कांग्रेसले आगामी बैठकबाट उपनिर्वाचनको उम्मेदवार टुंग्याउने
काठमाडौँ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१)को उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ ।
त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘अहिले पार्टीमा उपचुनावको विषय औपचारिक रूपमा प्रवेश गरेको छैन । आगामी केन्द्रीय समितिमा उपचुनावबारे छलफल हुन्छ । केन्द्रीय समितिले टिकटको पनि टुंगो लगाउँछ ।’
एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ ।
सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो । इलाम - २ मा कांग्रेसबाट जिल्ला सभापति डम्बरबहादुर खड्का मुख्य दाबेदार हुन् । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए ।
कांग्रेसबाट खड्काका साथै नेताद्वय केशव थापा र भेषराज आचार्यबिच उम्मेदवार बन्न तीव्र प्रतिस्पर्धा छ । यस्तै बझाङ प्रदेश (१)मा कांग्रेसबाट सिंहका छोरा अभिषेक, केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, काँग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी, गायक नन्दकृष्ण जोशी, जगत् जोशी र विष्णु ऐडीले आकांक्षा राखेका छन् ।
यसअघिको निर्वाचनमा इलाम-२ र बझाङ प्रदेश (१) गठबन्धनबाट कांग्रेसका उम्मेदवार थिए । उपनिर्वाचनमा पनि दुवै ठाउँका काँग्रेस आफ्नै उम्मेदवार खडा गर्ने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल