बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

फोहोर व्यवस्थापनको एकमात्र विकल्प सार्वजनिक निजी साझेदारी मोडल होः विज्ञहरु

बुधबार, १६ फागुन २०८०, १० : २६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । मुलुकमा बढ्दो शहरीकरणसँगै काठमाडौं उपत्यकादेखि बाहिरी जिल्लाहरुमा समेत फोहोर व्यवस्थापन प्रमुख चुनौति बन्दै गएको छ । पछिल्लो समय प्रत्येक स्थानीय तहहरुलाई सबैभन्दा ठूलो चुनौति फोहोरमैलाको व्यवस्थापन बन्न थालेको छ । गाउँपालिकादेखि नगरपालिका र महानगरपालिकाहरुमा प्रमुख चुनौति के हो भन्यो भने गाउँपालिका प्रमुख देखि महानगरका प्रमुखको पहिलो जवाफ ‘फोहोरमैला व्यवस्थापन’ भन्ने सुनिन्छ ।

यसरी हेर्दा देशभरका सबै स्थानीय तहमा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतिका रुपमा देखिएको छ । स्थानीय तहहरुको सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको छ । तर वैज्ञानिक र दीर्घकालिन भने भएको देखिँदैन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा भयावह समस्या छ । काठमाडौं उपत्यकाका नगरपालिका र महानगरपालिकाका मेयरहरुको प्रमुख प्राथमिकता र योजना नै फोहोर व्यवस्थापन रहेको छ । तर पनि समय–समयमा फोहोरको समस्या विकराल बन्ने गर्दछ । मुख्य त काठमाडौं महानगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न ठूलो चुनौति देखिएको छ ।

काठमाडौं महानगर लगायत उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहहरुले मात्रै नभएर संघीय सरकारले पनि साथ दिनुपर्ने उपत्यकाका स्थानीय तहहरुको माग छ । मुलुक संघीय संरचनामा गएसँगै फोहोर व्यवस्थापन स्थानीय तहहरु आफैँले गर्नुपर्ने प्रावधान छ । तर काठमाडौं उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापनको लागि बजेट र अन्य पूर्वाधार छैन । सरकारले आवश्यक कानूनी व्यवस्था गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा सहभागिता गराउन नसक्दा अहिलेको विकराल अवस्था आएको देखिन्छ । सरकारले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन निजी साझेदारीमा जाने तयारी गरेपनि १५ वर्षदेखि निर्णय हुन सकेको छैन ।

उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रलाई सहभागि गराउन नसक्दा १५ वर्षदेखि फोहोर व्यवस्थापन अलपत्र अवस्थामा छ । काठमाडौं उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापन गर्नेको लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुको विकल्प नदेखिएको विज्ञहरु बताउँछन् । ‘१५ वर्षअघि शुरुवात गरिएको  निजी क्षेत्रसँग विस्तृत परियोजना विकासका लागि प्रश्ताव अघि बढेको भए अहिलेको फोहोर व्यवस्थापनको विकराल अवस्था आउने थिएन ।’ भन्ने विज्ञहरुको भनाई छ । फोहोर व्यवस्थापन सार्वजनिक निजी साझेदारी मोडलमा जाने विषय अहिले काठमाडौ महानगर लगायतका लागि अवसर हुने विज्ञहरुले बताए ।

१५ वर्षसम्म निजी क्षेत्रसँग साझेदारी नहुँदा फोहोर व्यवस्थापन अलपत्र
पूर्वाधार विज्ञ आशिष गजुरेलले २०६६ सालमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको लागि निजी क्षेत्रसँग विस्तृत परियोजना विकासका लागि प्रश्ताव अहिलेसम्म कार्यान्वय नहुँदा फोहोर व्यवस्थापनमा चुनौति बढ्दै गएको दाबी गरे । गजुरेलले लगानी बोर्डले फोहोरमैला व्यवस्थापनको लागि ग्लोवल बोलपत्र आह्वान गरेर कम्पनी छनोट कार्य अघि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको बताए ।

उनले संघीय सरकारले ठूला आयोजना विकास, निर्माण तथा सञ्चालनमा निजी क्षेत्रकोे क्षमता र साधनको परिचालन गरी नागरिक सेवालाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउने अभिप्रायले निजी साझोदारी अवधारणा आएको बताए । उनले विश्वका विकसित देशहरुमा समेत फोहोर व्यवस्थापन मात्रै नभएर ठूला परियोजनाहरुमा निजी साझोदारी अवधारणाले सफलता पाएको बताए ।

विज्ञ गजुरेलले मुलुकमा संघीय व्यवस्था लागू भएसँगै संघीय सरकारले गरिरहेको काम स्थानीय तहमा पठाउने र स्थानीय तहले संघीय सरकारमा पठाउने निर्णय लगानी बोर्डमार्फत यो परियोजना अगाडि बढे पनि अहिलेसम्म कार्यान्वयन नहुँदा फोहोर व्यवस्थापन चुनौति बन्दै गएको उल्लेख गरे ।

उनले लगानी बोर्डको २०७३ वैशाख १५ गतेको बैठकले काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न प्रतिष्पर्धाको आधारमा प्याकेज–१ का लागि नेपवेष्ट र प्याकेज–२ र ३ का क्लिन भ्याली कम्पनीले पेश गरेको डिपिआर स्वीकृत गर्ने निर्णय गरेको बताए ।

उनले सरकारको ऐन नियमअनुसार प्रतिष्पर्धामा भाग लिएर छनोट भएको कम्पनीसँग परियोजना विकास सम्झौता हस्ताक्षर गरेर निजी क्षेत्रलाई ल्याउने पर्ने भएपनि अहिलेसम्म काम हुन नसकेको बताए ।

उनले संघीयता लागू भएसँगै संघीय सरकारबाट स्थानीय तहलाई फोहोर व्यवस्थापनको जिम्मा दिएपनि स्थानीय तहको यस्तो खालको विज्ञता पनि नभएको स्थितिमा संघीय सरकारलाई पठाउने काम भएको बताए । उनले परियोजना विकास सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कुरामा भने संघीय सरकार र स्थानीय सरकार दुवैले प्राथमिकतामा राख्न नसक्दा १५ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अलपत्र र विकराल बन्दै गएको दाबी गरे ।

उनले स्थानीय निकायले निजी क्षेत्रको क्षमता,लगानी प्रयोग गरी प्रुमख दायित्व फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन निजी क्षेत्रमार्फत गर्ने अवसर अहिले रहेको बताए ।

वातावरण विज्ञ अल्का सापकोटाले सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारीमा काम गर्नेगरी निर्णय गर्न सक्नुपर्ने दाबी गरिन् । उनले सरकारले १५ वर्षअघि सारेको सार्वजनिक निजी साझेदारी अवधारणा अहिले सम्म कार्यान्वयन गर्न नसक्दा चुनौति बढ्दै गएको संकेत गरिन् ।

विज्ञ सापकोटाले फोहोर व्यवस्थापनको लागि छनोट गरेका कम्पनीहरुलाई काम गर्ने दिनेगरी निर्णय गर्न ढिलाई गर्न नहुने बताइन् । उनले फोहोर व्यवस्थापन निजी क्षेत्रको साझेदारीमा गर्दा विगतदेखि त्यही क्षेत्रमा काम गरिरहेका र पछिल्लो समय सामाजिक रुपमा उठेका मुद्दाहरुलाई सोचेर निर्णय गर्न आवश्यक रहेको बताइन् । सापकोटाले अझै सरकारले फोहोर व्यवस्थापन गर्ने विषयमा निजी साझेदारीमा गर्ने निर्णय नगरे थप विकराल अवस्था आउने जिकिर गरिन् ।

सापकोटाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन निजी साझेदारीलाई दिएर सरकार चुप लागेर बस्ने भन्दा पनि नियमन र अनुगमन गरी प्रभावकारी व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताइन् । उनले निजी साझेदारीमा फोहोर व्यवस्थापनमा जाँदा स्थानीय तह,संघीय सरकार र निजी क्षेत्रको काम स्पष्ट रुपमा छुट्याएर सम्झौता गर्नुपर्नेमा जोड दिइन् ।

पुरानो सम्झौतालाई निरन्तरता
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि भएको प्रारम्भिक परियोजना विकास सम्झौता (पीडिए) नै निरन्तरता दिन आवश्यक छ । काठमाडौं महानगरपालिकासहितका १० वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि २०७४ फागुन २३ मा लगानी बोर्डको कार्यालय र नेपवेष्टबीच भएको प्रारम्भिक परियोजना विकास सम्झौता (पीडिए) मा नै निरन्तरता दिएर वर्तमान प्रविधि र टेक्नोलोजी सहितको योजना परिमार्जन गर्न लगाएर काम अगाडि बढाउन सक्नुपर्ने पूर्वाधार विज्ञ गुजरेलले बताए ।

उनले तीन वटै प्याकेजको फोहोर व्यवस्थापन निजी साझेदारी मोडलमा गर्न कम्पनी छनोट भएकाले नयाँ टेण्डर प्रक्रियामा जाँदा समस्या आउनसक्ने भन्दै पुरानो सम्झौतालाई निरन्तरता दिएर जानु उत्तम हुने बताए । 

उनले फोहोर व्यवस्थापनको लागि सरकारी ऐन, कानूनअनुसार कम्पनी छनोट भएकाले कम्पनीको लामोसमय र लगानी भएको बतए । उनले काठमाडौं महानगरपालिकाको शिक्षा,फोहोरमैला व्यवस्थापन,यातायात लगायत क्षेत्रहरु रहेको र सिमित स्रोत र साधनले सबै कुरा व्यवस्थापन गर्न समस्या हुने दाबी गरे ।

विज्ञ गजुरेलले टेण्डरमा आवश्यक फेरबदल गरेर वैज्ञानिक हिसावमा सम्झौता गर्नेगरी गहन छलफल र अध्ययन सहित सम्झौतामा हस्ताक्षर गर्नु आवश्यक रहेको बताए । उनले फोहोर व्यवस्थापन नियमनको लागि स्थानीय तहलाई दिएर काम गर्नको विकल्प नभएको औंल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप