने हामी दुवै जनाको दायित्व हो । बिचमा उहाँ किन फर्किनुभयो थाहा छैन । यो विषयमा चाँडोभन्दा चाँडो बैठक राखेर टुंग्याउँदा हुन्छ ।’
यस्तै बदलिएको समीकरणलाई आफूले सकारात्मक रूपमा लिएको यादवले बताए । समीकरणको अवसर र चुनौती दुबै भएकाले सबै पक्ष इमान्दार हुनुपर्नेमा उनले जोड दिए । ‘समीकरणको अवसर पनि छ, चुनौती पनि छ । यो गठबन्धनमा सबै मिलेर जाँदा समस्या हल गर्न सकिन्छ । हस्ताक्षर गरेका दलहरूले इमान्दारिकता सहमति पालना गर्नु अवश्यक छ’, उनले भने ।
यस्तै माओवादीको चुनाव चिन्ह लिएर जितेका सांसदहरूलाई पार्टी मातहतमा ल्याउन बाबुरामले गरेको प्रयास कानुन विपरित भएको उनले बताए ।
‘यस विषयमा हामीले पहिल्यै नै भनिसक्यौं तपाईं यो प्रक्रियामा नलाग्नोस् । यो कानुन सम्मत छैन । अनावश्यक रुपमा लिएर जाँदा जनतामा राम्रो हुँदैन । राजनीतिक दलसम्बन्धी ऐनको दफा १९ मा दुई पार्टी मिलेर साझा चुनाव चिन्ह लिइसकेपछि जनु पार्टी सबैभन्दा ठुलो दल हुन्छ, त्यही पार्टीको सदस्य हुने कानुनी व्यवस्था छ । यस्ता कुरामा उहाँले जनतामा भ्रम सिर्जना गर्ने, एकताको वातावरण बिथोल्ने काम गर्नुभएको छ’, यादवले भने ।
एकताका लागि प्रक्रियागत ढंगले अगाडि बढाउन समय लाग्ने भन्दै उनले अब एकताकै महाधिवेशनबाट छिनोफानो गर्दा राम्रो हुने बताए । यसैगरी तत्काल बृहत्त वामपन्थी एकताको सम्भावना नभएको उनको बुझाइ छ । तर अहिलेको समीकरणबाट वामपन्थी मोर्चाको सम्भावना भने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआईसी एशिया बैंकको पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
-
‘चोलेन्द्र हटायौँ, तर व्यक्ति मात्र परिवर्तन भएर नहुँदो रहेछ’
-
विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत हुन् : मन्त्री पाण्डे
-
गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट
-
नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित
-
कैलालीमा स्कारपियो दुर्घटना, चालकको मृत्यु