‘मुलुकलाई समृद्ध बनाउन ‘उधारोमा घ्यू’ दिने चलन अन्त्य गर्नुपर्छ’

यतिबेला देशको बाह्य अर्थतन्त्रका सूचक सबल हुँदाहुँदै आन्तरिक अर्थतन्त्रमा समस्याको चाङ छ । सरकारले अर्थतन्त्रका यावत समस्या समाधान पहल गर्नुपर्ने समयमा आन्तरिक लफडाका कारण सत्ता समीकरण परिवर्तन भएको छ । यस्तो स्थितिमा कोरोना महामारीदेखि थिलथिलो बनेको देशको अर्थतन्त्रको भावी दिशा कस्तो हुन्छ भन्ने अन्योल छ ।
यसबाहेक पछिल्लो समय सरकारले निरन्तररुपमा उद्योगी व्यवसायीलाई धरपकड गर्दै आइरहेको छ । यस प्रकारको गतिविधिको खुलेर विरोध गरिरहेको निजी क्षेत्र ‘पहिला सुन र त्यसपछि थुन’ भनिरहेका छन् । देशको पछिल्लो आर्थिक अवस्था र सरकारले धमाधम व्यवसायी र बैंकर्स पक्राउ गर्न थालेपछिको अवस्थाबारे ‘रातोपाटी बहस’मा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँगको कुराकानीको सम्पादित अंश :–
- मुलुक आर्थिक मन्दीबाट बाहिर निस्कने प्रयास गरिरहेको छ । सरकार अर्थतन्त्र सुधारोन्मुख भइरहेको दाबी गर्छ भने निजी क्षेत्र अवस्था सुध्रनेमा आशावादी देखिन्न । वास्तविकता के हो ? तपाईंको मूल्याङ्कन के छ ?
–कोभिड–१९ महामारीको कारणले मुलुकको समग्र अर्थतन्त्र नकारात्मक बनेको अवस्था छ । सबै वस्तुको मूल्य महँगिएको छ । सर्वसाधारण उपभोक्ताको खल्ती रित्तिएको स्थिति छ । सरकारी नजरमा अर्थतन्त्र चलायमान बनेको देखिए पनि समस्याग्रस्त अवस्थाबाट बाहिर आइसकेको छैन । चालू खर्चका लागि पनि सरकारले ऋण सापटी लिएको चलाएको छ । मुलुकलाई समृद्ध बनाउनका लागि ‘उधारोमा घ्यू’ दिने चलन अन्त्य गर्नुपर्छ । बजेट निर्माण गर्दा पनि कनिका छरेजस्तो गर्ने होइन । सीमित आयोजनालाई प्राथमिकतामा राखेर विकासलाई अघि बढाउनुपर्ने हो ।
यति बेला चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि पुँजीगत र विकास खर्च न्यून स्थितिमा छ । सबभन्दा पहिला मुलुकमा सरकारी खर्च प्रणालीमा ‘एक्सन बाउण्ड’ बनाएर अघि बढ्नुपर्छ । सुरुमा ठुलो आकारको बजेट बनाउने र पछि घटाउने परम्परा रोक्नुपर्छ । यसबाट समग्र खर्च प्रणाली नै प्रभावित बन्छ ।
- अहिले प्रधानमन्त्रीदेखि निवर्तमान अर्थमन्त्रीसम्मले अर्थतन्त्रमा व्यापक सुधार आइरहेको दाबी गरिरहेका छन् । यसलाई निजी क्षेत्रले कसरी मूल्याङ्कन गर्दैछ ?
–सरकारमा रहनेले जे भनेपनि अर्थतन्त्र सङ्कटबाट माथि उठिसकेको छैन । अर्थतन्त्रलाई व्यवस्थित गर्न नवीनतम सोच र पञ्चवर्षीय योजना अन्तर्गत अघि बढ्नुपर्छ । यही योजनाअनुसार मौद्रिक नीति र बजेट आउनुपर्ने हो । भारतले ८ प्रतिशत आर्थिक वृद्धि गरिरहेको छ । भारतको आर्थिक विकासबाट नेपालले पाठ सिकेर सोहीबमोजिम अघि बढ्नुपर्ने हुन्छ ।
- यति बेला बाह्य अर्थतन्त्र बलियो स्थितिमा छ । आन्तरिक अर्थतन्त्र लयमा आउन सकेको छैन । यसलाई ट्रयाकमा ल्याउन सरकार र निजी क्षेत्रले के कस्ता भूमिका खेल्न सक्लान् ?
–अहिले रेमिट्यान्स बढ्नु सकारात्मक छ । रेमिट्यान्स आप्रवाह बढ्दा १५ महिनासम्मको आयात धान्ने गरी विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेर मात्रै हुँदैन, अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर देशमा रहेको स्रोत साधनलाई प्रयोग गरेर समृद्ध बन्नुपर्छ । वि.स. १९६० तर्फ १७०० वटा कोठाको सिंहदरबार बनाउन १ वर्ष लागेको थियो । यति बेला ५ करोड रुपैयाँ बराबरको पुल बनाउन ३ वर्ष लाग्छ । निर्माणका लागि निश्चित र ठोस योजना नै भएन ।
यसबाहेक विनियोजित बजेट खर्च गर्नलाई एउटा विधि बनाउनुपर्छ । यता निर्माण क्षेत्रमा ४० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम निकासा हुनसाथ ४० प्रतिशत रकम सरकारी ढुकुटीमा नै आउँछ । मजदुरले रोजगारी पाउँछन् भने निर्माण क्षेत्रका उद्योग चलायमान बन्छन् । अब सत्ता समीकरण परिवर्तन भएको छ । यो परिवर्तित सत्ता समीकरणले अर्थतन्त्र सुधारका एजेन्डालाई निरन्तरता दिनुपर्छ ।
- सरकारले आयातलाई प्रतिबन्ध लगाउन धेरै वस्तुको सूची नै निकाल्यो । यसबाहेक नेपाल राष्ट्र बैंकको लचिलो नीतिका कारण एकै वर्षमा शतप्रतिशतले ऋण प्रवाह बढेको पनि थियो । चेम्बरको नजरमा के कारणले देशको अर्थतन्त्र यो हालतमा आयो ?
–खुलारुपमा चलिरहेको अर्थतन्त्रलाई एकैपटक कसिलो बनाइदियो । राष्ट्र बैंकले सुरुमा खुकुलो नीति लिएर एकैपटक मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा सङ्कुचन, आयात प्रतिबन्ध लगायतका व्यवस्था गर्यो । यसबाट ७ प्रतिशतमा रहेको ब्याजदर १५ प्रतिशतसम्म पुग्यो । फलस्वरुपः सबै उद्योग व्यवसायी ऋणको ब्याजदरका कारण पिल्सिए ।
अर्थतन्त्रलाई सबल र चलायमान बनाउनका लागि ब्याजदर एकल अङ्कमा ल्याउनुपर्छ । हामीले भारततर्फको उदाहरण समेत हेर्न सक्छौँ । ब्याजदर घटाउनका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्छ । अर्को विषय चाहिँ कर्जा प्रवाह गर्दा राष्ट्र बैंकले ल्याएको एउटा नीति कसिलो नै छ । घरजग्गा र सेयरमा लगानी गर्दा जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशत छ ।
यसलाई १०० प्रतिशतमा ल्याउनुपर्छ । जोखिम भारलाई १२५ प्रतिशतबाट १०० प्रतिशतमा ल्याउन साथ अर्थतन्त्र चलायमान बन्छ । नयाँ बन्ने सत्ता समीकरणले सुरुमा यो विषयलाई सम्बोधन गर्नुपर्छ । मुलुकमा यति बेला ६ खर्ब रुपैयाँ ‘सरप्लस’ छ । कर्जा प्रवाह हुन सकेको छैन । चालू पुँजी कर्जाको हकमा चाहिँ ऋणी र बैंकबिचको सहमतिअनुसार नै चल्न दिनुपर्छ । नयाँ नयाँ नीति ल्याउन हुँदैन । विगतमा जस्तै चलाउन दिनुपर्छ । जता पनि नियन्त्रण गर्न खोज्दा अर्थतन्त्र चलायमान हुन सक्दैन ।
- चेम्बर, परिसंघ र महासंघ मिलेर एउटा संयुक्त विज्ञप्ति पनि जारी गरेको थियो । पछिल्लो समय किन सरकार र उद्योगी तथा व्यवसायीबिच तालमेल नमिलेको होला ?
–व्यवसायी र सरकारबिच तालमेल नमिलेको त भन्नै मिल्दैन । एकाध सरकारले गर्नुपर्ने काम सरकारले गरिदिनुपर्यो भन्ने हाम्रो विषय हो । सरकारले पहिलो थुनेर पछि सुन्ने जुन प्रक्रिया सुरु गरेको छ । यसलाई रोक्नुपर्छ भन्ने हाम्रो माग हो । कानुनभन्दा माथि कोही पनि हुँदैन भन्नेमा हामी पनि अडिग छौँ । तर तुरुन्तै थुन्नुको सट्टा अग्रिम जमानत प्रणाली लागू गर्ने र पत्रमार्फत जानकारी दिएर अनुसन्धान गर्नुपर्छ । अदालतले अनुमति दिएपछि मात्रै थप अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो भनाई छ । यस प्रकारको गतिविधिले हामीले ल्याउने भनेजस्तो विदेशी लगानी भित्र्याउन मुस्किल पर्ने भएकाले सबै निकाय एउटा प्रक्रियामा बसौँ भन्ने विषय मात्रै निजी क्षेत्रले उठाएको हो ।
- निजी क्षेत्रले ‘पहिला सुन र थुन’ भन्ने माग राखिरहेका छन् । तर, कानुनको नजरमा सबै उस्तै हुन् । उद्योगी व्यवसायी पैसावाल पनि हुन्छन् । उनीहरूले चाहेमा आफूविरुद्धको प्रमाण नष्ट गर्नसक्छन् भन्ने चिन्ता पनि रहेछ सरकार पक्षसँग ?
–हामीले उद्योगी–व्यवसायीलाई थुन्नै हुँदैन भनेकै छैनौँ । उद्योगी–व्यवसायीलाई पत्राचार गरेर अनुसन्धानमा सघाउन भन्दा सघाउने विषयमा पनि सरकारले थुन्ने काम गरिरहेको छ । अनुसन्धानको क्रममा खुकुलो नीति लिऊँ भन्ने मात्रै हाम्रो माग हो । अपराध गरे पनि कारबाही नै गर्न हुँदैन भन्ने माग निजी क्षेत्रको होइन ।
- सरकारले धमाधम उद्योगी–व्यवसायी र बैंकर्स पक्राउ गर्दा सर्वसाधारणमा एकखालको उत्साह देखिन्छ । यसबाट सर्वसाधारणप्रति उद्योगी–व्यवसायीमाथि विश्वास छैन भन्ने देखाउँछ नि ।
–धमिलो पानीमा माछा मार्ने एकाध मान्छे हुन्छन् । निजी क्षेत्रका छाता संगठनले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण मात्रै मागेको हो । अपराध गर्ने वातावरण मागेको होइन । बैंकको कार्यालयमा प्रहरी छिरिरहेको छ । जबकि, नियामक निकायको काम नै बैंकमाथि निगरानी र गलत गरेमा कारबाही गर्ने हो । बैंकलाई नियमन गर्ने नेपाल राष्ट्र बैंक, बीमा क्षेत्रका लागि बीमा प्राधिकरण र राजश्वतर्फ राजश्व अनुसन्धान लगायतका निकाय छन् । यति धेरै नियामक निकाय हुँदाहुँदै पनि त्रसित बनाउने गरी काम गर्न हुँदैन भन्ने हाम्रो मान्यता हो । बैंकको विषयमा नेपाल राष्ट्र, अदालत हुँदै प्रहरी पुग्नुपर्नेमा सिधै प्रहरी कहाँ पुग्यो । यसबाट निजी क्षेत्र अचम्मित बनेको छ ।
- यति बेला सरकार र उद्योगी–व्यवसायीबिच देखिएको यो प्रकारको समस्या समाधान कसरी हुन सक्ला ?
–व्यवसायी र सरकारबिच कुनै प्रकारको द्वन्द्व छैन । अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार केही विषयमा लचिलो बन्नैपर्छ । अपराध पुष्टि भएमा अपराधीलाई छुट दिनुपर्छ भन्नेमा हाम्रो अडान छैन । आरोप लागेकै भरमा ‘करियर’ नै सक्ने प्रकृतिको काम रोक्नुपर्छ । यसो भएमा पछिल्लो समय देखिएको समस्या समाधानमा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
काठमाठौं महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन
१२ बजे, १२ समाचार : देशभर डढेलो तथा आगलागीको प्रकोपदेखि काठमाडौं महानगरमा ‘हाकिम’को हाजिरीलाई लिएर लफडासम्म
आईपीएल क्रिकेटमा हैदरावादको लागातार तेस्रो हार, कोलकातालाई ठूलो राहत
ट्रम्पको विश्वव्यापी आयातकर घोषणाले अमेरिकी शेयर बजारमा भारी गिरावट
जुम्लामा आगलागी हुँदा घर जलेर नष्ट
सामुदायिक वनमा लागेको डढेलोमा जलेर एकको मृत्यु