बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

ब्याट्सम्यानहरु निरिह बनेपछि पहिलो पालीमा अस्ट्रेलियासँग २०४ रनले पछि पर्‍यो न्युजिल्यान्ड

शुक्रबार, १८ फागुन २०८०, १५ : ००
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार घरेलु टोली न्युजिल्यान्ड आफ्नो पहिलो पालीमा केवल एक सय ७९ रनमै अलआउट भएको छ । आफ्ना ब्याट्सम्यानहरु खासै प्रभावकारी नदेखिएपछि अस्ट्रेलियासँग पहिलो पालीमा न्युजिल्यान्ड दुई सय चार रनले पछि परेको छ ।

पहिलो टेस्टमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले भने आफ्नो पहिलो पालीमा तीन सय ८३ रन बनाएको थियो । न्युजिल्यान्डका लागि पहिलो पालीमा ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान गरे । उनले ७० बलको सामना गरी १३ वटा चौका पनि हिर्काए ।

तल्लो क्रमका ब्याट्सम्यान म्याट हेनरीले पनि ४२ रन बनाए । उनले केवल ३४ बलमा चार छक्का र तीन चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डलले ३३ रन बनाए । ड्यारल मिचेल ११ रन बनाउँदै आउट भए । किविज टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका माथिल्लो क्रमका चार ब्याट्सम्यानले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।

घरेलु टोलीलाई सस्तोमा समेटन अस्ट्रेलियाका बलर नाथन लियोन एक्लैले चार विकेट लिए । उनले ८.१ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएका थिए । जस हेजलउडले पनि दुई विकेट हात पारे । मिचेल मार्स, प्याट कमिन्स र मिचेल स्टार्कले पनि एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले अविजित एक सय ७४ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले दुई सय ७५ बलको सामना गरी पाँच छक्का र २३ चौका हिर्काएका थिए ।

२४ वर्षीय ग्रिनले टेस्ट क्रिकेटमा बनाएको यो उच्च स्कोर हो । टेस्ट क्रिकेटमा यो उनको दोस्रो शतक पनि हो । ग्रिनले जस हेजलउडसँग दशौँ विकेटका लागि एक सय १६ रनको साझेदारी पनि गरे । अस्ट्रेलियन टेस्ट क्रिकेटमा अन्तिम विकेटका लागि यो कीर्तिमानी साझेदारीभित्र पर्छ ।

अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यानद्वय स्टिभन स्मिथ र उस्मान ख्वाजाले ६१ रनको साझेदारी गरेका थिए । स्मिथ ३१ रन बनाउँदै आउट भए । उनले ७१ बलमा चार चौका पनि प्रहार गरे । अर्का ओपनर ख्वाजाले पनि टोलीको खातामा ३३ रन थपे । लामो समय क्रिजमा टिकेका उनले एक सय १८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी मिचेल मार्स ४० रन बनाएर पेभेलियन फर्किए । उनले ३९ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी १० र कप्तान प्याट कमिन्स १६ रन बनाउँदै आउट भए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाले अतिरिक्त रुपमा ४१ रन पायो । किविज टोलीका बलर म्याट हेनरी एक्लैले चार विकेट लिए । उनले २० ओभरमा सात मेडन राख्दै ४३ रन खर्चिए । विलियम ओ’रुर्क र स्कट कुगलाइनले पनि दुई–दुई विकेट हात पारे । रचिन रविन्द्रले एक विकेट लिए । पहिलो टेस्ट न्युजिल्यान्डको वेलिङ्टनमा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप