मृत्यु : बोझिलो गुनासो कि ओझिलो स्नेह

क्षितिजपारि आकाशको रङ परिर्वतन हँुदै छ । बिस्तारै रातो लाली उज्यालिएर आसपासको बस्तीबाट उडेका धुँवाका रेखाहरू विभिन्न आकारमा आकाशतिरै दौडिरहेको देखिन्छ । तातोपानीको चुस्कीसँग सुखद खबरको अपेक्षामा म सामाजिक सञ्जाल फेसबुक खोलेर हेर्दै छु । सामाजिक सञ्जालमा कहिले सुखद, कहिले पीडादायी, कहिले आश्चर्यजनक, कहिले उत्साहित र कहिले सन्देशमूलक विषयवस्तु आइरहेका हुन्छन् ।
माघ २९ गते सोमबारको बिहानी । सामाजिक सञ्जालमा देखिएको खबरले भने मलाई साह्रै रन्थनाएको छ । त्यो खबर थियो— काभ्रेपलाञ्चोक जिल्ला घर भएर अमेरिका बस्दै आएका समाजसेवी अर्जुनप्रसाद मैनालीको आत्मदाह । कसैको शब्दबाणलाई सहन नसकेरै आत्मदाहजस्तो कठिन र निर्मम मृत्यु रोजेका रहेछन् भन्ने उनको फेसबुक स्टाटसले बुझाउँछ । उनको उक्त फेसबुक स्टाटस पढ्ने हरेकको मुटुको धड्कन अनियन्त्रित बन्न पुग्छ ।
‘जब परलोकका लागि घरबाट बाहिर निस्कन खोज्छु, तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केहीबेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरा मात्रै हुनेछौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । नआत्तिनु, तिम्रो पीडालाई शक्तिमा बदल्न भगवानले साथ दिऊन्,’ अर्जुनप्रसादका यी शब्दले अहिले उनकी श्रीमतीका लागि पीडाको गानो बनेको होला । स्वर्गीय अर्जुनप्रसादले कामना गरेजस्तो उनकी श्रीमतीलाई भगवान्ले साथ दिएका होलान् ? के त्यो सम्भव हुने विषय हो ? अहँ, त्यस्तो लाग्दैन ।
स्वर्गीय अर्जुनप्रसादले आफ्नो आत्मदाहको बोझिलो शालिग्राम श्रीमतीलाई भगवान भनेर सुम्पिए । तर त्यो बोझ उनकी श्रीमतीका लागि भगवान होइन, भ्रमबाण बनेर निरन्तर घोँचिरहेको छ ।
उनको फेसबुट स्टाटसलाई अहिले विभिन्न कोणबाट विश्लेषण गरिँदै छ र त्यसले भावनाका दुःखद शृंखला जोडिरहेको छ । धेरैले भनिरहेका छन्— छोरीको विवाहका लागि आत्मदाहमार्फत परलोक जाने निर्णय केही पछाडि धकेल्न सक्ने उनले सधैँका लागि त्यो निर्णय किन फिर्ता गर्न सकेनन् ?
श्रीमतीले त्यतिका वर्ष गरेको प्रेमिल स्नेह, छोरीको सुखद घरबार हेर्ने आकांक्षा, छोराको आगमनमा बगेका खुसीका आँसु— के यी सबैलाई उनले सहजै बिर्से, कसैको शब्दबाणकै कारण उनी यति निठुरी भए ? उनको फेसबुक स्टाटस पढेपछि यस्तै–यस्तै प्रश्न तेर्सिने गर्छन्, तर जवाफ दिने कसले ? अर्जुनप्रसादको पलभरको निर्णयले आखिर पारिवारिक प्रेममा निर्माण भएको सुन्दर ताजमहललाई त तहसनहस गरिसक्यो ।
फागुन ४ गते शुक्रबारको बिहान । घडीले ५ः४५ बजेको सङ्केत गरिरहेको थियो । बिहानीको दैनिकी सकेर यसो मोबाइल नियाल्दा बारा जिल्लाका एसपी सुरेश काफ्लेको मिसकल देखेपछि तत्कालै कलब्याक गरेँ । उनले भने, ‘दोलखा मेलुङ– १, पवटीका कपिलमणि न्यौपानेले फेसबुक स्टाटसमा सबैसँग बिदा भन्दै केही गुनासा र दुखेसो पोखेका छन्, केही गर्लान् है बुझ्नुस्, मैले दोलखा प्रहरीलाई पनि जानकारी गराएको छु ।’
पवटीको सूर्योदय सहकारीमा भएको चोरीको विषयमा दोलखा प्रहरीले अनुसन्धानका लागि भनेर कपिलमणि न्यौपानेलाई समेत केही दिनअघि हिरासतमा राखेको थियो । कपिलमणि र एसपी सुरेश काफ्लेले सँगै पढेका थिए । त्यसैले एसपी काफ्लेले कपिलमणिको फेसबुक स्टाटस देखेपछि चिन्ता गर्दै फोन गरेका रहेछन् ।
विडम्बना ! एसपी काफ्लेसँग गफ गरेर फोन राख्नासाथ कपिलमणिले झुन्डिएर आत्महत्या गरेको दुःखद खबर सुन्नुप¥यो । कपिलमणिले सहकारी चोरीको घटनामा आफूलाई फसाइएको भन्दै केही गुनासा र दुखेसोसहितको फेसबुक स्टाटस लेखेका थिए । उनले फेसबुक स्टाटसमा श्रीमतीलाई पीर नगर्नू भन्दै सम्झाएका छन् । बुबा, आमा र भाउजूलाई घरै बसी राम्रोसँग पाल्नू भनी भाइलाई भनेका छन् । यस्तै भाइका छोराछोरीलाई जग्गा बेचेरै भए पनि पढाउनु भनेका छन् । परिवारका प्रत्येक सदस्यको चिन्ता गर्ने कपिलमणि स्वयंले भने सबैलाई दुःखी र चिन्तित बनाएर आत्महत्या गरे ।
स्वास्थ्यकर्मी कपिलमणिले पवटी र आसपासका प्रत्येक घरमा पुगेर बिरामीको सेवा गर्थे । मानसिक रूपमा विछिप्त मानिसलाई परामर्श दिएर स्वस्थ बनाएका समेत थिए । उनी स्वयंले भने झुटो आरोपको प्रतिवाद नगरी परिवारका सबैलाई रुवाएर मृत्यु रोजे ।
मृत्यु सत्य छ, यसलाई रोक्ने सामथ्र्य संसारको कुनै पनि शक्तिसँग छैन, मानिसलाई सधैँ बचाउने औषधि वा विधि अहिलेसम्म विज्ञानले आविष्कार गरेको छैन । मृत्यु शाश्वत छ भनेर मानिसको विवेकले अप्राकृतिक मृत्युलाई स्वीकार गर्नु उचित होइन । कुनै पनि मानिसले निश्चित जीवन वा आयु लिएर आएको होस् र उसको मृत्यु अन्य किसिमले होस्, त्यसमा परिवार र आफन्तले मन बुझाउने ठाउँ रहन्छ । कसैले आफ्नो निर्णयमा मृत्युवरण गर्छ भने ऊ जीवन वा संघर्षसँग त हा¥यो, उसले परिवारको धेरै सदस्यलाई पटक–पटक मारिरहेको हुन्छ । अर्जुनप्रसाद र कपिलमणिले जसरी आत्महत्याको माध्यम रोजे, त्यो अप्राकृतिक थियो । कसैको शब्दबाणले त्यति धेरै पिरोलिएका अर्जुनप्रसादले किन सोचेनन्, आफूले लिएको मृत्युको निर्णयले परिवारलाई कति चोट देला भन्ने !
कपिलमणिले आफूलाई लागेको आरोप आफ्नो जीवन अवधिमै पखाल्न सक्थे, परिवारसँग मिलेर त्यसको सामना गर्न सक्थे, यसो गर्दा उनको परिवार र आफन्तले अहिले जति पीडा खेप्नुपर्दैनथ्यो । अचेल धेरै कारण देखाएर मानिसले अप्राकृतिक मृत्यु रोज्ने गरेका छन्् । क्रान्तिकारीहरू भन्ने गर्छन्– जीवन संघर्ष हो । जीवन वास्तवमै संघर्ष हो । जीवनमा सहजता हुँदैन, बाँच्नका लागि संघर्ष गर्नैपर्छ । संघर्षको चरणमा कहिले अपमानित, कहिले अपहेलित, कहिले अवरोध स्वाभाविक हुन्छ, तर संघर्ष गर्न छाड्नु हुन्न । असामयिक वा अप्राकृतिक मृत्यु रोज्नु बहादुरी होइन । एक दिन मर्नै पर्छ सबैले तर मृत्युपछि परिवारका सदस्यले झार्ने प्रत्येक आँसुमा पीडाको बोझिलो गुनासो होइन, ओझिलो स्नेह होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक