आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

दोस्रो खेलमा पनि अस्ट्रेलियासँग हार्‍यो न्युजिल्यान्ड

शुक्रबार, ११ फागुन २०८०, १५ : ४३
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा शुक्रबार अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई ७२  रनले हराएको छ । जितसँगै भ्रमणकारी टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता पनि लिएको छ ।

अकल्यान्डमा खेलिएको उक्त खेलमा अस्ट्रेलियाले टस हारी पहिले ब्याटिङ गर्दै १९.५ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १७ ओभरमै अलआउट हुनुअघि एक सय दुई रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले ४५ रनको योगदान गरे । उनले केवल २२ बलमा पाँच छक्का र दुई चौका पनि प्रहार गरे । प्याट कमिन्सले पनि टोलीको खातामा २८ रन थपे । कप्तान मिचेल मार्सले पनि २६ रन बनाएका थिए ।

अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो । न्युजिल्यान्डका बलर लोकी फर्गुसन एक्लैले चार विकेट लिएका थिए । उनले ३.२ ओभरमा केवल १२ रन खर्चिएका थिए । एडम मिल्ने, बेन सियर्स र मिचेल सान्टनरले पनि दुई–दुई विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि चौथो नम्बरका ब्याट्सम्यान ग्लेन फिलिप्सले सर्वाधिक ४२ रन बनाएका थिए । उनले ३५ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन ।

न्युजिल्यान्डका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका बलर एडम जाम्पाले चार विकेट लिए । उनले चार ओभरमा ३४ रन खर्चिएका थिए । नाथन एलिसले पनि दुई विकेट लिए ।

जस हेजलउड, प्याट कमिन्स र मिचेल मार्सले पनि एक–एक विकेट हात पारे । न्युजिल्यान्डका अन्तिम ब्याट्सम्यान डेभोन कनवे भने घाइते भएका कारण ब्याटिङ गर्न आएनन् । यी दुई टोलीबिचको तेस्रो टी–२० खेल आगामी आइतबार खेलिने छ । यसअघि खेलिएको पहिलो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप