लदी पर्वमा बागमती र बकैयामा सार्वजनिक बिदा
![लदी पर्वमा बागमती र बकैयामा सार्वजनिक बिदा](https://rpcdn.ratopati.com/media/albums/makawanpur_jC2jnXMMv2.jpg)
हेटौँडा । मकवानपुरको पूर्वी गाउँपालिकाहरू बागमती र बकैया गाउँपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
पालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै यही फागुन १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान र बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित छुट्टाछुट्टै सूचनामा सार्वजनिक बिदा दिने जानकारी दिइएको हो । सूचनामा बागमती र बकैयामा बसोबास गर्ने माझी समुदायका नागरिकको मौलिक पर्व लदी (कोशी पर्व) को अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ ।
सूचनामा पालिकाको अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा बिदा दिइएको छ । पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थाहरू मङ्गलवार बन्द रहने उल्लेख गरिएको छ ।
त्यस्तै मङ्गलवार बकैया गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।