पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु

बारा । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेको घाइते वयस्क पाटे बाघको मृत्यु भएको छ । सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । यद्यपि सो बाघको मृत्यु आइतबार राति नै भएको निकुञ्जको भनाई छ ।
यसअघि पनि निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघमध्ये एक बघिनीको मृत्यु भएको थियो । यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी ल्याएर खोरमा राखेर निकुञ्जले रेखदेख गर्दै आएको थियो ।
खोरमा राखिएको बाघलाई निकुञ्जले दैनिक ५ केजीका दरले भैँसीको मासु खुवाउने गर्दछ । आइतबार राति मृत्यु भएको करिब १० वर्ष उमेरको सो बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको थियो । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घाइते बाघलाई औषधी उपचार भइरहे पनि बचाउन नसकिएको बताए ।
‘हामीले मासुमा औषधी हालेर खुवाइरहेका थियौँ, तर पनि सधैँ जङ्गलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ’ सूचना अधिकारी भगतले भने– ‘घाइते बाघलाई उपचार गर्न पनि असाध्यै समस्या हुने रहेछ ।’ पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाइसकेका छन् ।
हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो । १२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।
गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको सङ्ख्या बढेसँगै वासस्थानको अभाव हुँदा बाघहरू आफै जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षति पुर्याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध