बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट : क्यामरुन ग्रिनको शतकले अस्ट्रेलियालाई राहत

बिहीबार, १७ फागुन २०८०, १२ : ०५
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । चौथो नम्बरका ब्याट्सम्यान क्यामरुन ग्रिनले आकर्षक शतकीय पाली खेलेपछि न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले केही राहत अनुभव गरेको छ ।

पहिलो टेस्टको पहिलो दिन बिहीबारको खेल सकिँदासम्म अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा नौ विकेट गुमाएर दुई सय ७९ रन बनाएको छ । अस्ट्रेलियाले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

२४ वर्षीय ग्रिन अविजित एक सय तीन रन बनाउँदै क्रिजमा छन् । एक सय ५५ बलको सामना गरेका ग्रिनले १६ वटा चौका पनि हिर्काएका छन् । टेस्ट क्रिकेटमा उनले बनाएको यो दोस्रो शतक हो ।

पहिलो दिनको खेल सकिँदा भ्रमणकारी टोली अस्ट्रेलियाका तल्लो क्रमका ब्याट्सम्यान जस हेजलउड शून्य रनमा अविजित छन् । पहिलो टेस्ट न्युजिल्यान्डको वेलिङ्टनमा भइरहेको छ ।

अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यानद्वय स्टिभन स्मिथ र उस्मान ख्वाजाले ६१ रनको साझेदारी गरेका थिए । स्मिथ ३१ रन बनाउँदै आउट भए । उनले ७१ बलमा चार चौका पनि प्रहार गरे ।

अर्का ओपनर ख्वाजाले पनि टोलीको खातामा ३३ रन थपे । लामो समय क्रिजमा टिकेका उनले एक सय १८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी मिचेल मार्स ४० रन बनाएर पेभेलियन फर्किए । उनले ३९ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी १० र कप्तान प्याट कमिन्स १६ रन बनाउँदै आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाले अतिरिक्त रूपमा ३० रन पायो ।

म्याट हेनरी एक्लैले चार विकेट लिए । उनले २० ओभरमा सात मेडन राख्दै ४३ रन खर्चिए । विलियम ओ’रुर्क र स्कट कुगलाइनले पनि दुई–दुई विकेट हात पारे । रचिन रवीन्द्रले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप