बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

सय टेस्टको सँघारमा चार क्रिकेटर

सयौँ टेस्टमा बनेका थरीथरीका कीर्तिमान
बुधबार, २३ फागुन २०८०, ११ : ०३
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । विश्व क्रिकेटमा हालसम्म ७६ जना खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट प्रतियोगिता खेलिसकेका छन् । तर, यसै साता यो सूचीमा चारजना खेलाडी थपिने भएका छन् । त्यसपछि एक सय टेस्ट खेल्ने क्रिकेटरको सङ्ख्या ८० पुग्नेछ । 

घरेलु टोली भारत र इङ्ल्यान्डबिच आगामी बिहीबार धर्मशालामा पाँचौँ टेस्ट सुरु हुँदैछ । उक्त टेस्ट भारतका रवीचन्द्रन आश्विन र इङ्ल्यान्डका जोनी ब्रेस्टोका लागि एक सयौँ टेस्ट हुनेछ । यी दुवै खेलाडीले हालसम्म ९९ टेस्ट खेलिसकेका छन् ।

त्यसको एक दिनपछि नै न्युजिल्यान्ड र अस्ट्रेलियाबिच क्राइस्टचर्चमा दोस्रो टेस्ट क्रिकेट सुरु हुँदैछ । त्यो टेस्ट न्युजिल्यान्डका लागि दुई खेलाडी टिम साउथी र केन विलियम्सनका लागि एक सयौँ टेस्ट हुनेछ । यी दुवै खेलाडीले हालसम्म ९९ टेस्ट खेलिसकेका छन् ।

एक सय टेस्ट खेलिसकेका केही खेलाडीले बनाएका रोचक कीर्तिमानको विषयमा यहाँ चर्चा गर्न खोजिएको हो । आफ्नो एक सय टेस्ट खेल्दासम्म पाँच सयभन्दा बढी विकेट लिने बलरको सूचीमा श्रीलङ्काका मुथैया मुरलिथरन पहिलो स्थानमा स्थानमा छन् ।

Muralitharan

एक सय टेस्ट खेल्दा मुरलिथरनले पाँच सय ९३ विकेट लिइसकेका थिए । सय खेल खेल्नुअघि नै उनले ४९ टेस्टमा पाँच विकेट र १४ टेस्टमा १० विकेट लिएका थिए । समग्रमा भने मुरलिथरनले एक सय ३३ टेस्ट खेल्दै कुल आठ सय विकेट लिएका थिए ।

मुरलिथरनबाहेक एक सय टेस्ट खेल्नुअघि नै पाँच सयभन्दा बढी विकेट लिने दोस्रो खेलाडी हुन, भारतका आश्विन । उनले हालसम्म ९९ टेस्ट खेल्दै पाँच सय सात विकेट लिइसकेका छन् । उनले ३५ टेस्टमा पाँच विकेट र आठ टेस्टमा १० विकेट लिइसकेका छन् । बिहीबार सुरु हुने खेल उनका लागि एक सयौँ टेस्ट हुनेछ ।

यसैगरी एक सय टेस्ट खेल्दासम्म सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका स्टिभन स्मिथ हुन् । स्मिथले एक सय टेस्ट खेल्दासम्म ५८.९५ को औसतले कुल नौ हजार एक सय ३७ रन बनाएका थिए । यस क्रममा उनले ३२ शतक प्रहार गरेका थिए । समग्रमा भने स्मिथले एक सय आठ टेस्ट खेल्दै ५७.५२ को औसतले कुल नौ हजार ६ सय ६५ रन बनाइसकेका छन् । उनले हालसम्म ३२ शतक र ४१ अर्धशतक प्रहार गरेका छन् ।

आफ्नो खेलजीवनको एक सयौँ टेस्टमा सहभागिता जनाउन लागेको विलियम्सले पनि स्मिथलाई पछ्याउँदै छन् । ३३ वर्षीय विलिम्सनले ९९ टेस्टमै ३२ शतक पुरा गरिसकेका छन् । उनले ३३ अर्धशतक पनि बनाएका छन् । विलियम्सनले हालसम्म ५५.२५ को औसतले कुल आठ हजार ६ सय ७५ रन बनाइसकेका छन् ।

एक सय टेस्ट खेल्ने खेलाडीमध्ये न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम मात्र यस्ता खेलाडी हुन् जसले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेदेखि एक सय टेस्ट खेल्दासम्म हरेक खेलमा सहभागिता जनाए । यसबिचमा देशले खेलेका हरेक टेस्ट प्रतियोगितामा उनी टोलीमा थिए ।

विश्व टेस्ट क्रिकेटमा म्याककुलमका अतिरिक्त अन्य पाँच खेलाडी यस्ता छन्, जसले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेदेखि एक सय टेस्ट खेल्दासम्म बिचमा एक खेल गुमाएका थिए । एलन बोर्डर, एलिस्टर कुक र कपिल देव पनि यो सूचीमा पर्छन् । सन् १९८४ मा कोलकातामा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा कपिल देबलाई रहश्यमयी तरिकाले टोलीमा समावेश गरिएको थिएन । अन्यता कपिल देव पनि म्याककुलमकै सूचीमा पर्ने थिए ।

यसैगरी टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सबैभन्दा कम समयमा एक सयौँ टेस्ट खेल्ने खेलाडी इङ्ल्यान्डका एलिस्टर कुक हुन् । उनले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सात वर्ष दुई सय ८७ दिनपछि नै एक सयौँ टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको सबैभन्दा लामो समयपछि एक सयौँ टेस्ट खेल्ने खेलाडी भने ग्राहम गुच हुन् । उनले ‘डेब्यू’ टेस्ट खेलेको १७ वर्ष दुई सय तीन दिनपछि एक सयौँ टेस्ट खेलेका थिए ।

यसैगरी सन् २००६ मा सेन्चुरियनमा भएको दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको टेस्टमा एकैपटक तीनजना खेलाडीले आफ्नो एक सयौँ टेस्ट खेलेका थिए । विश्व टेस्ट क्रिकेटको इतिहासमा एउटै खेलमा तीन खेलाडीले आफ्नो एक सयौँ टेस्ट खेलेको त्यो एकमात्र अवसर थियो । उक्त टेस्टमा ज्याक कालिस, सन पोलक र स्टेफन फ्लेमिङले एक सयौँ टेस्ट खेलेका थिए ।

हालसम्म इङ्ल्यान्डका १६ जना खेलाडीले एक सय टेस्ट खेलिसकेका छन् । जोनी ब्रेस्टो एक सय टेस्ट खेल्ने इङ्ल्यान्डका १७औँ खेलाडी बन्नेछन् । अन्य कुनै पनि राष्ट्रका यति धेरै खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट खेलेका छैनन् ।

यसैगरी अस्ट्रेलियाका १५ र भारतका १४ जना खेलाडीले हालसम्म एक सय वा त्योभन्दा बढी टेस्ट खेलेका छन् । पाकिस्तानका पाँचजना खेलाडीले मात्र हालसम्म एक सय टेस्ट खेलेका छन् । यो सबैभन्दा कम सङ्ख्या हो ।

हालसम्म तीनजना बलरले आफ्नो एक सयौँ टेस्टमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । यस्तो उपलब्धि हासिल गर्ने बलर शेन वार्न, मुथैया मुरलिथरन र अनिल कुम्बले हुन् । वार्नले सन् २००२ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको आफ्नो एक सयौँ टेस्टमा यस्तो सफलता हात पारेका थिए ।

यसैगरी मुरलिथरनले सन् २००६ मा खेलिएको बंगलादेशविरुद्धको आफ्नो एक सयौँ टेस्टमा र अनिल कुम्बलेले सन् २००५ मा खेलिएको श्रीलंकाविरुद्धको आफ्नो एक सयौँ टेस्टमा पाँच वा त्योभन्दा बढी विकेट लिएका थिए ।

यसैगरी हालसम्म आफ्नो एक सयौँ टेस्टमा १० जना ब्याट्सम्यानले शतक बनाएका छन् । त्यसमध्ये दुई ब्याट्सम्यानले आफ्नो एक सयौँ टेस्टमा दोहोरो शतक पनि बनाएका छन् । आफ्नो एक सयौँ टेस्टमा दोहोरो शतक बनाउने ब्याट्सम्यान इङ्ल्यान्डका जो रुट र अस्ट्रेलियाका डेभिड वार्नर हुन् ।

रुटले सन् २०२१ मा खेलिएको भारतविरुद्धको टेस्टमा र वार्नरले सन् २०२२ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा दोहोरो शतक बनाएका थिए । यसका अतिरिक्त अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ आफ्नो एक सयौँ टेस्टको दुवै पालीमा शतक बनाउने एकमात्र ब्याट्सम्यान हुन् ।

यसैगरी ९९औँ टेस्ट खेलको सबैभन्दा लामो समयपछि एक सयौँ टेस्ट खेल्न खेलाडी भारतका सुनिल गावस्कर हुन् । उनले ९९औँ टेस्ट खेलेको दुई सय ९८ दिनपछि एक सयौँ टेस्ट खेलेका थिए । ९९औँ टेस्ट खेलेर एक सय टेस्ट पुरा नगर्ने विश्वका एकमात्र खेलाडी भारतका मोहम्मद अजहरुद्दिन हुन् । ९९औँ टेस्ट खेलपछि अजहरुद्दिनमाथि खेल मिलेमतोको आरोप लागेको थियो र उनले उक्त आरोपमा सजाय पनि भोग्नु परेको थियो ।

आगामी बिहीबार धर्मशालामा एक सयौँ टेस्ट खेल्नुअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डका जोनी ब्रेस्टोको रन औसत ३६.४२ रहेको छ । एक सयौँ टेस्ट खेल्नुअघि २२ जना खेलाडीको रन औसत ब्रेस्टोको भन्दा कम रहेको थियो ।

यसैगरी एउटै खेलमा यसअघि एउटै देशका दुईजना खेलाडीले दुईपटक एक सयौँ टेस्ट खेलेका थिए । सन् १९७४ मा वेस्ट इन्डिजका गोर्डन ग्रिनिज र भीभ रिचर्डसले भारतविरुद्ध एक सयौँ टेस्ट खेलेका थिए । सन् १९९६ मा भारतका सौभर गांगुली र राहुल द्रविडले इङ्ल्यान्डविरुद्ध एक सयौँ टेस्ट खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप