शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतीय सञ्चारमाध्यममा कुशल भुर्तेलको फिल्डिङको चर्चा

आइतबार, २० फागुन २०८०, १६ : १०
आइतबार, २० फागुन २०८०

काठमाडौँ । अघिल्ला दुबै खेलमा पराजित भएपछि नेपाली टोली घरेलु मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा दबाबमा परेको थियो । त्यसपछि प्रतियोगिताको फाइनलमा स्थान बनाउन नेपालसँग बाँकी दुबै खेल जित्नुको विकल्प थिएन ।

यस्तो कठिन परिस्थितिमा नेपालले शृंखलामा उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुबै खेलको नतिजालाई आफ्नो पक्षमा पा¥यो र फाइनलमा स्थान पक्का गर्ने पहिलो टोली पनि बन्यो । अब मंगलबार नेपालले नेदरल्यान्ड्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।

शृंखलाको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाली टोली दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गर्यो ।

फाइनलमा पुग्ने सम्भावना कामय राख्न नेपालले आफ्नो चौथो खेलमा नेदरल्यान्ड्सलाई पनि हराउनै पर्ने अवस्था थियो । भयो पनि त्यस्तै । नेपाली खेलाडीले हजारौँ घरेलु समर्थकको मन जित्दै आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।

उक्त खेलमा नेपाली खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे । टस जिती पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।

नेपाली बलर प्रतिस जिसीले तीन तथा करण केसी र कुशल मल्लले दुई–दुई विकेट लिए । दीपेन्द्र ऐरीले पनि एक विकेट हात पारे । त्यसअघिसम्म नेपालको रन रेट माइनस थियो । त्यसैले नेपालसँग विजयलक्ष्य १५१ ओभरमै पुरा गर्नुपर्ने दबाब थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमै विजयलक्ष्य पुरा गरेर एक खेलअगावै आफूलाई फाइनलमा उभ्यायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन र गुलसन झाले ३६ बलमा ३८ रन बनाए । खेलमा नेपालको फिल्डिङ पनि उत्कृष्ट थियो ।

खासगरी कुशल भुर्तेलको फिल्डिङले हजारौँ समर्थकको मन जित्यो । कुशल भुर्तेलको फिल्डिङको चर्चा अहिले छिमेकी राष्ट्र भारतका सञ्चारमाध्यमले पनि गरिरहेका छन् ।

नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई भिभियन किङ्गमालाई पेभेलियन फर्काउन कुशल भुर्तेलले महत्वपूर्ण योगदान गरेका थिए । उनको त्यही प्रदर्शनको अहिले विदेशी सञ्चारमाध्यममा पनि चर्चाको विषय बनेको हो । २० औँ ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले फालेको फुल–टस बलमा नेदरल्यान्ड्सका ब्याट्सम्यान रोल्फ भान डर मर्वेले लङ्–अनमा बाउन्ड्री प्रहार गर्ने प्रयास गरेका थिए । भान डर मर्वेको उक्त प्रहार सजिलै छक्कामा परिणत हुने निश्चित थियो ।

तर, काउन्ड्री नजिकै फिल्डिङ गरिरहेका कुशल भुर्तेलले हावमा उफ्रिएर त्यो बललाई समाउँदै पुनः बाउन्ड्री लाइनभित्रै फालिदिएका थिए । यसक्रममा कुशल भुर्तेल आफू भने बाउन्ड्री लाइनभन्दा बाहिर पुगेका थिए ।

त्यसपछि कुशल भुर्तेलले त्यो बल विकेटकिपर आसिफ शेखतर्फ फाले । त्यतिबेला किङ्गमा दोस्रो लिन दौडिएका थिए । तर, विकेटकिपर आसिफ शेखले कुनै गल्ती नगरी किङ्मालाई रन आउट गरे । त्यतिबेला किङ्गमा चार रन बनाएर खेलिरहेका थिए । किङ्गमा आउट भएसँगै डच टोलीको पाली एक सय २० रनमा समेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप