बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्पत्ति विवाद

वीरगन्ज नेशनल मेडिकल कलेजमा सम्पत्ति विवाद

सञ्चालक दाजुभाइबिच एक अर्कालाई निकाल्ने होड
आइतबार, १३ फागुन २०८०, १२ : ५७
आइतबार, १३ फागुन २०८०

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालक दाजुभाइबिच आन्तरिक द्वन्द्व चर्किएको छ । मेडिकल कलेजको स्वामित्व तथा शेयरको विषयलाई लिएर सञ्चालक दाजुभाइबिच द्वन्द्व चर्किएको हो ।

नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दिन अन्सारीले कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई कम शेयर दिएर निष्कासन गरेपछि विवाद सतहमा आएको हो । जैनुद्दिन दाजु हुन् भने बसरुद्दिन भाइ हुन् ।

कलेज स्थापनाकालदेखि प्रबन्ध निर्देशक (एमडी) भएर काम गर्दै आइरहेका बसरुद्दिन अन्सारीलाई कलेजले यही ११ गते हटाएको हो । विवाद बढेपछि मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले विज्ञप्ति जारी गर्दै शेयर धनी तथा सञ्चालक समितिबारे प्रस्ट पारे ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो कम्पनीमा मेरो ९० प्रतिशत र भाइ बसरुद्दिन अन्सारीको १० प्रतिशत शेयर थियो । तर ७ महिना अगाडि यसमा केही नयाँ शेयरधनी थपिएका छन्, जसका कारण शेयर प्रतिशत बाँडफाँट भएर मेरो शेयर प्रतिशत घटेको छ ।’

उनले जारी गरेको विज्ञप्तिमा नयाँ शेयरधनीहरुमा उनकै छोरा शाहनवाज र छोरीहरु नुसरत जहान अन्सारी, निकहत यासमिन र इसर्त जहानको नाम रािखएको छ ।

छोरा शाहनवाजलाई १५ प्रतिशत र तीनैजना छोरीलाई जनही १० प्रतिशत शेयर दिइएको उनले उल्लेख गरेका छन् । यही विज्ञप्तिमा बसरुद्दिनको नाममा १० प्रतिशत शेयर रहेको उल्लेख छ ।

विज्ञप्तिमा नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेडको साधारणसभा– २०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रोबमोजिम) तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उल्लेख छ । जसको अध्यक्षमा डा.जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशकमा छोरा शाहनवाज अन्सारी र सञ्चालकमा छोरी नुशरत जहान अन्सारीलाई चुनिएको जनाइएको छ ।

सञ्चालक दाजुभाइबिच शेयरको विषयलाई उत्पन्न विवाद बढेपछि बसरुद्दिन अन्सारीले पनि आफू नेशनल मेडिकल कलेजको अध्यक्षमा चुनिएको खबर सामाजिक सञ्जाल फेसबुकमा निकटस्थलाई राख्न लगाए ।

  • के हो विवाद ?

नेशनल मेडिकल कलेज प्रालि वीरगन्ज २०५७ साल ३१ भदौमा दर्ता भएको हो । सुरुमा वीरगन्जको बाबा होटललाई भाडामा लिएर सञ्चालन भएको नेशनल मेडिकल कलेजसँग अहिले अर्बौंको सम्पत्ति रहेको सञ्चालक समितिका एक सदस्य बताउँछन् ।

मेडिकल कलेज सञ्चालन आरम्भ गर्दा सञ्चालक अध्यक्ष र एमडीबिच ५०–५० प्रतिशत शेयरमा कारोबार गर्ने सम्झौता भएको निवर्तमान एमडी बसरुद्दिन अन्सारी बताउँछन् ।

‘सञ्चालन गर्दा हाम्रोबिच आधा–आधामा सञ्चालन गर्ने सहमति थियो, त्यसमा दाइले १० प्रतिशत बढी लिएर सञ्चालन गर्न थाल्नुभयो । तर अहिले आएर हिसाब माग्दा दाइले शेयर छोराछोरीको नाममा दिनुभयो, जुन बेइमानी हो,’ उनी भन्छन्, ‘मैले हिसाबकिताब खोजिरहेको छु, सँगै काम गर्न सकिँदैन भनेर अलग हुन खोजेको हुँ । तर जालझेल भइरहेको छ ।’

उनका अनुसार आफूहरूको सहमतिमा काठमाडौँमा सञ्चालनमा रहेको नेपाल मेडिकल कलेज आफूलाई दिएर हिसाब किताब गर्ने सम्झौता थियो । तर पछि त्यो सम्झौताबाट पनि दाइ ‘ब्याक’ भएको उनको आरोप छ ।

उनका अनुसार सुरुमा नेशनल मेडिकल कलेजको लागि प्रतिकट्ठा ३० हजार रुपैयाँका दरले २८ बिघा जग्गा खरिद गरियो, जुन जग्गाको मूल्य अहिले प्रतिधुर १० लाखभन्दा बढी छ । यो हिसाबले वीरगन्जमा रहेको मेडिकल कलेजको जग्गाको मूल्यमात्रै ११ अर्ब भन्दा बढी रहेको बताइन्छ ।

यो बाहेक भवनसहित अन्य सम्पत्ति जोड्दा वीरगन्जमा मात्रै १५ सय करोडभन्दा बढीको सम्पत्ति पुग्न जाने स्रोतको दाबी छ । योसँगै अन्य २ वटा कलेज समेत गरेर कुल २ हजार करोड भन्दामाथिको सम्पत्ति पुग्न जाने स्रोतको भनाइ छ ।

नेशनल मेडिकल कलेजका सञ्चालक अध्यक्ष जैनुद्दिन अन्सारीले भाइ बसरुद्दिनको १० प्रतिशत मात्रै शेयर रहेको दाबी गरे ।

उनले भने, ‘मेडिकल कलेजमा सबैभन्दा बढी शेयर मेरो थियो, पछि बाँडियो । भाइको त १० प्रतिशत मात्रै हो ।’

यदि बढी शेयरको कसैसँग कागज भए पेस गर्न उनले चुनौती दिए । भाइले सबै ठाउँमा बदमासी गर्न थालेपछि सेयर धनीहरूको बैठकले कलेजबाट निष्कासित गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप