सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको विकास सम्भव’

मङ्गलबार, १५ फागुन २०८०, १८ : ५०
मङ्गलबार, १५ फागुन २०८०

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकार र निजी क्षेत्रबिचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य जरुरी रहेको बताएका हुन् ।

 सरकार र निजी क्षेत्रबिचको सहकार्य प्रभावकारी नभएकै कारण सोचेजस्तो देशको विकास हुन नसकेको उनको भनाइ थियो । देशको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको उनको भनाई थियो । देशको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहँदै आएको बताउँदै मेयर कोइरालाले भने, ‘कूल ५३ खर्ब ८१ अर्ब बराबरको अर्थतन्त्र रहेको नेपालमा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब बराबर रहेको छ । यसले पनि देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान निकै महत्त्वपूर्ण रहेको देखिन्छ । त्यस्तै साढे ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको छ ।’

यसैगरी बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोगविहीन रहेको बताए ।

uddo (2)

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्रबिचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने विचार व्यक्त गरे । उनले मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रमा उत्पादनमूलक उद्योगको विकासका लागि एक अर्को स्थानीय तह र निजी क्षेत्रका बिचमा सहकार्य गर्न सकिने क्षेत्र (कच्चा पदार्थ, दक्ष श्रम शक्तिको आपूर्ति, प्रशोधन, आन्तरिक र बाह्य बजार विस्तार, उत्पादनको प्रतिस्पर्धी क्षमता विकास) कृषिलाई उद्योग, व्यापार र पर्यटनसँग जोडेर मूल्य शृङ्खला विस्तार मूल्य अभिवृद्धिमा सबै तहका सरकार र निजी क्षेत्रका बिच सहकार्य बढाउन सक्ने बताए । 

उनले उद्योगको विकास र वातावरण संरक्षणका सवालमा स्थानीय र प्रदेश सरकार र निजी क्षेत्रका बिचको बुझाइमा समानता ल्याउन सबै पक्षको दायित्व रहेको बताउँदै कोशी प्रदेशमा उद्योग, कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भए पनि त्यसलाई आर्थिक विकासको अवसरमा बदल्न नसकिएकोले स्थानीय सरकारको अग्रसरतामा सबै तहका सरकार र निजी क्षेत्रले मिलेर कार्य गर्नुपर्ने बताए । 

कार्यक्रममा महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ, साना तथा मझौला व्यवसायी संघका अध्यक्ष गोपालबहादुर पराजुलीलगायतले सहकार्यमा जोड दिएका थिए । उनीहरूले उद्योग व्यवसाय क्षेत्रमा स्थानीय स्तरमा आइपर्ने समस्या स्थानीय सरकारले नै समाधान गर्नु आवश्यक रहेको औँल्याएका थिए । 

द एसिया फउण्डेशन र कम्युनिटी इन्गेजमेन्ट्स् एन्ड आउटिरिचको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरू लगायत पाँच दर्जन उद्योगी व्यवसायीहरूको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप