सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘त्रिपाठी’ चरित्रमा प्रमोद

बुधबार, १६ फागुन २०८०, १२ : ४७
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । प्रमोद अग्रहरी अभिनयमा खारिएका कलाकार हुन् । उनी जुन फिल्ममा जे भुमिका निर्वाह गर्छन् । त्यसको चर्चा हुने गर्छ । उनी भूमिका अनुसारको गेटअपमा समेत माहिर छन् । त्यसैले पनि फिल्म क्षेत्रमा उनलाई प्रतिभाशाली कलाकारको सूचीमा राख्ने गरिन्छ ।

प्रमोद अहिले फिल्म ‘अगस्त्य’ : च्याप्टर १’ को कारण चर्चामा छन् । अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्ममा उनले ‘त्रिपाठी’ नामक भिलेन चरित्र निर्वाह गरेका छन् । जसको लुक्सले दर्शकलाई लोभ्याउन सफल भएको छ । फिल्मको ट्रेलरमा उनले यो लुक्समा ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ संवाद बोलेका छन् । जुन दर्शकले रुचाएका छन् । फिल्ममा रहेको आफ्नो ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै भएको प्रमोदले बताए । 

‘‘त्रिपाठी’ को अन्डरमा सबै कुरो छ । उसको आफ्नै सञ्जाल छ र उसको इसारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन’ उनले भने– ‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने हो ।’ हरेक फिल्ममा आफ्नो चरित्र फरक परिवेश र फरक शैलीको हुने उनले सुनाए ।

फिल्मको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोद पनि मधेशकै हो । आफूले देखेको भोगेको चरित्र फिल्ममा गरेको उनले बताए । प्रमोदले ‘त्रिपाठी’ क्यारेक्टरका लागि राम्रै तयारी गर्नुपरेको रहेछ । ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनुभन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफूल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । ‘आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो’, प्रमोदले थपे ।

आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जाल होस् या युट्युबमा आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने क्यारेक्टर भनेको हाम्रै वरपर समाजमा देखिने क्यारेक्टर नै हुन्’, उनी भन्छन् ।

प्रमोदको अनुभवमा फिल्मको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्ला ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि । मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । अगस्त्य च्याप्टर १ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै महसुस गर्ने उनले सुनाए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप