जसपाको राजनीतिक प्रतिवेदन लेख्न राजेन्द्र श्रेष्ठद्वारा अस्वीकार

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल यतिबेला महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशन तयारीकै लागि दुई दिनदेखि कार्यकारिणी समितिको बैठक चलिरहेको छ ।
महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन र नीति तथा कार्यक्रम गरी दुई वटा प्रतिवेदन लेख्ने निर्णय भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन लेख्न पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलाई आग्रह गरेका थिए । तर श्रेष्ठले सिधै अस्वीकार गरेको बैठकमा सहभागी एक नेताले बताए ।
श्रेष्ठको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तपाईं, अनि मैले लेख्ने कसरी ? जसले प्रस्तुत गर्ने हो, त्यसले लेख्ने हो । म यसपाली लेख्दिनँ ।’
श्रेष्ठले राजनीतिक प्रतिवेदन लेख्न नमानेपछि उनलाई नीति तथा कार्यक्रम तयार गर्ने जिम्मेवारी दिइएको छ भने अध्यक्ष यादवले नै राजनीतिक प्रतिवेदन लेख्ने भएका छन् ।
यसअघि बसेको केन्द्रीय समितिको बैठकमा श्रेष्ठले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यो राजनीतिक प्रतिवेदनको निकै आलोचना भएको थियो ।
सो प्रतिवेदनमा मधेस आन्दोलन र मधेस सरकारको बारेमा चर्चा नभएको भन्दै तराई मधेसका नेताहरुले आलोचना गरेका थिए । प्रतिवेदन केन्द्रीय सरकारको बचाउमा लेखिएको आरोप पनि लागेको थियो ।
यसरी केन्द्रीय समितिमा आलोचना भएका कारणले श्रेष्ठ महाधिवेशनका लागि प्रतिवेदन लेख्न तयार नभएको ती नेताको दाबी छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ । सो बैठकले पार्टीमा रहेका विभिन्न विभाग तथा समितिहरुलाई पूर्णता दिने बताइएको छ ।
जसपाले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन गर्ने मिति तय गरेको छ । फागुन २० गतेभित्र पार्टीको सदस्यता वितरण तथा नवीकरण गरिसक्नु पर्ने र त्यसको रेकर्ड २५ गतेभित्र पठाइसक्नुपर्ने सर्कुलर पार्टीले गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत २० गते देखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नु पर्ने जसपाले जनाएको छ ।
त्यसैगरी निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने भनिएको छ ।
चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने भनिएको छ ।
चैत १० गतेभित्र संगठित पार्टी सदस्यता सम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सक्ने प्रावधान पार्टीले राखेको छ । राष्ट्रिय महाधिवेशनका लागि विधान अनुसार संसदीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि केन्द्रीय कार्यालयबाट निर्वाचन समिति गठन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री