शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

छोरी भएर बाँच्न देऊ

मङ्गलबार, २२ फागुन २०८०, १५ : ५२
मङ्गलबार, २२ फागुन २०८०

न त भागेर जान सक्छु परदेश
न त त्याग्न सक्छु आफ्नो परिवेश
न त पिँजडा फुटाउन सक्छु
न त आफ्नो ममता टुटाउन सक्छु ।

स्नेहले बाँधिएकी छु
आफ्नो कर्मले सिँगारिएकी छु
जन्म नै बेकार बनाउने एक जमात
समाजका विषवृक्षलाई
कर्तव्य सम्झेर आफ्नो मानेकी छु ।

जन्मिँदादेखि मेरो खुसीमा धेरै भयो मोलतोल
बाबा–आमाको मनमा भरिदिने बेकारमा सन्देह
आपत् र पीरमा रामको कथा सुनाउने प्यारो बुबा
ठेस लाग्दा निस्वार्थ ममताको आँचल छरिदिने हजुरमुमा ।

यही समाजमा हुने रैछन् कैकेयी र दुर्योधन
म छोरीले केही नबिराए पनि सधैँ लिइने परीक्षण
आफ्नै पसिनामा मातृत्वले मलाई हुर्काइन्
विवेकहीन जमातले घात गर्ने दिनका दिन ।

कथा पढ्छु द्रौपदीको
रामायण अनि महाभारतको
चित्त शुद्ध नहुनेहरू
सदैव खराबी देख्छन् अर्काको छोरीको ।

पलपल परीक्षा दिनुपर्ने बलवान् र दुष्टहरूलाई
जन्मेदेखि घात गर्छन् 
झन् कसरी आफ्नो बनाउन सकिन्थ्यो र पराईलाई
बाबा–आमा गरिब भए छोरी झन् खराब रे
सम्पत्तिले पुर्न सक्ने र आफ्ना भए असल रे ।

न सकिने रैछ यहाँ छोरी भई बाँच्न
विवशताको डोरी कस्छन् दिने छैनन हाँस्न
आफ्नो छोरी देख्ने रैछन् सुन्दर फूल
अर्काको छोरीको जन्म नै भयो रे महाभुल ।

शकुनिको पासाभन्दा कठिन छ जीवन
हे कृष्ण आइदिनुस् एकपल्ट धर्तीमा
दुष्ट समाजका अवयवलाई निल्न
हदभन्दा बढी गर्छन् छोरीलाई हेला
कुनै दिन त पर्छन् होला इन्साफको फेला ।

छोरीहरू बनाऊ आफ्नो मन पत्थर
हार्ने छैनौ सहेर नि हजारौँ बन्जर
दुष्टताले गर्नेछन् कमजोरीमा प्रहार
मिहिनेतले हरबखत धर्ती सिञ्चित गर
जन्मेको कोख र आफ्ना शुभेच्छुकलाई
पवित्र पार्न लागि पर हरपल
पिता र माताको आशीर्वादले
फाल्नुछ कुसंस्कारको बादल ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप