शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

भेटियो संसारको सबैभन्दा पुरानो लिपस्टिक

बिहीबार, १७ फागुन २०८०, १३ : ३४
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । हिजोआज हामीले मेकअपका अनेकौँ साधन देखेका छौँ, प्रयोग गरिरहेका छौँ । लिपस्टिकको मात्रै कुरा गर्ने हो भने पनि अनेकौँ खालका पाइन्छन् । तर प्राचीन समयमा मेकअप कस्तो हुन्थ्यो होला ? तिनको प्रयोग कसरी हुन्थ्यो भन्नेबारे हामीसँग निकै कम जानकारी छन् ।

यसबारे पुरातत्वविद्हरूले एउटा बलियो प्रमाण फेला पारेका छन् । पुरातत्वविद्हरुले विश्वको सबैभन्दा पुरानो दाबी गरिएको लिपस्टिक फेला पारेका छन् । यसलाई करिब ४ हजार वर्षअघिका महिलाहरूले प्रयोग गर्ने गरेको बताइएको छ । अनुसन्धानकर्ताहरूले इरानको जिरोफ्ट क्षेत्रमा गाढा रातो पेस्टको सानो सिसी फेला पारेका थिए । सबैभन्दा पहिला यसको पहिचान रातो बोतलको रूपमा मात्रै गरिएको थियो ।

तर अहिले आएर यो बोतल ४ हजार वर्ष पहिलेको लिपस्टिक भएको दाबी गरिएको छ । सन् २००१ मा हलिल नदीका कारण दक्षिण–पूर्वी इरानका धेरै भागमा बाढी आएको थियो । सोही बाढीमा धेरै पुराना चिहानहरूको अवशेष बगेका थिए । त्यसबेला मानिसहरूले ती चिहानमा व्यापक लुटपाट गरे । त्यही बेला एउटा चिहानबाट बगेर यो सिसी आएको स्मिथसोनियन म्यागेजिनमा छापिएको एउटा समाचारमा भनिएको छ ।

यसलाई पुरातत्वविद्हरुले जिरोफ्टको पुरातत्त्व सङ्ग्रहालयमा राखेका थिए । यो सिसी मरासी सभ्यताको अवशेष मानिएको थियो । मेसोपोटामियाको ऐतिहासिक प्रमाणमा यसको उल्लेख पाइएको छ । पुरातत्वविद्हरूले अनुसन्धान पश्चात् यसको विस्तृत विवरण दिएका छन् । उनीहरूका अनुसार यसलाई बनाउन हेमाटाइट, म्याङ्गनिज, ब्रुनाइट, ग्यालेना जस्ता रातो रंगको खनिजको प्रयोग गरिएको छ । यो लिपस्टिक हिजोआज प्रयोगमा आउने लिपस्टिकसँग निकै मिल्दोजुल्दो पाइएको छ ।

कहाँ र कहिले बनाइएको थियो यो प्राचीन लिपस्टिक ?

शीशीको पातलो आकार र मोटाई हेर्दा यसलाई सहजैसँग समातेर प्रयोग गर्न सकिने पुरातत्वविद्हरू बताउँछन् । लिपस्टिक कहिले र कहाँ बनाइएको थियो भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन । तर यसले प्राचीन इरानमा सौन्दर्य सामाग्रीहरूको पुरानो परम्पराबारे बताउने वैज्ञानिकहरूको विश्वास छ । यस क्षेत्रमा सोर्मेह नामक कालो धुलोबाट बनेको आइलाइनर पुरुष र महिला दुवैले व्यापक रूपमा प्रयोग गर्थे । त्यसबेलाका इरानीहरूले एक खालको विशेष पाउडरले आफ्नो गाला र आँखी भौँ सजाउने गर्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप