टी–२० विश्वकप अघि नेपालको ब्यस्त तालिका, आयरल्यान्ड ‘ए’ सँग आठ खेल खेल्ने
काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपअघि नेपालले एकपछि अर्को अभ्यास खेल खेल्ने भएको छ । यसैक्रममा नेपालले घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पनि आठवटा खेल खेल्ने पक्का भएको छ ।
आयरल्यान्डको ‘ए’ टोली मार्चको अन्तिम साता नेपाल भ्रमणमा आउन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, आयरल्यान्डको ‘ए’ टोलीले नेपाली राष्ट्रिय टोलीसँग दुईवटा टी–२० प्रतियोगिता खेल्नेछ ।
त्यसपछि आयरल्यान्डको ‘ए’ टोलीले नेपालको ‘ए’ टोलीसँग तीनवटा टी–२० प्रतियोगिता खेल्नेछ । टी–२० शृंखला सकिएलगत्तै नेपालको ‘ए’ टोलीले आयरल्यान्डको ‘ए’ टोलीसँग तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा आयरल्यान्डको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालको राष्ट्रिय टोली र आयरल्यान्डको ‘ए’ टोलीबिच दोस्रो टी–२० खेल मार्च २५ तारिखमा खेलिने क्यानले जनाएको छ ।
त्यसपछि मार्च २८ तारिखमा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच पहिलो टी–२० खेलिने छ । यी दुई टोलीबिचको दोस्रो टी–२० मार्च २९ मा खेलिने छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको तेस्रो टी–२० खेल मार्च ३१ तारिखमा खेलिने छ ।
टी–२० शृंखला सकिएपछि अप्रिल ३ मा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच पहिलो एकदिवसीय खेल हुनेछ । यी दुई टोलीबिचको दोस्रो एकदिवसीय खेल अप्रिल ५ मा खेलिने छ । तेस्रो एकदिवसीय खेल अप्रिल ७ तारिखमा खेलिने क्यानले जनाएको छ ।
त्यसअघि नेपाली राष्ट्रिय टोली टी–२० विश्वकपको तयारीका क्रममा भारत भ्रमणमा जानेछ । भारतमा नेपाली टोलीले गुजरात र बरोडाको टोलीसँग टी–२० शृंखला खेल्नेछ । उक्त शृंखला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म चल्नेछ ।
त्यसअघि नेपाली टोली विश्वकपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न हङ्कङ भ्रमणमा जानेछ । हङ्कङ भ्रमणका क्रममा नेपालले टी–२० शृंखला खेल्नेछ । क्यानले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा पनि गरिसकेको छ ।
नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृंखला मार्च ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । उक्त शृंखलाका लागि घोषित टोलीमा रोहित पौडेल (कप्तान), विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृंखलाका लागि टोलीमा समेटिएको छ ।
टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा र सन्दीप जोरा रहेका छन् । आरिफ शेख, विवेक यादब, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाष बोहरा पनि टोलीमा रहेका छन् ।
पछिल्लो समय क्यानडा, नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृंखलामा सहभागिता जनाउँदै आएका केही सिनियर खेलाडीलाई भने हङ्कङ भ्रमणका क्रममा आराम दिइएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल साहलाई आराम दिइएको हो ।
शृंखलामा नेपालले आफ्नो पहिलो खेल मार्च ९ तारिखमा आयोजक हङ्कङसँग खेल्नेछ । नेपालले दोस्रो खेल मार्च १० तारिखमा हङ्कङसँगै खेल्नेछ । त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी (पीएनजी) रहेको छ । नेपाल र पीएनजीबिचको खेल मार्च १२ मा खेलिने क्यानले जनाएको छ ।
हाल नेपाली टोली घरेलु मैदानमा जारी नेदरल्यान्ड्स र नामिबियाविरुद्धको टी–२० शृंखलामा ब्यस्त छ । नेपाल त्रिकोणात्मक शृंखलाको फाइनलमा पुगिसकेको छ । नेपालले मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग फाइनल खेल्नेछ ।
आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । विश्वकप जुन १ देखि २९ तारिखसम्म आयोजना हुनेछ । नवौँ विश्वकपमा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा पाँच–पाँचवटा टोली छन् ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।
नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।
समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । समूह ‘ए’ मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)