शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी क्रिकेट विश्वकप

नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जित

शुक्रबार, ११ फागुन २०८०, १७ : ०८
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।

निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो । नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए । जन फ्राइलिंकले ३४ रन जोडे । उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

रुबेन ट्रम्पलम्यानले अविजित २३ रन बनाए । नामिबियाले अतिरिक्त रुपमा पनि १३ रन पायो । नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले तीन विकेट लिए । आर्यन दत्त र रेलोफ भान डेर मर्वेले दुई–दुई विकेट हात पारे । सारिज अहमद र बास डे लिडले पनि एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि नोच क्रोएसले अविजित ४६ रन बनाए । ओपनर म्याक्स ओ’डडले ४१ रन जोडे । बास डे लिडले २४ रन बटुले । नेदरल्यान्ड्सलाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर जेरहार्ड एरास्मस र जन फ्राइलिंकले तीन–तीन विकेट लिए । बेनार्ड स्कोल्जले पनि दुई विकेट हात पारे । जन निकोल लोफ्टी एटन र रुबेन ट्रम्पलम्यानले पनि एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

तीन खेल खेलेको नेपाल एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप