सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नयाँ सत्ता समीकरण

गौशालामा भेट्न माधवले नमानेपछि कोटेश्वरमै पुगेका थिए प्रचण्ड–ओली

मङ्गलबार, २२ फागुन २०८०, २१ : ५८
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । एमाले नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादी सकारात्मक भएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरूबिच मंगलबार भएको झण्डै दुई घण्टा लामो भेटवार्तामा एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको हो ।

नेता नेपालसँगको भेट वार्तापछि एमाले महासचिव शंकर पोखरेलले आफूहरूले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अध्यक्ष नेपालले सकारात्मक लिएको प्रतिक्रिया दिए । 

त्यस्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि भेटवार्ता र कुराकानी सकारात्मक ढंगले अघि बढेको बताए ।

‘सामान्यतया सकारात्मक भनेका छौ । भोलि हाम्रो बैठक छ, त्यो बैठकमा र त्यसअघि पनि छलफल गर्छौ र स्पष्ट भएर जान्छौ’, महासचिव भुसालले भने, ‘मुलुकले राम्रो निकास र स्थायित्व पाओस् । हाम्रो गौरव हामी फिर्ता गरौँ भन्ने नेकपा एकीकृत समाजवादीको भनाइ छ ।’

यद्यपि भुसालले बाम एकताका बारेमा छलफल नभएको बताए । ‘वामपन्थीहरुसँगै जाने स्पिरिट सकारात्मक छ’, भुसालले भने, ‘उहाँहरूले अव हामी सँगै जाऔँ भन्नुभयो । खासगरी वामहरू सकेसम्म एक ठाउँमा भएर, अरू लोकतान्त्रिक शक्तिहरूसँग पनि सम्भव भएसम्म अगाडि जाने विषयमा जुन गहिराई र विषयमा, मुलुकको समस्याको बारेमा, आन्दोलनको चुनौती, चासो र चिन्तालाई हेर्दा मुलुकको बारेमा छ भन्ने कुरा हामी सबैले अनुभव साटासाट गर्‍यौ’, भुसालले भेटवार्तामा भएको कुराकानीबारे भने । भुसालका अनुसार भोलि बस्ने पार्टीको सचिवालय बैठकले सरकारमा जानेनजाने भन्नेबारे निर्णय दिने तयारी छ । यद्यपि त्यसअघि पनि आवश्यकता अनुसार नेताहरूबिच छलफल हुने भुसालको भनाइ छ । 

सोमबारदेखि भेटको निरन्तरता 

सोमबार प्रधानमन्त्री प्रचण्ड र नेता नारायणकाजीले अध्यक्ष नेपाललाई भेटेकोमा मंगलबार ओली, प्रचण्ड, विष्णु पौडेल र शंकर पोखरेलसहितका नेता कोटेश्वरमा नेपाललाई भेट्न पुगेका थिए । सुरुमा नेता नेपाललाई गौशालास्थित एक होटलमा भेट्न प्रचण्ड ओलीले प्रस्ताव गरेका थिए । तर नेपालले बाहिर नभेट्ने भन्दै भेट्ने मन भए घरमै आउन भनेपछि प्रचण्ड ओली घरमै पुग्न बाध्य बनेका थिए । स्रोतका अनुसार खासगरी प्रचण्डभन्दा पनि ओलीले  नेपालको घरभन्दा पनि बाहिरै भेट्ने चाहना राखेका थिए । तर नेपाल त्यसमा तयार नभएपछि ओली पनि उनको घरमा जान तयार भएका थिए । ‘पहिला गौशालामा भेट्ने कुरा आएको थियो तर अध्यक्षले भेट्ने भए घरमै आउनु भन्नुभयो । त्यसपछि उहाँहरू निवासमै आउनुभयो’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो । प्रचण्ड ओली घरमा आउने भएपछि नेता नेपालले आफ्ना तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई बोलाएका थिए ।  

भेटवार्तामा नेताहरूबिच सरकारमा सहभागिताबाहेक वामपन्थी एकताका बारेमा खासै कुराकानी नभएको महासचिव भुसालको भनाइ छ । कांग्रेससँगको सहकार्य तोड्दै सोमबार मात्रै प्रचण्डले एमाले, रास्वपा, जसपासँग मिलेर नयाँ सत्ता गठबन्धन निर्माण गरेका थिए । त्यसमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाल निवासमै पुगेर आग्रह गरेका थिए । तर प्रचण्डको उक्त आग्रहलाई नेता नेपालले औपचारिकताका लागि मात्र आफूसँग कुरा नगर्न आग्रह गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप