आइतबार, २४ चैत २०८१
ताजा लोकप्रिय
सम्झना

नेपाली सङ्गीत क्षेत्रको सम्झनामा भजन शिरोमणि आचार्य

मङ्गलबार, १५ फागुन २०८०, १५ : ५९
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य हामीबाट सदाका लागि बिदा भएका छन् । उनको महाप्रस्थानले नेपाली सङ्गीत क्षेत्र स्तब्ध बनेको छ ।

‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’ लगायत थुप्रै कालजयी गीत दिएका आचार्यले सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा अन्तिम सास लिए ।

१९९९ असोज १६ गते धनकुटामा बलभद्र आचार्य र रेणु आचार्यका सुपुत्रका रूपमा जन्मिएका आचार्यले ८२ वर्षको उमेरमा यो संसारबाट बिदा लिए । स्वर्गीय स्वरसम्राट नारायणगोपालका समकालीन समेत रहेका आचार्य भौतिक रुपमा हामी माझ नरहे पनि नेपाली साङ्गीतिक आकाशमा उनले छाडेका थुप्रै कालजयी गीत छन्, जुन युगौँयुगसम्म गुन्जिरहने छ ।

डेढ वर्षको उमेरमा महामारीका कारण बुबा गुमाएपछि करिब तीन दशक आमासँगै भारतको दार्जिलिङस्थित डुवर्समा बिताएका आचार्यले २०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए ।

स्वर परीक्षा पास गरेको दश वर्ष अर्थात् २०३० सालमा रेडियो नेपालको देशव्यापी गीत प्रतियोगितामा प्रथम भइ उनले स्वर्णपदक हात पारेका थिए । योसँगै आचार्यको साङ्गीतिक यात्रा अघि बढेको थियो ।

रेडियो नेपालमा करारको जागिर खाएका उनी सुब्बा हुँदै अधिकृत भए । अधिकृत भएको करिब ११ वर्षपछि उनले राजीनामा दिएका थिए ।

२०४६ साल मंसिर १९ गते गुलाम अलीलाई भेटेर फर्कने क्रममा राजधानीको बौद्धमा उनीमाथि सांघातिक आक्रमण भयो । उक्त आक्रमणमा उनको टाउकोमा थुप्रै टाँका लगाउनु परेको थियो । नेपाली सङ्गीतमा उचाइ चुमिरहेको बेला २०५० सालमा क्यान्सरका कारण उनको जिब्रो काट्नु प¥यो । त्यसपछि उनको साङ्गीतिक यात्रामा बिराम लागेको थियो ।

आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । उनको जीवनीमा आधारित रहेर फिल्म ‘आचार्य’ समेत निर्माण भएको थियो । सन् २०११ मा रिलिज भएको फिल्ममा उनका जीवन संघर्ष, भोगाइ र सफलताको कथा समेटिएको थियो । फिल्ममा उनकै जेठा छोरा सत्यराजले उनको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शकले रुचाएका थिए ।

आचार्यलाई नजिकबाट चिन्ने, संगत गर्ने साङ्गीतिक क्षेत्रका व्यक्तिहरु उनलाई सुर सम्राट, सुरका राजाको रुपमा सम्झिन्छन् ।

  • सुर के हो भन्ने ज्ञान दिनुभयो

शम्भुजित बास्कोटा (सङ्गीतकार)

भक्तराज आचार्य दाइको निधनले म ज्यादै दुःखी छु । नेपालमा गीत सङ्गीतमा सुर के हो भन्ने कुराको ज्ञान उहाँले सिकाउनु भएको हो । मेरो उहाँसँग पहिलो भेट २०३१ सालमा रेडियो नेपालमा भएको थियो । रेडियोमा हामीले सँगै काम पनि ग¥यौँ, प्रसिद्धी पनि कमायौँ । उहाँसँगको उठबसको क्षण अहिले झल्झली याद आइरहेको छ । अहिले म उहाँको निधनको पीडामा धेरै बोल्न सक्ने पक्षमा छैन । उहाँले ‘हिँड्दा हिँड्दै’ बोलको मेरो एउटा गीत गाउनु भएको छ । भक्तराज आचार्यलाई नेपाली सुर सम्राट भनेर भन्नुपर्छ । उहाँले भजन शिरोमणि भनेर पनि टाइटल पाउनु भएको छ । त्यो पनि ठिक छ । पछिल्लो समय गत महिना एक कार्यक्रममा उहाँसँग भेट भएको थियो ।

  • सुरका महाराजा

चेतन सापकोटा (सङ्गीतकार)

मलाई काठमाडौँ ल्याउन प्रेरित गर्ने सुमधुर आवाजमध्ये भक्तराज आचार्यको पनि हो । उहाँको टाठिलो स्वरले मलाई ‘तँ पनि यत्तिको गाउन सक्छस्’ भनेर झकझक्याएको हो ।

अमर स्वरका धनी हो उहाँ । रेडियो नेपालमा आफ्नो जिन्दगी अपर्ण गरेको व्यक्तित्व हो उहाँ । भीषण प्रतिभा, शब्द उच्चारण धेरै राम्रो । उहाँजस्तो शब्द उच्चारण गरेर गाउने व्यक्ति नेपालमा कोही छैन । कहिले काहीँ कार्यक्रममा भेट हुन्थ्यो । मैले कार्यक्रममा उहाँलाई छुन पाउँदा गर्व महसुस गरेँ । उहाँले मलाई सङ्गीत राम्रो गर्नु हुन्छ तर गीत गाउँदा शब्दको उच्चारणमा ख्याल गर्नु भनेर सुझाउनु हुन्थ्यो । धेरै पहिले क्यान्सरको कारण उहाँले जिब्रो गुमाउनु भएकाले उहाँसँगै काम गर्न अवसर मिलेन । सुरका राजा हो उहाँ । भारतीय गायक गुलाम अलीले पनि उहाँको सुरको तारिफ गर्दै ‘सुरका महाराज’ भन्नु भएको थियो । उहाँको जति सुर लाग्ने गायक नेपालमा अहिलेसम्म छैन ।

  • उहाँ सुर सम्राट हो

सुरेश अधिकारी (सङ्गीतकार)

भक्तराज आचार्यलाई सम्झनुपर्ने आयाम धेरै छन् । नेपाली साङ्गीतिक जगतले युगौँसम्म याद राख्ने एउटा नाम हो भक्तराज आचार्य । उहाँको योगदान अतुलनीय छ । उहाँको गायनमा जुन मौलिकता, स्तरीयता र खारिएको आवाज पाइन्छ, नेपालले कदर गर्न नसकेको एउटा इतिहास हो ।

मैले उहाँलाई रेडियो नेपालमै २०४४ तिर पहिलो पटक भेटेको हो । अग्रज भएका कारणले सङ्गत धेरै भएन । जति भयो अविस्मरणीय भयो । मैले उहाँसँग काम गर्न पाइनँ । उहाँले आफूलाई कहिल्यै व्यवसायी बनाउनु भएन । त्यसकारण पनि उहाँसँग काम गर्ने अवसर मिलेन । उहाँको गीतसङ्गीतले नेपाली सङ्गीतलाई धेरै धनी गराएको छ ।

  • सुरका राजा हुन्

आलोकश्री (सङ्गीतकार)

भक्तराज आचार्य दाइसँग व्यक्तिगत रुपमा सङ्गत भएन । उहाँको छोराहरुसँग काम गरेँ । उनीहरुको पहिलो एल्बम मैले गरेँ । भक्तराज दाइसँग कार्यक्रममा भेटघाट हुन्थ्यो । व्यक्तिगत रुपमा सङ्गत गर्ने अवसर मिलेन ।

उहाँ एकदमै राम्रो सङ्गीतकार हो । उहाँबाट सबैले सिक्नु पर्ने एउटा कुरो छ– शुद्ध शब्द उच्चारण । उहाँ सुर सम्राट पनि हो । उहाँलाई सुरको राजा भन्दा पनि फरक पर्दैन । साङ्गीतिक क्षेत्रमा उहाँले शिखर गीतहरु दिएर जानु भएको छ ।

  • एउटा विश्वविद्यालय

लक्ष्मण शेष (सङ्गीतकार) 

Laxman-Shesh

अजर, अमर स्रष्टाको रुपमा सम्झन्छु म भक्तराज आचार्यलाई । आमाको काखमा बसेर उहाँको गीत रेडियोबाट सुन्दै हुर्किएको हो म । उहाँ नेपाली गीतसङ्गीतको एउटा विश्वविद्यालय हो । हाम्रालागि उहाँ काव्य, महाकाव्य पनि हो ।

पछिल्लो समय हाम्रो घर सँगसँगै थियो । बिहानै उहाँको दर्शन मिल्दा आफूलाई भाग्यमानी ठान्थेँ । एउटा महान् प्रतिभाको अन्त्य भयो । गत दसैँमा उहाँको तर्फबाट टीका ग्रहण गर्न पाएको थिएँ । म आफूलाई भाग्यमानी भन्छु । सँगै काम गर्ने अवसर त मिलेन, उहाँको उपदेश भने सुन्न पाएको छु । मैले रोयल्टीको विषयमा गरेको संघर्ष उहाँलाई जानकारी भएछ । त्यो समय यो काम नछोड्न आशिर्वाद पनि दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप