शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मध्यावधि रोक्न सबै दलसँग संवाद गर्छु : मुख्यमन्त्री पाण्डे

मङ्गलबार, २२ फागुन २०८०, १९ : २४
मङ्गलबार, २२ फागुन २०८०

पोखरा । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

सामाजिक विकास मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले मन्त्रालय छोडिसकेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । केन्द्रको निर्देशन कुरेर बसेको माओवादीले कुनै निर्णयमा पुगेको छैन । बुधबार दलको बैठक बस्ने र उक्त बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने दलका नेता हरिबहादुर चुमानले बताए ।

मुख्यमन्त्री पाण्डेले भने संवैधानिक प्रक्रिया र आन्तरिक संवादलाई सँगसँगै लैजाने बताएका छन् । ‘एमाले र माओवादीसँग पनि संवाद गर्छु । राप्रपाले पनि महसुश गर्नुपर्‍यो । सकेसम्म मध्यावधिमा जानबाट रोक्ने हो,’ उनले भने, ‘नभए मेरो मात्रै कुराले त हुँदैन । संविधानले जे भन्छ त्यही अनुसार अगाडि बढ्छ ।’ केन्द्रमा बनेको नयाँ गठबन्धनले गण्डकीको सरकार पुनः निर्माण हुन नसक्ने भएकोले गण्डकीले आफ्नै परिस्थिति अनुसार चल्नुपर्ने उनले बताए ।

‘अंकगणित पनि हेर्नुपर्‍यो नि । कुनैपनि गठबन्धनले यहाँ बहुमत जुटाउन सक्ने परिस्थिति पनि छैन । यो बेला सबै दलहरु संवेदनशील हुनुपर्छ । केन्द्रमा जे भयो त्यही कुरा प्रदेशमा लागु गर्नुपर्छ भन्ने त छैन नि,’ उनी अघि भन्छन्, ‘हामी फरक परिस्थिति निर्माण गरौँ भनेर रिक्वेस्ट गर्छु । उहाँहरू मान्नुहुन्छ होला भन्ने लाग्छ । नत्र मैले मात्र त के गर्न सक्छु र ? यस्तो बेला सबै जिम्मेवार हुनुपर्छ ।’

पाण्डेले चुनावमा गरिएको प्रतिबद्धता पूरा गर्न अघिल्लै गठबन्धन आवश्यक पर्ने र उक्त जिम्मेवारीबाट कुैपनि दल पछि हट्न नहुने बताएका छन् । ‘हिजो निर्वाचनमा गठबन्धनको घोषणापत्र लिएर गयौँ । चुनावी नतिजाको म्याण्डेट अनुसार पनि यो गठबन्धन टुट्न हुँदैनथ्यो,’ उनले थपे, ‘अब केन्द्रको कुरा अघि बढिसक्यो । गण्डकीलाई संकटबाट जोगाउने अवसर कायमै छ । सबै खालको विकल्पमा छलफल गरौँ भन्ने लाग्छ ।’ सहमति नजुटे संविधान अनुसार अघि बढ्ने उनले बताए । ‘म संविधानले जे व्यवस्था गरेको छ त्यसलाई अक्षरश पालना गर्छु । संवैधानिक व्यवस्था फेस गर्छु,’ उनले भने । राजनीतिक परिस्थितिको आकस्मिक निर्णय गर्न कांग्रेस संसदीय दलले उनै पाण्डेलाई सर्वाधिकार दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप