मैले अलि बढी पो सोच्दै छु कि ?
हरेक दिनको बिहानीले सबैलाई नयाँ ऊर्जा, उमङ्ग, उत्साह र नयाँपनको आभास दिनुपर्ने हो, तर एउटी स्त्रीले बिहानीसँगै सोच्नुपर्छ— आज मैले आफूलाई कसरी सुरक्षित राख्न सक्छु ? मेरा अनेक चिन्ता छन्— बिहानै अरू मान्छे नउठ्दै म घरबाहिर एक्लै निस्कनु हुँदैन; साँझ रात नपर्दै घर फर्कनैपर्छ; एकान्तजस्तो ठाउँमा दिनमै पनि एक्लै हिँड्नु हुँदैन; जोकोही पुरुषलाई विश्वास गरिहाल्नु हुँदैन आदि ।
हरेक व्यक्ति चाहन्छ होला, यो सुनसान रातपछि सुनौलो बिहानीको सुरुवात होस् तर एउटी स्त्रीले सोच्नुपर्छ, यो समयको तीव्र वेगमा म आफूलाई समाहित गर्न सक्छु या सक्दिनँ, अझ भनौँ यो समयको अनवरत यात्रामा पाइला अघि सार्ने सामर्थ्य बिहानीको किरणसँगै ममा रहन्छ या रहँदैन ।
जब म प्रत्येक दिन बिहान उठ्ने गर्छु, बिहानीको सुरुवातसँगै मेरो मानसपटलमा एउटा हृदयविदारक र करुणामयी घटनाले फेरि त्यही रातमै फर्काैं भन्ने भावना जागृत भइरहन्छ । अचेल समाचारहरू यसरी सम्प्रेषण भइरहेका हुन्छन् कि सायद यिनै समाचारले नेपाल र नेपालीलाई विश्वका सामु परिचित गराउँदै छ । मानिसहरूको निकै लामो पङ्क्ति लागिरहेको हुन्छ, एकअर्कामाथि आरोप–प्रत्यारोपको वर्षात् गराउन । म सोच्छु— भोलि म पनि यसरी समाचार नबनूँ । अनि, आफ्ना हरेक भावनालाई मनभित्र दबाउँछु; सुनसान र एकान्त ठाउँमा गई ‘हैट छोरी हुनु नै पाप हो कि’ भन्दै भक्कानिने गर्छु ।
कुनै अपरिचित व्यक्ति मेरो नजिक आउँदै मेरो शरीरलाई स्पर्श गर्न खोज्दै छ, सायद ऊ मसँग परिचित हुन खोज्दै छ, तर म पो अलि बढी सोच्दै छु कि ! मसँगै पढेको मेरो केटा साथीले मेरो कपाल चलाउँदै तिमी कति राम्री भन्दै मेरो बयान गर्दै छ, यत्तिमै मैले अलि बढी नै सोच्दै छु कि ! छिमेकी अंकलले छोरी तिमी कति चाँडो ठुली भइछौ भन्दै मेरो शरीरमा आएको परिवर्तनलाई एकोहोरो नियाल्दै हुनुहुन्छ, यतिमै मैले अलि बढी पो सोच्दै छु कि ! मलाई पढाउने गुरु मेरोनजिकै आई मलाई असहज तरिकाले छँुदै माया देखाउँदै होलान्, यतिमै मैले अलि बढी सोचेँ कि !
कुनै अपरिचित व्यक्ति मेरो नजिक आउँदै मेरो शरीरलाई स्पर्श गर्न खोज्दै छ, सायद ऊ मसँग परिचित हुन खोज्दै छ, तर म पो अलि बढी सोच्दै छु कि ! मसँगै पढेको मेरो केटा साथीले मेरो कपाल चलाउँदै तिमी कति राम्री भन्दै मेरो बयान गर्दै छ, यत्तिमै मैले अलि बढी नै सोच्दै छु कि !
मेरो प्रेमीले मेरो असहजता र असहमतिमा पनि यौनजन्य कुरा वा गतिविधि गरिरहन्छ, ऊ मप्रति माया दर्शाउँदै होला, मैले नै यसमा अलि बढी सोच्दै छु कि ! मेरा दाजुभाइ मेरो स्तननजिकै आउँदा मैले असहज मान्दै छु, उनीहरूले मलाई सुरक्षा गरेका हुन् सक्छन् तर मैले नै अलि बढी सोच्दै छु कि ! मेरो बुबाले मेरो नजिकै यौवनका कुरा गरेर मलाई सतर्क पो बनाउँदै हुनुहोला, यतिमै मैले अलि बढी सोच्दै छु कि ! मनमा खेल्ने यस्तै यावत् कुराले म सधैँ चिन्तित भइरहन्छु । यस्ता अनावश्यक चिन्ताका बिच सुनौलो भविष्यका लागि कसरी संघर्ष गर्ने ?
पुरुषप्रधान समाजमा छोरीलाई त्यति सजिलो छैन । पीडित हुँदा पनि यहाँ छोरीकै गल्ती औँल्याइन्छ — पुरुषलाई किन विश्वास गरेको ? छोरी भएर किन बेला न कुबेला एक्लै हिँडेको ? किन छोटो लुगा लगाएको ? किन जिस्केर बोलेको ? किन हाँसेको ? यस्तै भाष्यले हाम्रो समाज ग्रसित छ ।
दुई वर्षीया बालिकादेखि ८२ वर्षीया आमासम्म बलात्कृत भएको समाचार हाम्रा लागि नौला होइनन् । यस्ता घटनाले एउटी छोरीको मस्तिष्कमा कस्तो असर गर्ला ? कहिले सम्झना, कहिले भागिरथी, कहिले निर्मला, कहिले गौशाला, कहिले समीक्षा, कहिले शालीन— यो पुरुषवादी समाजको सिकार भएकै छन् । बलात्कारपछिको हत्याजस्तो जघन्य अपराध यही समाजका पुरुषबाट भइरहेको छ । महिलालाई यौनतृप्तिको वस्तु ठान्ने प्रवृत्ति कहाँबाट मौलाइरहेको छ ? आफ्नो शरीरमाथिको सम्पूर्ण हक व्यक्तिलाई हुन्छ । घुम्दा–डुल्दा, समाजमा व्यवहार गर्दा महिलाले डराउनुपर्ने पशु, कुकुर वा जंगली जनावरसँग हो, समाजका पुरुषसँगै डराउनुपर्ने ? सहमति वा असहमतिको गम्भीर अर्थ छ, यस्ता कुरा समाजले किन बुझ्दैन, वा बुझ पचाउँछ ? किन महिलालाई मात्र यो समाजले स्वतन्त्रताको निश्चित दायरा निर्माण गरिदिन्छ ? सुरक्षित र गोप्य यौनका लागि समाजले बहस गरेको छैन । समाज किन इज्जत र बेइज्जतको पछाडि लागेको छ र महिलालाई नै बदनाम गरिरहेको छ ? समाजका जुनसुकै उमेरका चेलीलाई वा जुनसुकै आर्थिक अवस्थाका महिलालाई प्रभावशाली पुरुषले आफ्नो यौनतृप्तिको साधन बनाउनुलाई यो समाजले किन स्वाभाविक ठान्छ ? आफ्नै घरमा पर्दा उफ्रने पुरुष वा महिलाहरू अरुका चेली अन्यायमा पर्दा किन बोल्दैनन् ? प्रश्न अनेक छन् ।
महिलालाई सम्मान गर्न कहिले सिक्छ यो पुरुषवादी समाजले ? आमाको कोखबाट निस्केको र आमाको दूध चुसेर हुर्केको आफ्नै विगतप्रति गम्भीर चिन्तन गर्ने हो भने महिलालाई सम्मान गर्ने सोचको निर्माण हुन्छ, जुन सोचले महिलाहरूलाई केवल यौनतृप्तिको वस्तुका रूपमा हेर्दैन । यस्तो सोच निर्माण गर्न समस्या कहाँनेर छ ? के संविधानका मौलिक हकका कुराहरू, सामाजिक न्यायका कुराहरू घरघरमा गएर पढाउनुपर्ने हो ?