बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पहिलो टेस्टमा अस्ट्रेलियाले सजिलै हरायो न्युजिल्यान्डलाई

आइतबार, २० फागुन २०८०, ११ : ५१
आइतबार, २० फागुन २०८०

काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार भ्रमणकारी टोली अस्ट्रेलियाले न्युजिल्यान्डलाई एक सय ७२ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै अस्ट्रेलियाले दुई खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।

तीन सय ६९ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको घरेलु टोली न्युजिल्यान्ड चौथो दिन आइतबार केवल एक सय ९६ रनमा अलआउट भयो । दोस्रो पालीमा युवा खेलाडी रचिन रविन्द्र वाहेक न्युजिल्यान्डका अन्य ब्याट्सम्यान प्रभावकारी देखिएनन् ।

रचिनले अर्धशतक बनाए । उनले टोलीका लागि ५९ रनको योगदान गरे । उनले एक सय पाँच बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए । ड्याल मिचेलले टोलीको खातामा ३८ रन थपे । अन्य ब्याट्सम्यानको प्रदर्शन गतिलो रहेन ।

दोस्रो पालीमा अस्ट्रेलियन बलर नाथन लियोन एक्लैले ६ विकेट लिए । उनले २७ ओभरमा आठ मेडन राख्दै ६५ रन खर्चिए । उनकै घातक बलिङसामु किविज टोलीका ब्याट्सम्यान निरिह बनेका थिए । जस हेजलउडले पनि दुई विकेट हात पारे । ट्राभिस हेड र क्यामरुन ग्रिनले पनि एक–एक विकेट लिए ।

त्यसअघि अस्ट्रेलिया आफ्नो दोस्रो पालीमा एक सय ६४ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि नाथन लियोनले ४१,  क्यामरुन ग्रिनले ३४, ट्राभिस हेडले २९ र उस्मान ख्वाजाले २८ रन बनाएका थिए । न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले पाँच विकेट लिएका थिए । उनले १६ ओभरमा चार मेडन राख्दै ४५ रन खर्चिएका थिए । म्याट हेनरीले पनि तीन विकेट हात पारेका थिए । टिम साउथीले पनि दुई विकेट लिएका थिए ।

त्यसअघि न्युजिल्यान्ड आफ्नो पहिलो पालीमा केवल एक सय ७९ रन बनाउँदै अलआउट भएको थियो । आफ्ना ब्याट्सम्यानहरु खासै प्रभावकारी नदेखिएपछि अस्ट्रेलियासँग पहिलो पालीमा न्युजिल्यान्ड दुई सय चार रनले पछि परेको थियो ।

न्युजिल्यान्डका लागि पहिलो पालीमा ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान गरेका थिए । उनले ७० बलको सामना गरी १३ वटा चौका पनि हिर्काएका थिए । तल्लो क्रमका ब्याट्सम्यान म्याट हेनरीले पनि ४२ रन बनाए । उनले केवल ३४ बलमा चार छक्का र तीन चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डलले ३३ रन बनाए । ड्यारल मिचेल ११ रन बनाउँदै आउट भए ।

किविज टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका माथिल्लो क्रमका चार ब्याट्सम्यानले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।

घरेलु टोलीलाई सस्तोमा समेटन अस्ट्रेलियाका बलर नाथन लियोन एक्लैले चार विकेट लिए । उनले ८.१ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएका थिए । जस हेजलउडले पनि दुई विकेट हात पारे । मिचेल मार्स, प्याट कमिन्स र मिचेल स्टार्कले पनि एक–एक विकेट लिए ।

त्यसअघि पहिलो टेस्टमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले भने आफ्नो पहिलो पालीमा तीन सय ८३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले अविजित एक सय ७४ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले दुई सय ७५ बलको सामना गरी पाँच छक्का र २३ चौका हिर्काएका थिए ।

२४ वर्षीय ग्रिनले टेस्ट क्रिकेटमा बनाएको यो उच्च स्कोर हो । टेस्ट क्रिकेटमा यो उनको दोस्रो शतक पनि हो । ग्रिनले जस हेजलउडसँग दशौँ विकेटका लागि एक सय १६ रनको साझेदारी पनि गरे । अस्ट्रेलियन टेस्ट क्रिकेटमा अन्तिम विकेटका लागि यो कीर्तिमानी साझेदारीभित्र पर्छ ।

अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यानद्वय स्टिभन स्मिथ र उस्मान ख्वाजाले ६१ रनको साझेदारी गरेका थिए । स्मिथ ३१ रन बनाउँदै आउट भएका थिए । उनले ७१ बलमा चार चौका पनि प्रहार गरेका थिए । अर्का ओपनर ख्वाजाले पनि टोलीको खातामा ३३ रन थपेका थिए ।

अनुभवी खेलाडी मिचेल मार्स ४० रन बनाएर पेभेलियन फर्किएका थिए । किविज टोलीका बलर म्याट हेनरी एक्लैले चार विकेट लिएका थिए । विलियम ओ’रुर्क र स्कट कुगलाइनले पनि दुई–दुई विकेट हात पारेका थिए । रचिन रविन्द्रले पनि एक विकेट लिए । पहिलो टेस्टमा क्यामरुन ग्रिन प्लेयर अफ दी म्याच घोषित भए । पहिलो टेस्ट न्युजिल्यान्डको वेलिङ्टनमा खेलिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप