मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

महन्थलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव

आइतबार, १३ फागुन २०८०, २१ : ००
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको नेतृत्व छाडेर अरूलाई जिम्मा लगाउन सुझाव दिएका छन् । लोसपा नेपालमा विद्रोह गरेका सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका महासचिव झाले अध्यक्ष ठाकुरलाई एक पत्र नै बुझाएर सुझाव दिएका हुन् । 

उनले बुझाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भागबन्डा गरेर पार्टी बलियो बनाउने कार्य भइरहेको छ भने भागबन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि ? अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्षज्यू ?’

पार्टीबाट असन्तुष्ट रहेका वरिष्ठ नेता महतोले नयाँ पार्टी बनाउने तयारीमा लागेका छन् । त्यसका लागि उनले अभियान नै सुरु गरिसकेका छन् । अध्यक्ष ठाकुरले नेतृत्व छाडेर अरूलाई सुम्पेर नयाँ ढङ्गबाट पार्टी सञ्चालन गर्ने अवस्था आयो भने नेता महतो ब्याक हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । यो कुराको पुष्टि महासचिव झाले दिएको सुझावबाट पनि हुन्छ । 

महासचिव झाले पार्टीको नेतृत्व छाडेर अभिभावकत्व ग्रहण गरी मार्गदर्शन गर्न ठाकुरलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्षज्यू ।’ लोसपाको राजनीति आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन नसकेको र त्यही कारणले होला, मधेसमा मधेसी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भएको उनले टिप्पणी गरेका छन् । उनले जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु पनि सुझाव दिएका छन् । 

लोसपा निष्प्राण हुँदै गएको र बिस्तारै सबैले छाडेर जाने बताउँदै उनले आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गरेको दृष्टान्त दिएका छन् । 

सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिन आग्रह गर्दै उनले देशमा मधेसी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर अगाडि बढ्न सुझाव दिएका छन् । 

  • यस्तो छ सुझावपत्र

२०८० फागुन  १२ शनिवार

आदरणीय अध्यक्ष ज्यू, 

लोसपा नेपाल ,

केन्द्रीय कार्यालय 

बबरमहल काठमाडौं ।

विषयः सुझाव बारे ।

अध्यक्ष ज्यू, यहाँ मुलुकको समस्याहरू बारे विदितै हुनुहुन्छ । इतिहासमै उत्पीडित जातजाति र समुदायको निम्ति अहिलेको सरकार कठोर, निर्दयी, उदासीन र अत्याचारी छ । हामी आन्तरिक उपनिवेशवादको सिकार त छौँ नै साथै पश्चिमी सभ्यताको औपनिवेशिकताको सिकार पनि बन्न बाध्य छौँ । जहाँ उपनिवेशवाद र औपनिवेशिकता कायम रहन्छ, त्यहाँ लोकतन्त्र र गणतन्त्र रहनै सक्दैन । त्यस अर्थमा नेपालमा आजको दिनसम्म लोकतन्त्र आएकै छैन भन्दा फरक नपर्ला । यद्यपि राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे देखि नै माटोको एकीकरण भयो तर मनहरूको एकीकरण भएन । अहिलेसम्मका सबै शासक वर्गहरूलाई यहाँको बहुलतालाई स्वीकार गर्नु भन्दा पनि समाप्त गर्न तिर बढी ध्यान केन्द्रित रहेको देखियो । शासक वर्गले उदारवादी  र साम्यवादी विचारधारामा समाजलाई यसरी डोर्‍याए कि आधुनिकताको नाममा आफ्नो दर्शन, सभ्यता, संस्कृति, ज्ञान प्रणाली, धर्म सबै समाप्त पारे । परिणामतः विगत २७० वर्षदेखि नेपाली जनता पश्चिमी औपनिवेशिक ज्ञान प्रणालीबाट दीक्षित हुन बाध्य छन् । विगत ७३ वर्ष देखि आधुनिकताको नाममा सभ्यतालाई सिध्याउने र विकासको नाममा विनाशलाई बढवा दिने काम बाहेक अरू केही हुन सकेन । जसकारण आज जीवन र जगत दुवै सङ्कटमा छन् । 

यही पश्चिमा ज्ञान प्रणालीको अनुसरणको कारणले यहाँका अल्पसङ्ख्यक राज्यधारी अर्थात् गोर्खाली राज्य सत्ताका अविच्छिन्न उत्तराधिकारीहरूले एकल राष्ट्रिय राज्यको अवधारणामा राज्य सञ्चालन गरिरहेका छन् । सन् १९९० सम्म आइपुग्दा नै जन लक, थमस हब्सहरूको उदारवादी व्यवस्था र काल मार्क्सका मार्क्सवादी व्यवस्थाहरू फेल हुन थालिसकेको प्रतिवेदन पश्चिमा दर्शनशास्त्री र विद्वानहरूले लेख्न थालेका थिए । त्यस प्रसङ्गमा हावर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुल पि हन्टिङ्टनले एकैसौं शताब्दीको वैश्विक राजनीति भनेको सभ्यताको राजनीति र स्थानीय राजनीति भनेको जातिको राजनीति हुने दावा गरेका थिए । आज विश्व राजनीतिक परिदृश्य हेर्ने हो भने उनले दावा गरेको वेभमा ठ्याक्कै राजनीति अगाडि बढिरहेको छ । जसको ज्वलन्त उदाहरण अहिले छिमेकी मुलुक भारतमा देख्न सकिन्छ, जहाँ पूर्वीय ज्ञान प्रणालीको आधारमा सभ्यताको राजनीति सुरु भएको छ । पूर्वीय दर्शन र सभ्यताको आधारमा भारत वर्ष लोकतन्त्रको जननी भएको दाबी गरिरहँदा यस कार्यमा हामी नेपालीले सहकार्य गर्नु पर्ने थियो तर त्यो वेभलाई विभिन्न बहानामा रोक्ने प्रयत्नहरू नेपालमा गरियो । तर पनि नेपालमा जोरसोरले  जातीय पहिचान र अधिकारको कुराहरू सुरु हुन थाल्यो । माओवादी जनयुद्धमा र मधेसी, आदिवासी जनजातिहरूको आन्दोलनमा यी मुद्दाहरूले व्यापक रूपमै स्पेस पाउन थालेको थियो तर सफल हुन सकेन । त्यसको मुख्य कारण भनेको उदारवादी चिन्तन र मार्क्सवादी चिन्तन बोकेर यी मुद्दाहरू अगाडि बढाएकाले असफल भएको हो । यो मुद्दाहरू इन्डिजिनिज्म (स्वदेशवाद) को दार्शनिकताबाट अगाडि बढाएको भए पक्कै पनि सफल हुने थियो । अझै पनि यही एकमात्र विकल्प हो । यी सबै परिस्थितिलाई आत्मसाथ गरेर नै तपाईंले पनि नेपाली कांग्रेस जस्तो पार्टी परित्याग गर्दै गर्दा गीताको श्लोक भनेको आज पनि म सम्झन्छु, 

‘हतो वा प्राप्स्यसी स्वर्गं जित्वा वा भोक्छ्यसे महिम, 

तस्मातुदिस्ठ कौन्तेय युद्धाय कृत निश्चयः’

अर्थात् बाँचे भने मधेसमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको वास बस्छु । अझ तपाईले ‘मरे तो मुक्ति, जिए तो मधेस’ भन्नु भयो । आज १६ वर्ष भयो, मधेसको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्व मूल्याङ्कन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू ? तमलोपा देखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेसी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि? लोसपा अझै चारवटा पार्टी (तमलोपा, सदभावना, रामसपा, नेसपा) को लिगेसी बोकेको पार्टी हो । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भाग बन्डा गरेर पार्टी बलियो बनाउने कार्य भै रहेको छ भने भाग बन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि ? अझै केही बिग्रिएको छैन अध्यक्ष ज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्ष ज्यू ? अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्ष ज्यू । हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन । त्यसकै कारण होला, मधेसमा मधेसी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भयो । जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला अध्यक्ष ज्यू । नभए जसरी हाम्रो पार्टी निष्प्राण हुँदै छ बिस्तारै सबैले छोडेर जानेछ । आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गर्दछ, पार्टी त्यस्तो अवस्थामा पुग्दा के होला । सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिऊँ अध्यक्ष ज्यू । देशमा मधेसी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर तपाइले विगतमा देखाउनु भएको बहुलराष्ट्रिय राज्यको सपना पुरा गर्नको लागि अगाडि बढ्ने बेला भएको छ । अझै ढिला भएको छैन । 

जय मधेस

...............

केशव झा,

महासचिव, लोसपा नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप