‘रुस–युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत’
भैरहवा । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् । आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताए ।
उनले भने, “अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्तराष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ ।” उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्याए । साथै त्यहाँ मारिएका नेपालीका आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयास पनि भइरहेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा मन्त्री साउदले विप्रेषण आयबाट मात्र देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नसकिने बताए । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वासको वातावरण बनाएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कोभिडअघिकै अवस्थामा अर्थतन्त्र पुगे पनि लक्षित उपलब्धि हासिल नभएकाले अर्थ व्यवस्थामा विश्वास जगाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगीहरूसँग सहकार्य गरी अघि बढ्न सरकार दृढ रहेको उनको भनाइ थियो ।
हाल उद्योग व्यवसाय औसत ३० प्रतिशतमा मात्र चलेको गुनासो गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुने वातावरण राज्यले बनाउनुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले लचिलो भएर व्यवसायीको मर्का बुझ्नुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न माग गरे । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकहरु थाइल्याण्ड, श्रीलङ्का, भियतनाम, कोरिया, जापान, चीनबाट थप हवाई उडान सञ्चालन गर्न कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन