सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्झनामा रम्तेल

सहिद दिलबहादुरका साथी राम भन्छन्– खेल्दाखेल्दैको साथी गुमाउँदाको पीडा छ

‘म न सहिद हुन सकेँ, न त केही गर्न सकेँ’
सोमबार, १४ फागुन २०८०, १३ : १४
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । २०५२ साल फागुन १४ गते गोरखा बारपाक सुलिकोट–८, पन्द्रुङस्थित ब्रह्मचारिणी निमाविमा अध्ययनरत एक विद्यार्थीले सुरक्षा फौजको गोली लागेर ज्यान गुमाएका थिए । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए ।

तत्कालीन विद्रोही माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको १४ औँ दिनमा भएको घटना थियो त्यो । माओवादीलाई सहयोग गरेको आरोपमा साविक ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई विद्यालयबाटै सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए ।

वीरबहादुरलाई छुटाउन विद्यालयबाट शिक्षक र विद्यार्थीसमेत गएका थिए । बाटोमै झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर दिलबहादुर रम्तेलले ज्यान गुमाए । उनका साथी रामप्रसाद भट्ट गम्भीर घाइते भए ।

माओवादीले उनै दिलबहादुरलाई जनयुद्धको पहिलो सहिदका रुपमा स्मरण गर्दै आएको छ । त्यस घटनाका प्रत्यक्षदर्शी तथा जिउँदो सहिदका नामले चिनिएका उनै रामप्रसाद भट्टसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, भट्टसँग गरिएको कुराकानीका सम्पादित अंश -

२०५२ साल फागुन १४ गतेको घटनालाई कसरी स्मरण गर्नुहुन्छ ?

घटना हुँदा हामी स्कुलको चौरमा फुटबल खेलिरहेका थियौँ । त्यतिबेला म १६ वर्षको थिएँ । सहिद दिलबहादुर १० वर्षका थिए । ‘हाफ टाइम’पछि २ बजेतिर कक्षा कोठामा प्रवेश गर्ने समय थियो । सूर्यज्योति माविबाट वीरबहादुर गुरुङ सरलाई सुरक्षाकर्मीले गिरफ्तार गरेर ल्याउँदै थिए । वीरबहादुर सर जराङकै हुनुहुन्थ्यो । ब्रह्मचारी स्कुलबाट धेरै विद्यार्थी गएपछि छोड्छ होला भनेर उहाँलाई छुटाउन शिक्षक र विद्यार्थी गएका थियौँ । स्कुलभन्दा माथि डीगाउँ भन्ने ठाउँमा घटना भएको हो ।

गोली चल्ने वातावरण कसरी सिर्जना भयो ?

गुरुङ गाउँमा धेरै रिटायरवाला आर्मी–पुलिस थिए । आफ्ना मान्छे लिएर गएकोमा उनीहरू आक्रोशित थिए । सुरक्षाकर्मीले वीरबहादुर सरलाई जराङकै बाटोबाट ल्याउँदै थिए । सबै गाउँले मिलेर बाटो छेके । त्यहीबेला भिडबाट एक शिक्षकले ढुङ्गा प्रहार गरे । त्यसपछि माथिबाट सुरक्षाकर्मीले हवाइ फायर गर्‍यो ।

ढुङ्गा प्रहार गर्ने शिक्षक भागे ।  हामी डर र त्रासका बिच यी सबै दृश्य हेरिरहेका थियौँ । सोही बेला सुरक्षाकर्मीले चलाएको गोली दिलबहादुरको छातीमा लाग्यो । उनी त्यहीँ ढले । मेरो पेटको देब्रेतिर गोली लाग्यो । आन्द्रा छेड्दै बाहिर गयो ।

गोली लागेपछिको अवस्था तपाईंलाई स्मरण छ ?

गोली लागे पनि म होसमै थिएँ । स्कुलमा कालापानी युद्धका कथा पढेका थियौँ । गोली लाग्दा आफैँ मलमपट्टी गरेको, फेरि लडेको भन्नेजस्ता कथा पढेका थियौँ । त्यतिबेला त्यस्तै फिल भयो । त्यही भएर गोली लागे पनि मरिन्न होला जस्तो लाग्यो । हामी दुवै एकै ठाउँमा ढलेका थियौँ ।

उपचारका लागि तपाईंहरूलाई कहाँ लगियो ? कसले अस्पताल पुर्‍यायो ?

गोली लागेर ढलेपछि गाउँका अभिभावक मिलेर अस्पताल लगे । पहिला घ्याम्पेसाल लागियो । त्यहाँ उपचार सम्भव नहुने भएपछि गोरखा बजारसम्म बोकेरै लगेका हुन् । त्यहाँबाट बल्ल एम्बुलेन्समा काठमाडौँस्थित वीर अस्पताल लिएर गएका हुन् । अस्पताल पुग्दा बिहान घाम उदाएको थियो ।

दिलबहादुरलाई एक घण्टापछि अस्पताल लिएर गएका रहेछन् । उहाँका आफन्त भेला हुँदा, मेलापात गएकाहरू जम्मा हुँदा ढिला भएको रहेछ । हेलिकप्टरमा लिएर गएको भए बाँच्ने सम्भावना थियो । उपचार ढिला हुँदा उहाँले ज्यान गुमाउनुभयो ।

अचेल तपाईं के गर्दै हुनुहुन्छ ?

म अहिले पालुङटारमा सानो व्यापार व्यवसाय गरेर परिवार पाल्ने गुजारा गरिरहेको छु ।

परिवारमा को को हुनुहुन्छ ?

परिवारमा श्रीमती, एक छोरा, एक छोरी र म गरी चार जना छौँ । बुबाआमा गाउँमै हुनुहुन्छ । म यसो ओत लाग्ने बास बनाएर पालुङटारमै बसेको छु ।

bhatta jyudo sahid

आम्दानीले बिहान बेलुका खान पुगेको छ ?

जसोतसो बिहान बेलुका हातमुख जोर्न पुगिरहेको छ ।

अहिले राजनीतिक आस्था माओवादीप्रति छ कि स्वतन्त्र हुनुहुन्छ ?

आस्था माओवादी केन्द्रप्रति नै छ । पालुङटार वडा कमिटी सदस्य हुँ अहिले ।  

तपाईंलाई जिउँदो सहिदका रुपमा हेरिएको छ । संघ, प्रदेश वा स्थानीय सरकारले सहयोग गरेको छ कि छैन ?

हामीलाई अहिलेसम्म स्थानीय सरकारबाट केही सहयोग भएको छैन । पार्टीले पनि उपचार खर्च भनेर दिएको छैन । अपाङ्गता भत्ता भनेर पनि दिएको छैन । प्रदेश सरकारबाट आएको स्वास्थ्य बिमा लिन थालेको दुई वर्ष भयो । अन्य केही सेवा सुविधा पाएको छैन ।

अपाङ्गता परिचय पत्र पाउनुभएको छ कि छैन ?

नेपाल सरकारको राजपत्रमा द्वन्द्व पीडित भनेर प्रकाशित भएको छ । जिल्लाबाट त्यही पत्र भेटियो । अन्य केही भेटिएको छैन ।

त्यतिबेलाको स्थितिलाई कसरी स्मरण गर्नुहुन्छ ?

त्यतिबेला पार्टी नै भनेर माओवादीमा लागेका पनि होइनौँ । मतदाता नामावलीमा नाम पनि समावेश भइसकेको थिएन । हाम्रो उमेर पनि पुगेको थिएन । कुनै दलप्रति झुकाव पनि थिएन ।

माओवादीलाई शक्ति बढाउनुपर्ने थियो । त्यही क्रममा पार्टीले जनयुद्धको सहिद भनेर दिलबहादुरलाई घोषणा गरेको हो । त्यसपछि हामी माओवादी भयौँ । त्यसप्रति नै आस्था रह्यो । अहिलेसम्म निरन्तर यही पार्टीमै छौँ । तर पार्टीले हामीलाई हेरेको जस्तो लागेन ।

व्यवस्था परिवर्तनसँगै तपाईंहरूको अवस्था परिवर्तन भयो कि भएन ?

माओवादीकै कारण व्यवस्था परिवर्तन भएको हो । समाजमा रहेका जातीय छुवाछुत अन्त्य भएको छ । विकास निर्माणका काममा पनि क्रमिक सुधार भएको छ । राम्रै हो । तर जति हुनुपर्ने हो, त्यति भएको छैन ।

दिलबहादुरको बलिदानीले न्याय पायो कि पाएन ?

राज्यको तर्फबाट दिलबहादुरको सम्झनामा विभिन्न पहल भएकै हो । जराङमा त्यत्रो पार्क बनिरहेको छ । उहाँको बुबाआमालाई पनि राज्यको तर्फबाट क्षतिपूर्ति दिइएको छ । केही सेवा सुविधा पनि पाएका छन् । हुँदै भएन भन्न मिल्दैन । पूर्ण त कहिले हुन्छ र ? अपूर्ण भए पनि चित्त बुझाउने बाटो राज्यबाट भएको छ ।

उहाँलाई अहिले कसरी सम्झिनु हुन्छ ?

मभन्दा जुनियर भए पनि हामी मिल्ने साथी थियौँ । खेल्दा खेल्दैको मिल्ने साथी गुमाउनु पर्दा मनमा पीडा छ । म आफैँ त्रासदीपूर्ण घटनाको प्रत्यक्षदर्शी र पीडित हुँ । त्यसको असर अहिलेसम्म परिरहेको छ । पेटमा विभिन्न समस्या छ । भनेको काम गर्न सक्ने अवस्था छैन । मेरै स्थिति नाजुक छ । उहाँ त सहिद हुनुभयो । कमसे कम राज्यले सम्मान त गरेको छ । म त न सहिद हुन सकेँ, न केही गर्न सकेँ । सँगसँगै गोली लागेका हामी, उहाँ सहिद हुनुभयो तर म घाइते भएँ । उहाँले सम्मान पाउनुभयो । म न यता, न उताको भएँ  । जिउँदो सहिद भए पनि अलपत्र पात्र बनेँ । जिउँदो सहिद भनेर हाँसोको पात्र बनाउँछन्, उडाउँछन् । न राज्यले जिउँदो सहिद भनेर कुनै सम्मान गरेको छ, न जागिर दिएको छ ।

मैले अहिले गरिरहेको पेसा राज्यले दिएको होइन । आफ्नै किस्मतले गरेको हुँ । म आफ्नै पौरखले खाएको छु । मप्रति राज्यको दायित्व केही छैन ।

सरकारसँग तपाईंको अपेक्षा के छ ?

जिउँदो सहिद भनेर सरकारले बिर्सिंदै गएको जस्तो अनुभूति भएको छ । सरकारले एउटा मापदण्ड बनाएर गरिखाने वातावरण बनाइदिए हुन्थ्यो । बुढेसकाल लाग्दै गएपछि त्यसको पीडा छुट्टै हुन्छ । अहिले बलको काम गर्न सक्दिन । बुढेसकालमा के होला भन्ने चिन्ताले सताउन थालेको छ । जीवन निर्वाहका लागि सरकारले केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ । बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था मिलाइदिए ढुक्क हुन्थ्यो । राज्यले यति गरिदिए अरु केही गर्न पर्ने थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप