आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

छक्का प्रहार गरेको बलले कारको सिसा फुटेपछि अस्ट्रेलियन क्रिकेटर पेरीले दिइन् ठट्यौली जवाफ

मङ्गलबार, २२ फागुन २०८०, ११ : ४५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटको सोमबार राति खेलिएको खेलमा आफूले प्रहार गरेको बलले लागेर एउटा कारको सिसा फुटेपछि रोयल च्यालेन्जर्स बैंगलोरकी ब्याट्र एलिस पेरीले ‘त्यसको क्षतिपूर्ति बिमाले पनि सायदै गर्ला’ भनेर टिप्पणी गरेकी छन् । 

यूपी वारियर्जविरुद्धको खेलका क्रममा अस्ट्रेलियन ब्याट्र पेरीले छक्का प्रहार गरेको बलले लागेर एउटा कारको सिसा फुटेको थियो । त्यो कार रंगशालाभित्रै प्रदर्शनका लागि राखिएको थियो । उक्त खेलमा रोयल च्यालेन्जर्स बैंगलोर २३ रनले विजयी भएको थियो ।

उनले १९औँ ओभरमा दिप्ती शर्माको बलमा छक्का प्रहार गरेकी थिइन् । उनले प्रहार गरेको बल प्रदर्शनीका लागि राखिएको कारको सिसामा लागेको थियो । खेल सकिएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा पेरीले ठट्यौली पारामा भनेकी छन्, ‘खै, कारको बिमा थियो कि थिएन । बिमा गरेकै भए पनि सायदै बिमा कम्पनीले क्षतिपूर्ति देला ।’

उक्त खेलमा आफ्नो टोलीलाई जिताउन पेरीले ५८ रनको योगदान गरेकी थिइन् । यसका क्रममा उनले केवल ३७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएकी थिइन् । बैंगलोरका लागि कप्तान स्मृति मन्धनाले पनि ८० रनको योगदान गरेकी थिइन् । 

स्मृतिले केवल ५० बलको सामना गरी तीन छक्का र १० चौका हिर्काएकी थिइन् । उक्त खेल एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप