सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन

शनिबार, १२ फागुन २०८०, २० : ४६
शनिबार, १२ फागुन २०८०

खप्तड स्वामीलाई एक दिन राजा वीरेन्द्रले सोधे, ‘स्वामीज्यू ! तपाईं किन खप्तडमै आएर बस्नुभयो ?’

खप्तड स्वामीले भने, ‘सुदूर पश्चिम विभिन्न देवी–देवता बास बसेको प्राकृतिक थलो हो । प्रकृतिको सुन्दरम थलो लागेकाले यहाँ आइपुगेँ ।’

हरेक संयोगको एक कथा हुन्छ । खप्तड स्वामी खप्तड स्वामी बन्नुको पछाडि पनि एक कथा छ । 

मरेको मान्छेलाई एक डाक्टरले ‘ही इज क्लिनिकल्ली डेथ’ लेखेर सिग्नेचर गरेछन् ।’ 

मान्छे म¥यो भनिरहेकै समयमा एक सामान्य कमण्डलु लिएर आएका बाबाले डाक्टरलाई भनेछन्, ‘उनको आयु सकिएकै छैन, तपाईंले किन डेथ सर्टिफिकेट दिएको ?’

डाक्टरहरू जिल्ल परे । डाक्टर पढेको, प्राक्टिस गरेको मान्छेले भनेको नमान्ने ! अहंकारले भरिएका डाक्टरले भने, ‘तपाईं फुस्रेले भनेर हुन्छ, मैले लेखिसकेँ ।’

बाबाले भने, ‘म बचाइदिउँ त ?’

‘लौ न हेरौँ ।’

बाबाले कमण्डलुको जल छर्केपछि मृत घोषणा गरिएका व्यक्ति उठे र रोग निको भई कुद्न थाले । यो देखेर तीमध्येका एक डाक्टरलाई झट्का लागेछ । पढेर के हुने रहेछ र संसार त अर्कै रहेछ भन्दै त्यही दिनदेखि उनले डाक्टरी पेसा छाडेछन् ।  तिनै डाक्टरपछि खप्तड स्वामी भएका हुन् । खप्तड स्वामी बसेको थलोलाई आज आध्यात्मिक रूपमा हेरिन्छ । 

हामीले लेख्दै गरेको एक किताबमा यो प्रसंग छ । सुदूरपश्चिमलाई जोड्न मैले यस प्रसंग यहाँ ल्याएको हुँ । सुदूरपश्चिममा देवीदेवता र ऋषिमुनिले तपस्या गरेको ठाउँ धेरै छन्, त्यहाँ धेरै देवी–देवताका आश्चर्यजनक कहानी छन् । 

सादगी, सज्जन, भलादमी नेता लोकेन्द्रबहादुर चन्दको नागरिक अभिनन्दनका लागि म यसपालि सुदूरपश्चिमको केन्द्र धनगढी पुगेथेँ । उनको जन्मदिन (फागुन ३) को अवसरमा उनलाई अभिनन्दन गरिँँदै थियो । 

किताब यात्राका क्रममा गत दश वर्षदेखि उनीसँग मेरो घनीभूत संगत छ । कहिलेकाहीँ म उनको घर लोकन्थलीमा जान्छु । उनको पुस्तक ‘अपराजिता’लाई भर्खरै सिमल बुकले प्रकाशन गरेको छ । उनको बायोग्राफी घोस्ट राइटिङ नेपालबाट आउँदै छ । उनका बारेमा बुझेको, जानेको ठानेरै योपाला नागरिक अभिनन्दन समारोहमा आयोजकले, उनका छोरा (जयन्त चन्द)ले र उनी स्वयंले मलाई बोलाएका थिए । 

धनगढीका लागि प्लेन चढियो । प्लेनमा म केहीबेर निदाएँछु । बिउँझिँदा उनले ‘यात्रा’ नामक बुद्ध एयरको म्यागजिन पढिरहेका थिए, घाँटीमा नेक प्याड लगाएर । धनगढी एयरपोर्टमा ३५ वटा गाडी त उनलाई लिन आएका रहेछन् । एयरपोर्टमैै माला खादा कति हो कति । 

हामी होटल पुग्यौँ । साँझको खानामा उनले रोटी–तरकारी खाँदा रहेछन्, त्यसमा दही अनिवार्य रहेछ । उनलाई भेट्न मानिस आइरहेका थिए । बेलुका १५ मिनेट ध्यान गर्ने उनको बानी रहेछ । औषधी खाने, सन्जे भन्ने बेडमा पल्टिएर सानो एक्सरसाइज गर्ने पनि उनको नियमितता रहेछ । 

भोलिपल्ट बिहान दुर्गा कवच पढे । त्यसपछि श्रीमद्भागवत महायज्ञ लगाएको ठाउँमा उनलाई भव्य स्वागत भयो । प्रमुख अतिथि उनको स्वागतमा शंख–घन्ट बजाएर स्वस्ती वाचन र हुड्के नाचसहित उनलाई स्वागत र सम्मान गरिएको थियो ।

त्यहाँ उत्तर रामेश्वरम शिवपुरी धामका १००८ लोकानन्द  स्वामी महाराजलाई पनि भेट्न पाइयो । पहिले उनकै बासस्थानमा बसेर प्रसाद लिइयो । उनीसँग भेटेर फोटो खिचेपछि खराउ लगाएर स्वामीजी खटक खटक गर्दै अगाडि र हामी पछाडि थियौँ । स्वामीजी हिँड्दा स्वस्ति वाचनका साथ शंखघन्ट बजिरहेका थिए । यज्ञथलोमा आएर प्रमुख अतिथिका रूपमा लोकेन्द्रबहादुर चन्दले पानसमा दियो बालेर कार्यक्रमको शुभारम्भ गरे । यज्ञ लगाएको ठाउँमा सहयोग गर्नेलाई उनले प्रमाणपत्र दिए । 

थोरै वक्ता राखिएको कार्यक्रम प्रमुख अतिथि (चन्द)को वक्तव्य सुनाएर सकियो, डेढ घन्टा जतिमा । प्रमुख अतिथिलाई लचिलो सोफामा राखिएको थियो । कम्मर, खुट्टा र गर्धन दुख्ने कारण उनलाई त्यस्तो सोफा सुविधाजनक नहुने रहेछ । सरल स्वभावका उनी केही बोलेनन् । पछि भन्दै थिए, ‘सबैले लच्किएको सोफा राख्छन्, मलाई सुखमा हैन दुःखमा बस भने भगवानले, साह्रो सोफा कसले राख्ने ?’

यात्रामा कहाँ कतिबेला के खाने भन्ने ठेगान हुँदैन । त्यो दिन हल्का ब्रेकफास्ट पछि दिउँसो ३ बजे खाना खायौँ । खाना खाएपछि लगत्तै सुदूर पश्चिमाञ्चल साहित्य समाजको कार्यालय गयौँ, त्यहाँ कार्यक्रम हुँदै थियो । दुई बिघा जग्गा चन्दको प्रधानमन्त्रित्व कार्यकालमा यस समाजलाई दिइएको रहेछ । राजधानीबाहिर पनि प्रज्ञा प्रतिष्ठान बन्नुपर्छ भन्ने सोच उनीमा उहिल्यै रहेछ । मुक्त कमैयाले जग्गा हडपेपछि त्यहाँ दुई–तीन कट्ठा मात्र बाँकी छ । हरियो रङको तीनतले भवनमा पुस्तकालय र तल छुट्टै कार्यक्रम हल बनाइएको छ । कार्यक्रम हलमै भयो । 

आठ वर्षपछि धनगढी पुगेका चन्दले पदम प्रभात प्रतिष्ठान धनगढी कैलाली र काली कर्णाली क्षेत्रको मौलिक संस्कृति उजागर अभियानको समुद्घाटन समेत गरे । श्रीपञ्चमीको दिन सरस्वतीका साधक मदन पुरस्कारप्राप्त एवं एक दर्जनभन्दा बढी पुस्तकका लेखक चन्दलाई नागरिक अभिनन्दनको पूर्वसन्ध्यामा स्वागत र समुद्घाटन कार्यक्रममा सरिक हुँदा बहुत आनन्द आएछ । 

त्यो साँझ हामीले बैतडेली डोटेली रोटी अर्थात् घिउ टन्नै दलेको कोदो र फापरको रोटी, गहुँको परौठा, स्थानीय साग र कर्णालीको माछाको स्वाद लिएर सुत्यौँ । होटलमा उनलाई देख्न कति हो कति मान्छे आउँथे । 

भोलिपल्ट, फागुन ३ गते अर्थात् उनको जन्मदिन । मैले फेसबुकमा स्टाटस पोस्ट गरेँ— ‘शालीन, शिष्ट, सौम्य र सरल तपाईंले सरलताबाट कसरी विशाल बन्न सकिन्छ भन्ने सिकाउनुभयो । तपाईंलाई शुभकामना ।’ यसपछि म उनी बसिरहेको कोठामा ‘ह्याप्पी बर्थ डे’ भन्न गएँ । उनलाई यसपटक ‘बर्थ डे विस’ गर्ने पहिलो व्यक्ति मै भएँछु । 

त्यस दिन बिहान ११ बजेदेखि उनलाई नगरपरिक्रमा गराउने कार्यक्रम थियो । वनदेवी धनगढीमा उनका लागि गाडी सजाएर राखिएको थियो । फूलैफूलले दुलही बनेको गाडीमाथि चटक्क सोफा राखिएको थियो । वनदेवीको दर्शन गरेर आएपछि उनी त्यो गाडीमा चढे । उनले बोलाएपछि म पनि त्यसमै चढेँ । हामीसँगै उनका दुई सेक्युरिटी थिए ।

करिब डेढ घन्टा नगरपरिक्रमा गर्दा दिव्य, भव्य, सभ्य, अपूर्व, अभूतपूर्व र अद्भूत अनुभूति भयो । मलाई लाग्यो, वाह जन्मदिन त यस्तो होस् । 

बाटैभरि मान्छेहरूले उनलाई नमस्कार गर्दथे । बाजा–गाजा बजिरहेको थियो, मान्छे नाचिरहेका थिए । उनलाई चिन्ने–जान्ने एक हजार आठजना जतिको जुलुस थियो, कोही गाडी बाइकमा त कोही हिँडेका थिए । बिचबिचमा थपिँदै जान्थ्यो मान्छेको जुलुस । एक वर्षदेखि सय वर्षसम्मका मान्छेले त्यो डेढ घन्टामा उनको दर्शन गरिसकेका थिए । उनले पनि ती सबैलाई नमस्कार र हात हल्लाए । दुबोको माला, टोपी र दौरा–सुरुवालमा सजिएका उनको साथमा म थिएँ । मखमलको छाता ओढाइएको थियो । राष्ट्रिय झन्डा सँगै थियो । उनी मुसुमुसु हाँस्दै नमस्कार गर्दै हिँडिरहेका थिए । 

फूलले सजिसजाउ गाडीमा उनी, म र धनगढी बजारमा स–सानाले पनि उनलाई चिन्दथे । सबैले सज्जन भलादमी भनेर चिन्थे । ताँती लागेर नमस्कार गर्दथे । बाटोमा गाईले दुवै कान फ्याट्–फ्याट् गरेर हल्लायो । 

मैले भनेँ, ‘हेर्नु त गाईले पनि हजुरलाई नमस्कार ग¥यो ।’ उनी मुस्काए । डेढ घन्टा परिक्रमापछि कार्यक्रम स्थल पुगियो । पन्चेबाजाका साथ कार्यक्रम स्थलमा प्रवेश गर्दा पन्चकन्याले पुष्पाभिषेक गरेका थिए । कार्यक्रम समन्वय उपसमितिका संयोजक मदनराज पाण्डेले स्वागत मन्तव्य राखे । राष्ट्रिय गान, सगुन मङ्गल गान, पन्चे बाजा, झाँकी तथा सांस्कृतिक नाचहरू देखाइएको थियो । गणेशराज जोशीले चन्दको साहित्यिक व्यक्तित्वबारे र वासुदेव पाण्डेले अभिनन्दनपत्र वाचन गरे । कार्यक्रम संयोजक माया प्रकाश भट्टले दुबोको माला र टोपी लगाइए । पानसमा बत्ती बालेर उद्घाटनपछि ८५ वटा दियो बालियो, यहाँ ८५ ले उनको उमेर जनाउँथ्यो । 

चार घन्टा लामो कार्यक्रम भएकाले खुट्टा, ढाड दुखेकाले उनलाई एकछिन बाहिर लगेर हिँडाउनुपरेको थियो । हिँडेपछि बसिरहेको खुट्टा ठिक हुने रहेछ । कार्यक्रममा लालबहादुर बम लिखित पुस्तक ‘कार्तिकेयपुर प्रमुख राजवंश अन्तर्गत डोटी बोगटानका बम राज्यको वंशावली र इतिहास’ र डाक्टर पीताम्बर अवस्थी लिखित पुस्तक ‘महिलाएँ भ्रान्तियाँ व समाधान’को लोकार्पण चन्दले नै गरे । 

लगातार १५ भन्दा बढी संस्थाले अभिनन्दन गरे । उनको व्यक्तित्व, कृतित्व, साहित्य राजनीति बारेमा विभिन्न वक्ताले भाषण गरे । सिंगो सुदूरपश्चिम धनगढी उपस्थित भएर दिएको शुभकामनाले थाकेको शरीरलाई मनले ऊर्जा दिएझैँ लागेको थियो । वेदमा लेखिएको आठ वाक्यझैँ मैले पनि उनलाई शुभकामना दिएँ— 

जिवेदः शरद शतम । पश्येम शरद सतम् । 

भवेम शरद सतम् । बुध्येय शरद सतमठ । 

रोहेम शरद सतम् । भुयेष शरद सतम् । 

भुवेशी शरद सतम् । पुषेम शरद सतम् । 

अर्थात् सय वर्ष बाँचेको मैले हेर्न पाऊँ । तपाईंका कान, आँखा, पाचनप्रणाली, छालाहरू, आँखाको ज्योति सबका सब सय वर्ष बाँचून् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल ढकाल
कमल ढकाल
लेखकबाट थप