भारतीय लगानीका टायल उद्योग नेपालमा फस्टाउँदै
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा १५० करोड लगानीमा पशुपति सेरामिक्स नामक टायल उद्योग सञ्चालनको तयारीमा छ । सो उद्योगका ४ जना लगानीकर्ता मध्ये तुलसी साह बनियारबाहेक बाँकी ३ जना भारतीय हुन् ।
भारतको गुजरातमा ५ दशकदेखि टायल उद्योग सञ्चालन गरेका अनुभवी व्यक्तिले लगानी गरेको नेपाली लगानीकर्ता साहले जनाए । ‘मसँग ३ जना भारतीय पार्टनर छन्, भारतको गुजरातमा २०२७ सालदेखि उनीहरूको ४ वटा टायल कम्पनी सञ्चालनमा छ,’ साहले भने, ‘हामीले उनीहरूलाई नेपालमा बोलाएर लगानी गर्न आग्रह गर्दा उनीहरू सकारात्मक भए ।’
साहका अनुसार आगामी महिनादेखि उद्योग सञ्चालन हुनेछ । उद्योगले दैनिक ८ देखि १० हजार टायल उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । पशुपति सेरामिक्स प्रालिले सेजमा करिब १० बिघा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ ।
विशेष आर्थिक क्षेत्र (सेज)मै पशुपति सेरामिक्सपछि भारतीय ‘एजियल’ कम्पनीको २५ प्रतिशत, नेपाल सेरामिक्स कम्पनीका सञ्चालक शम्भुनाथ झा, मनोज प्रसाद रौनियार र अंकुश श्रेष्ठको संयुक्त लगानीमा ‘नेपोभिट’ सेरामिक्स प्रा.लि नामक अर्को टायल उद्योग खुल्ने तयारीमा छ । २ अर्बभन्दा बढी लगानीमा अहिले धमाधम संरचना निर्माणको काम भइरहेको शम्भुनाथ झाले जनाए ।
सेजभित्र मात्रै होइन, बारा–पर्सा औद्योगिक करिडोरमा स्थापना हुने गरी पछिल्लो समय एक दर्जन सेरामिक्स कम्पनीले लाइसेन्स लिएर बसेका छन् ।
२ वर्ष अघिसम्म बारा–पर्सा आद्यौगिक करिडोरको जीतपुरमा ‘नेपोभिट’ नेपाल सेरामिक्स र रौतहटको चपुरमा प्राइम सेरामिक्स कम्पनीमात्रै थियो । तर पछिल्लो समय भैरहवामा भारतीय टायल कम्पनी कजरियाको लगानीमा विराटनगरमा पनि नयाँ टायल उद्योग खुलेका छन् ।
टायल उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमै पाइने र तेस्रो मुलुक निर्यातमा भन्सार छुटको व्यवस्था भएकाले यी उद्योगमा भारतीय लगानी बढेको हो ।
पशुपति सेरामिक्स प्रा.लिका प्रमुख तुलसी साहले टायल उद्योगका लागि आवश्यक ३० देखि ३५ प्रतिशत माटो भारतबाट ल्याए पनि बाँकी माटो नेपालकै प्रयोग हुने बताए ।
‘यहाँ उत्पादन भएको सामान तेस्रो मुलुक पठाउने हाम्रो मुख्य उद्देश्य छ, सेजको नियममा ६० प्रतिशत अनिवार्य निर्यात गर्नुपर्ने व्यवस्था छ तर तत्कालका लागि ६० होइन, ३० प्रतिशतसम्म निर्यात गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।
भारतले उत्पादन गरेको टायल तेस्रो मुलुक निर्यात गर्दा ३० देखि ३५ प्रतिशत भन्सार लाग्छ, तर भारतीय लगानीमा नेपालमा खुलेका उद्योगबाट तेस्रो मुलुक निर्यात गर्न सके भन्सार छुटको व्यवस्था छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले पछिल्लो समय नेपालमा खुलेका टायल उद्योगमा ‘फ्रन्ट लाइनमा’ नेपालीहरू देखिए पनि मुख्य लगानीकर्ता भारतीय नागरिक रहेको बताए । ‘यति धेरै टायल उद्योग नेपालको लागि आवश्यक छ÷छैन भन्ने कुरा हामीले विचार गर्नुपर्छ, टायल उद्योगहरू भोलिको दिनमा सिमेन्ट उद्योगकै हालत नहोस् भन्ने हो,’ उनले भने, ‘तर यसको मार्केट तेस्रो मुलुकसँगै भारतीय सीमावर्ती क्षेत्र कलकत्ता, बिहार, सिलगुढीका १२÷१३ करोड जनसङ्ख्यासम्म पुर्याउन सके राम्रो हुन्छ ।’
वरिष्ठ उपाध्यक्ष गौतमले टायल उद्योगका लागि आवश्यक कच्चा पदार्थ माटो नेपालमै पाइने भएकाले पनि यी उद्योग फस्टाउँदै गएको बताए । टायल उद्योगका लागि ढुङ्गाको धुलो, बालुवा र माटो मुख्य कच्चा पदार्थ हुन्, जुन नेपालमै पाइन्छ ।
नेपाल सेरामिक्सका अध्यक्ष शम्भुनाथ झाले सेरामिक्स उद्योगका लागि आवश्यक माटो नेपालमा प्रतिकिलो ५० पैसादेखि ३ रुपैयाँमा पाइने तर त्यही माटो भारतबाट ल्याउँदा भन्सारसहित प्रतिकिलो १५ रुपैयाँ पर्ने बताए ।
‘यहाँबाट ३ हजार ५ सय किलोमिटर टाढाबाट हामीले माटो ल्याउँछौँ, जसमा भाडा, भन्सार गरेर प्रतिकिलो १५ रुपैयाँ हामीलाई पर्छ,’ उनले भने, ‘भारतमा भन्दा राम्रो माटो नेपालको मकवानपुर, सिन्धुली, गोर्खामा पाइन्छ तर स्थानीय तह, खानी विभाग, वन मन्त्रालय लगायत संघीय सरकारका सबै निकायसँग अनुमति लिनुपर्ने भएकाले यति झन्झटिलो प्रक्रिया छ कि बरु सुन ल्याउन सजिलो होला, माटो ल्याउन गाह्रो छ ।’ नेपालकै माटो प्रयोग गर्न पाउने हो भने यहाँ टायल उद्योगको धेरै सम्भावना रहेको उनको भनाइ छ ।
जीतपुरस्थित नेपाल सेरामिक्सले दैनिक २५० टन माटो खपत गर्दछ । भारतमा प्रतिकिलो ५० पैसा पर्ने माटो उद्योगसम्म आइपुग्दा प्रतिकिलोमा भारु ५ रुपैयाँ भाडा लाग्ने र भन्सार सहित १५ रुपैयाँ लाग्ने झाको भनाइ छ । उनले भने, ‘हामीले अहिले मासिक १० करोड मूल्य बराबरको माटो भारतबाट ल्याउँछौँ तर यही माटो नेपालमा पायौँ भने हाम्रो उत्पादन लागत पनि घट्छ, सरकारलाई राजस्व पनि बढ्छ ।’
हाल करिडोरमा खुल्ने तयारीमा रहेका १ दर्जन सेरामिक्स कम्पनी सञ्चालनमा आए दैनिक २ देखि ३ हजार टन माटो प्रयोग हुन्छ । नेपाल सेरामिक्सका सञ्चालक झाले पछिल्लो समय अघोषित रूपमा दैनिक ८ देखि १० घण्टाको लोडसेडिङ र महँगो मूल्यमा भारतबाट कच्चा पदार्थ ल्याउनु परेका कारण उत्पादन भएको टायल तेस्रो मुलुक निर्यात गर्ने वातावरण बन्न नसकेको गुनासो गरे ।
खुला अर्थतन्त्रमा सरकारले बिना अध्ययन टायल उद्योगका लाइसेन्स वितरण गरे पनि उद्योगमैत्री वातावरण बनाउन भने सरकारले पहल नगरेको उद्योगीहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ