‘बैंकहरू मिटरब्याजी होइनन्, डुब्दैनन् र डुब्न दिइनेछैन’
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि चौतर्फी प्रहार भइरहेको छ । ऋणीहरूले ऋण मिनाहाको आन्दोलन चर्काइरहेका बेला यता बैंकविरुद्ध नै धावा बोल्ने घटनाहरू शुरु भएका छन् । र, यसको मुख्य निशानामा परेको छ, ‘एनआईसी एसिया बैंक’ ।
पछिल्ला केही दिन यता एनआईसी एसिया बैंक विरुद्ध ‘ब्याक टू ब्याक’ गलत प्रचार भइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उचालेको बैंक विरुद्धको माहौलमा थप केही मिडियाहरूले बलेको आगोमा घ्यू थप्ने काम गरे ।
यसले सेवाग्राही (निक्षेपकर्ताहरू) मा पनि कतै बैंक डुबी पो हाल्छ कि भन्ने त्रास पैदा देखिन्छ । सोही हल्ला र त्रासकाबिच बैंकबाट कम्तीमा २७ अर्ब रुपैयाँ निक्षेप झिकिएको रिपोर्ट आएको छ ।
‘अहिलेसम्म बैंकबाट कम्तीमा २७ अर्ब रुपैयाँ निक्षेप वीथ ड्र भयो होला । तर, सीडी रेसियोको व्यवस्थाले बैंकलाई बचायो,’ गभर्नर अधिकारीले भने ।
केन्द्रीय बैंकको नयाँ व्यवस्था ९० प्रतिशतको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) को नयाँ व्यवस्थाले बैंकलाई बचाए पनि बैंकहरूमाथिको गलत प्रचार प्रसार मान्य नहुने गभर्नर अधिकारीले बताए ।
- ‘बैंकहरू मिटरब्याजी होइनन्’
पछिल्लो पटक एनआईसी एसिया बैंकको वित्तीय रिपोर्टलाई नै लिएर बैंकमाथि लगातार प्रहार भइरहेको छ । समग्रमा वाणिज्य बैंकहरूको औसत एनपीएल (खराब कर्जाको दर) ३.४० प्रतिशत रहेपनि खुद एनपीएल १.१३ प्रतिशत मात्र छ । यस्तो अवस्थामा बैंकको खराब कर्जाको स्थितिलाई लिएर भएको अनर्गल प्रचारलाई नेपाल बैंकर्स संघले खण्डन गरेको छ ।
‘बैंकहरूको वित्तीय स्थिति खराब छैन । कुनै एउटा पार्टिकुलर सूचकलाई मात्र हेरेर बैंकमाथि गलत धारणा बनाउन मिल्दैन’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने ।
थप पछिल्लो पटक जिम्मेवार व्यक्तिहरूबाटै ‘बैंकहरू मिटरब्याजी हुन्’ भन्ने जस्ता आपत्तिजनक अभिव्यक्ति आएको प्रति आक्रोशित हुँदै गभर्नर अधिकारीले सो प्रमाणित गर्न चुनौती दिए ।
‘बैंकहरू साहु भए, महाराजा भए, वित्तीय अराजकता बढ्यो, बैंकहरू मिटरब्याजी भए भन्ने जस्ता गलत अभिव्यक्तिहरू जिम्मेवार व्यक्तिहरूबाट आइरहेको म सुन्छु । गभर्नरको हैसियतले मैले तथ्याङ्क हेरिरहेको हुन्छु, तर म त्यस्तो त पाउँदिन ।
जति बेला म गभर्नर भए, त्यतिबेला कमर्सियल बैंकहरूको कूल पोर्टफोलियो करिब ३२ खर्बको थियो । सोही समयमा बैंकहरूको प्रोफिट (नाफा) करिब ७० अर्ब थियो । आज त्यो पोर्टफोलियो ३२ खर्बबाट बढेर ५० खर्ब पुग्यो तर प्रोफिट आज ७० अर्ब पुग्ने स्थिति छैन । र कसरी बैंकहरू नाफाखोर बने ? कसरी नाफा बढ्यो अनि बैंकहरू मिटरब्याजी भए ?,’ गभर्नर अधिकारीले प्रश्न गरे ।
केन्द्रीय बैंकको नीति बैंकहरूले हाल ०.७५ प्रतिशत भन्दा बढी प्रोसेसिङ फी (सेवा शुल्क) लिन नपाउने व्यवस्थाले बैंकहरूको थप आम्दानी घटिरहेको अवस्थामा निक्षेपको लगानी र सञ्चालन खर्च बढी रहेको अवस्थामा बरु आम्दानी घटिरहेको बताए ।
यति हुँदाहुँदै पनि पछिल्लो पटक कुनै बैंकलाई फेलियर गराउन केही समूह हात धोएर नै पछि लागेको बताउँदै गभर्नर अधिकारीले नेपालका बैंकहरू त्यति कमजोर नभएको र असफल हुन केन्द्रीय बैंकले नदिने स्पष्ट पारे दिए ।
‘बैंकहरू डुब्दैनन् र डुब्न दिइँदैन । यदि त्यसो भइहालेमा पनि नडराउँदा हुन्छ, केन्द्रीय बैंकले सुरक्षा दिन्छ,’ निक्षेपकर्ताहरुको निक्षेप सेक्युर गर्ने मेकानिजम केन्द्रीय बैंकसँग रहेकाले कोही पनि नडराउन गभर्नर अधिकारीले विशेष आग्रह गरे ।
बैंक तथा वित्तीय क्षेत्र अति संवेदनशील क्षेत्र भएकाले यस क्षेत्र बारेमा बोल्दा, लेख्दा संवेदनशील र सचेत भइदिन गभर्नर अधिकारीले विशेष आग्रह गरे ।
त्यसो त पछिल्लो पटक एनआईसी एसियाविरुद्ध फैलिएको अफवाहबाट बच्न बैंकले श्वेतपत्र नै जारी गर्नुपरेको छ ।
पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै ३ खर्ब २ अर्ब कर्जा लगानी गरेको छ । जसमध्ये बैंकको खराब कर्जा (एनपीएल) जम्मा १.१९ प्रतिशत मात्र रहेको बैंकको दाबी छ ।
वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर ३.८१ प्रतिशत हुँदा बैंकको १.१९ प्रतिशतलाई जोखिमपूर्ण भन्न नमिल्ने एनआईसी एसियाले आफ्नो श्वेतपत्रमा उल्लेख गरेको छ ।
डेपुटी गभर्नर बमबहादुर मिश्रले कुनै एक सूचकलाई लिएर बैंक सकियो भन्ने जस्ता गलत सूचना कोही कसैबाट सम्प्रेषण हुन नहुने बताए ।
बैंकर्स संघका अध्यक्ष केसीले यतिबेला बैंक तथा वित्तीय संस्थाहरूलाई सबैको साथ र सहयोग चाहिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी