आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

नेदरल्यान्ड्सलाई हराउन नेपालले १८५ रन बनाउनुपर्ने

बुधबार, १६ फागुन २०८०, १३ : ०५
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधबार जारी खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । 

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लिभेटले अर्धशतकीय पाली खेले । उनले ५४ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि टोलीको खातामा अविजित ४९ रन थपे । उनले केवल ३८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । 

नेदरल्यान्ड्सले अतिरिक्त रूपमा १३ रन पायो । कप्तान स्कट एडवार्डसले ३३ रन बटुले । तेजा निदामानुरुले पनि टोलीको खातामा ३१ रन थपे । नेपाली टोलीका बलर करण केसी र कुशल मल्लले एक(एक विकेट लिए । 

पहिलो विकेटका रूपमा नेदरल्यान्ड्सले ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई चारको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट नेपाली बलर करण केसीले लिएका थिए । करणले उनलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । २.१ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले १५ रन बनाएको थियो । 

नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै केवल ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाएका थिए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले तेस्रो विकेटका रूपमा स्कट एडवार्डसलाई गुमाएको थियो । टोलीको कप्तानसमेत रहेका स्कट १६ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले उपलब्ध गराएको बलमा उनलाई विकेटकिपर आसिफ शेखले रन आउट गराएका थिए । १३औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेदरल्यान्डले एक सय २३ रन बनाएको थियो ।  

नेदरल्यान्ड्सले चौथो विकेटका रूपमा तेजा निदामानुरुलाई गुमाएको थियो । उनी रन आउट हुँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले केवल २४ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाएका थिए । उनलाई सन्दीप जोराखले उपलब्ध गराएको बलमा विकेटकिपर आसिफ शेखले रन आउट गरेका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप