आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतविरुद्धको चौथो टेस्ट : अनुभवी ब्याट्सम्यान रुटले सम्हाले इङ्ल्यान्डलाई

शुक्रबार, ११ फागुन २०८०, १६ : ५५
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । घरेलु टोली भारतविरुद्धको चौथो टेस्ट क्रिकेटको प्रारम्भमा निरीह देखिएको इङ्ल्यान्डलाई अनुभवी ब्याट्सम्यान जो रुटले सम्हालेका छन् । चौथो टेस्टको पहिलो दिन शुक्रबारको खेल सकिँदासम्म इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा सात विकेट गुमाएर तीन सय दुई रन बनाएको छ ।

राँचीमा जारी चौथो टेस्टमा इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । भ्रमणकारी टोली इङ्ल्यान्डले केवल ५७ रनको कुल स्कोरमा तीन प्रभावशाली विकेट गुमाएको थियो । टोली अप्ठ्यारो स्थितिमा रहँदा रुटले जिम्मेबारीपूर्वक खेल्दै इङ्ल्यान्डको पालीलाई सम्हालेका थिए ।  

रुटले शतक पनि पुरा गरिसकेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको यो ३१ औँ शतक हो । पहिलो दिनको खेल सकिँदासम्म अलराउन्डर रुट अविजित एकसय ६ रन बनाउँदै क्रिजमा छन् । लामो समय क्रिजमा सँघर्ष गरेका ३३ वर्षीय रुटले दुई सय २६ बलको सामना गरी नौ चौका पनि हिर्काएका छन् ।

ओली रोविन्सन पनि अविजित ३१ रन बनाउँदै क्रिजमा छन् । त्यसअघि इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान ज्याक क्रावलीले ४२ रन बनाएका थिए । उनले ४२ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएका थिए । अर्का ओपनर बेन डकेट भने ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जोनी ब्रेस्टोले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले ३५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे । कप्तान बेन स्टोक्स तीन रन बनाउँदै आउट भए भने विकेटकिपर ब्याट्सम्यान बेन फोक्सले ४७ रन बनाए ।

सातौँ नम्बरका ब्याट्सम्यान फोक्सले एक सय २६ बलमा एक छक्का र चार चौका पनि हिर्काए । टम हर्टली १३ रनमा आउट भए । भारतीय टोलीका बलर आकाश दीपले तीन विकेट लिएका छन् । २७ वर्षीय आकाशको अन्तर्राष्ट्रिय क्रिकेटमा यो ‘डेब्यू’ खेल हो । उनी बलिङ अलराउन्डर हुन् ।

भारतीय बलर मोहम्मद सिराजले पनि दुई विकेट हात पारे । रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि एक–एक विकेट लिए । पाँच टेस्टको शृंखलामा भारतले २–१ को अग्रता लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप