बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय बाल नाटक मेला फागुन १८ गतेदेखि

बुधबार, १६ फागुन २०८०, १९ : ३१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोस्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरू मध्ये उत्कृष्ट नाटकहरू छनौट गरी फाइनल चरणका नाटकहरू छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोस्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आव्हान गरी नाटकहरू माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौँ,’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो ।

मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरूले नाटक मञ्चन गर्नेछन् । नाटक मञ्चनको निर्णायकहरूमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिशृङ्खला ‘अविरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन् । फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघका महासचिव जे.बी. डिसीले जनाए ।  

निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थान सँगको सहकार्यमा हुन गइरहेको बाल नाटक मेलाको प्रायोजकमा सुजल फुड र नेपाल टेलिकम रहेका छन् । आलिसान फर्निचर, क्याम्ब्रिज काठमाडौँ, नेपाल मेडिकल कलेज, फरवार्ड नेपाल, सह–प्रायोजक रहेको कार्यक्रमलाई नेपाल एयरलायन्स, एभरेष्ट बैंक, वाईबी सलुसन प्रा.लि. र नेपाल आयल निगमको समेत सहयोग रहेको छ ।

प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैंया, ट्रफी, प्रमाण–पत्र दिइने छ भने विजयी नाटकलाई अन्तर्राष्ट्रियकरण प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । प्रतियोगितामा ११ वटा शीर्षकमा उत्कृष्ट प्रतियोगीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने छ ।

कार्यक्रम स्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ । कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुरसँगै देशका विभिन्न विद्यालयका बालबालिकाहरू, शिक्षक, अभिभावकको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप