आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

एफए कपको १४३औँ संस्करण : क्वार्टरफाइनलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

बिहीबार, १७ फागुन २०८०, १० : ०७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । बुधबार राति पाँचौँ चरणको खेल सकिए लगत्तै एफए कपको तालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

बलियो लिभरपुल आफ्नो पछिल्लो खेलमा साउथएम्पटनलाई ३–० गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । म्यानचेस्टर युनाइटेड भने नटिङ्घम फरेष्टमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

म्यानचेस्टर युनाइटेड सबैभन्दा बढी एफए कपको उपाधि जित्ने क्लबहरुको सूचिमा दोस्रो स्थानमा आसिन छ । म्यानचेस्टर युनाइटेडले हालसम्म १२ पटक एफए कपको उपाधि चुमेको छ । सबैभन्दा बढी उपाधि जित्ने क्लब भने आर्सनल हो । आर्सलले १२ पटक एफए कपको उपाधि जितेको छ ।

म्यानचेस्टर युनाइटेडले सन् २०१६ पछि एफए कपको उपाधि जित्न सकेको छैन । लिभरपुलले भने हालसम्म आठ पटक एफए कपको उपाधि चुमेको छ । लिभरपुलले पछिल्लो पटक सन् २०२२ मा एफए कप जितेको थियो ।

अर्को प्रभावशाली टोली म्यानचेस्टर सिटीले भने क्वार्टरफाइनल खेलमा न्युक्यासल युनाइटेडको सामना गर्नेछ । म्यानचेस्टर सिटी लुटन टाउनलाई ६–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । न्युक्यासल भने ब्ल्याकबर्न रोभर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अगाडि बढेको हो ।

म्यानचेस्टर सिटीले हालसम्म सातपटक एफए कपको उपाधि जितेको छ । म्यानचेस्टर सिटीले पछिल्लो पटक सन् २०२३ मा उपाधि चुमेको थियो । न्युक्यासलले भने हालसम्म ६ पटक एफए कपको उपाधि जितेको छ । न्युक्यासलले पछिल्लो पटक सन् १९५५ मा एफए कपको उपाधि हात पारेको थियो ।

यसैगरी चेल्सीले क्वार्टरफाइनलमा लेस्टर सिटीको सामना गर्नेछ । चेल्सी अघिल्लो चरणको खेलमा लिड्स युनाइटेडलाई ३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । लेस्टर सिटीले भने अघिल्लो चरणको खेलमा बर्नमाउथमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।

चेल्सीले हालसम्म आठ पटक एफए कपको उपाधि जितिसकेको छ । पछिल्लो पटक चेल्सीले सन् २०१८ मा एफए कपको उपाधि चुमेको थियो । लेस्टर सिटीले भने हालसम्म एफए कपको उपाधि जित्न सकेको छैन । लेस्ट सिटी चारपटक उपविजेता भने बनेको छ ।

यसैगरी प्रतियोगिताको अर्को क्वार्टरफाइनल खेल कोभेन्ट्री सिटी र उल्भरएम्पटन वन्डरर्सबिच हुनेछ । कोभेन्ट्री सिटी मेडस्टोन युनाइटेडलाई ५–० गोलले हराउँदै अगाडि बढेको हो । उल्भरएम्पटनले भने अघिल्लो चरणको खेलमा ब्राइटनमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो ।

कोभेन्ट्री सिटीले हालसम्म एफए कपको उपाधि जित्न सकेको छैन । कोभेन्ट्री सिटी प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको छैन । उल्भरएम्पटनले हालसम्म चारपटक एफए कपको उपाधि चुमेको छ । पछिल्लो पटक उल्भरएम्पटनले सन् १९५८ मा एफए कप जितेको थियो ।

प्रतियोगिताको क्वार्टरफाइनल खेल मार्च १६ तारिखमा खेलिने छ । एफए कप विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक हो । अहिले एफए कपको १४३औँ संस्करण चलिरहेको छ । यो प्रतियोगिता इङ्लिस फुटबल एसोसिएसन च्यालेन्ज कपको नामबाट पनि चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप