बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

स्पञ्ज आइरन प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन सांसदहरूको आग्रह

आइतबार, २० फागुन २०८०, १९ : ३१
आइतबार, २० फागुन २०८०

काठमाडौँ । स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन उद्योगी व्यवसायीहरूलाई सांसदहरूले आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरूले यस्तो आग्रह गरेका हुन् । उनीहरुले पछिल्लो समय स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय नभएको भन्ने गुनासो आएको भन्दै यस्तो आग्रह गरेका हुन् । 

सांसदहरूले फलामे छड उत्पादन गर्ने ठूला उद्योगहरूमा नेपाली कामदारभन्दा पनि विदेशी कामदार राख्नुको कारण खुलाउनुपर्ने बताए । उनीहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलाम उद्योगहरूले गुणस्तरहीन कच्चा पदार्थको प्रयोग गरेको गुनासो आएको भन्दै उद्योगीहरूलाई प्रश्न गरेका छन् ।

सांसद रेखा यादवले नेपालीहरूको ज्यान जान्छ भनेर विदेशबाट उद्योगमा कामदार राख्ने उचित नभएको बताइन् । उनले मानवअधिकारले त्यसलाई मान्यता नदिएको बताइन्  । उनले उद्योगहरूमा काम गर्ने कामदारको सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्ने बताइन् । उनले स्पञ्ज आइरन र बिलेट्सबिच ५ देखि ६ रुपैयाँको मूल्यमा अन्तर रहेको भन्दै के कारणले फरक रहेको उल्लेख गर्न आग्रह गरिन् ।

सांसद मनबहादुर गुरुङले सरकारले लाइसेन्स दिएर उद्योग दर्ता गर्न दिने तर उद्योगमा उत्पादन भएको छड प्रयोग गर्नुको कारण के हो ? भन्दै प्रश्न गरे । उनले उद्योगले उत्पादन गर्दा सामग्री गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । उनले उत्पादन गुणस्तर भए÷नभएको विषयमा सरकारले अनुगमन गर्न आवश्यक रहेको बताए । उनले कुन देशबाट मेसिन ल्याउँदा छड गुणस्तरीय हुन सकेन त्यो पनि व्यवसायीहरूले स्पष्ट जानकारी दिनुपर्ने बताए ।

समिति बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले नेपाली उद्योगहरूमा नेपाली कामदार राख्दा युनियन खोल्ने र व्यवसायीहरूलाई दुःख दिने गरेकाले उद्योगहरूले विदेशी कामदार राख्न बाध्य भएको बताए । उनले विदेशी कामदार राख्दा युनियन नखोली २४ घण्टा काम गर्ने भनेर नेपाली भन्दा पनि विदेशी कामदार राख्ने दाबी गरे । उनले यो विषयमा उद्योगहरूले पुनःविचार गर्नु आवश्यक रहेको बताए । उनले उद्योगहरूले उद्योगमा काम गर्ने कर्मचारीको सुरक्षाको ग्यारेन्टीको साथै उत्पादन भएको वस्तु गुणस्तरीय बनाउनुपर्ने बताए । उनले प्रभावित क्षेत्रका स्थानीयहरूलाई उद्योगहरूले रोजगार दिन सक्नुपर्ने बताए ।

समिति बैठकमा बोल्दै उद्योगी विष्णुकुमार न्यौपानेले स्पञ्ज आइरन प्रयोग गरेर उत्पादन भएका छड गुणस्तरहीन नभएको बताए । उनले स्पन्ज आइरन प्रयोग भएर उत्पादन भएका छड गुणस्तरहीन छन् भन्नु गलत भएको दाबी गरे । उनले बिलेट्स प्रयोग गरेर उत्पादन गरेको छड भन्दा उच्च गुणस्तर भएको पनि बताए ।

समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ । स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति बनाएर अवलोकन गर्ने भएको हो । फलामे छडको कच्चापदार्थका रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप