बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चौथो टेस्टमा इङ्ल्यान्डलाई हराउँदै भारतलाई शृङ्खला

सोमबार, १४ फागुन २०८०, १४ : १३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेट प्रतियोगितामा घरेलु टोली भारत विजयी भएको छ । राँचीमा सम्पन्न चौथो टेस्टको चौथो दिन सोमबार भारतले भ्रमणकारी टोली इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।

जितसँगै भारतले पाँच टेस्टको शृंखलामा ३–१ को अग्रता पनि हासिल गरेको छ । एक सय ९२ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको भारतले पाँच विकेट गुमाएर जित हात पारेको हो । दोस्रो पालीमा भारतका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए ।

कप्तान रोहित शर्माले ५५ रनको योगदान गरे । शुभमन गिलले पनि अविजित ५२ रन बनाए । ध्रुव जुरेल ३९ रनमा अविजित रहे । ओपनर यशस्वी जैसवालले पनि टोलीको जितमा ३७ रनको योगदान गरेका थिए । दोस्रो पालीमा इङ्ल्यान्डका बलर सोएम बसिरले तीन तथा टम हर्टली र जो रुटले एक–एक विकेट लिए ।

भारतले कुनै पनि विकेट नगुमाई ४० रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएको थियो । त्यसअघि भ्रमणकारी टोली इङ्ल्यान्ड आफ्नो दोस्रो पालीमा केवल एक सय ४५ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि भारतले जितका लागि एक सय ९२ रनको लक्ष्य पाएको थियो ।

दोस्रो पालीमा इङ्ल्यान्डलाई सस्तोमा समेटन भारतका बलर रविचन्द्रन आश्विनले पाँच विकेट लिएका थिए । कुलदीप यादवले पनि चार विकेट हात पारेका थिए । रवीन्द्र जडेजाले एक विकेट लिएका थिए । इङ्ल्यान्डका लागि दोस्रो पालीमा ओपनर ज्याक क्रावलीले सर्वाधिक ६० र जोनी ब्रेस्टोले ३० रन बनाएका थिए । 

त्यसअघि भारत आफ्नो पहिलो पालीमा तीन सय सात रन बनाउँदै अलआउट भएको थियो । भारतीय टोली पहिलो पालीमा इङ्ल्यान्डसँग ४६ रनले पछाडि परेको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले भने पहिलो पालीमा तीन सय ५३ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि पहिलो पालीमा जो रुटले शतक बनाएका थिए । उनले अविजित एक सय २२ रन बटुलेका थिए । ओली रोविन्सनले पनि पहिलो पालीमा ५८ रन बनाएका थिए । ज्याक क्रलीले ४२ र बेन फोक्सले रन जोडेका थिए ।

पहिलो पालीमा भारतका बलर रवीन्द्र जडेजाले चार विकेट लिएका थिए । आकाश दीपले पनि तीन विकेट हात पारेका थिए । मोहम्मद सिराजले दुई र रविचन्द्रन आश्विनले एक विकेट लिएका थिए ।

भारतका लागि भने पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेलले ९० रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका विकेटकिपर ब्याट्सम्यान जुरेलले एक सय ४९ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काएका थिए ।

२३ वर्षीय जुरेलले इङ्ल्यान्डविरुद्धको यही शृङ्खलामार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । केवल दोस्रो टेस्ट खेलिरहेका जुरेलले बनाएको यो पहिलो अर्धशतक पनि हो । यसअघि खेलेको एकमात्र टेस्टमा उनले ४६ रन बनाएका थिए ।

भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले पनि ७३ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । शुभमन गिल ३८ रन बनाउँदै आउट भए भने कुलदीप यादवले २८ रन बटुले ।

भारतले अतिरिक्त रुपमा २३ रन पाएको थियो । इङ्ल्यान्डका बलर सोएब बसिर एक्लैले पाँच विकेट लिए । उनले ४४ ओभरमा आठ मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । टम हर्टलीले तीन र जेम्स एन्डर्सनले दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप