बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भारत भ्रमण छोट्याएर स्वदेश फर्किए इङ्ल्यान्डका सबैभन्दा कान्छा टेस्ट क्रिकेटर

शुक्रबार, ११ फागुन २०८०, १० : १९
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । घरेलु टोली भारत र इङ्ल्यान्डबिचको चौथो टेस्ट क्रिकेट शुक्रबारदेखि राँचीमा सुरु भएको छ । चौथो टेस्टमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ । पाँच टेस्टको शृंखला भारतीय टोली २–१ ले अगाडि छ । शुक्रबारदेखि सुरु भएको चौथो टेस्टमा युवा लेग–स्पिनर रेहन अहमद भने इङ्ल्यान्डको टोलीमा छैनन् । पारिवारीक कारणले १९ वर्षीय रेहन अहमद स्वदेश फर्किएको इङ्ल्यान्डको टोली ब्यवस्थापनले जनाएको छ । पारिवारीक कारण भने खुलाइएको छैन ।

चौथो टेस्टका लागि अन्तिम टोलीको घोषणा गर्नुअघिसम्म रेहन अहमदको विषयमा केही बताइएको थिएन । उनी घरेलु टोलीविरुद्धको जारी शृंखला खेल्न अब भारत फर्कने छैनन् । रेहन अहमद फर्किएपछि अब इङ्ल्यान्डको टोलीमा १४ खेलाडीमात्र बाँकी छन् ।

रेहन अहमदको स्थानमा अर्का खेलाडीलाई नबोलाइने पनि समाचारमा जनाइएको छ । रेहन अमहदको अनुपस्थितिमा सोएब बसिर र टम हर्टलीले स्पिन बलिङको जिम्मेबारी आफ्नो काँधमा लिनेछन् । रेहन अहमद इङ्ल्यान्डका लागि टेस्ट क्रिकेट खेल्ने सबैभन्दा कान्छा उमेरका खेलाडी हुन् ।

उनले सन् २०२२ को डिसेम्बरमा कराँचीमा सम्पन्न पाकिस्तानविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो ‘डेब्यू’ टेस्टमै पाँच विकेट लिएका थिए । भारत भ्रमणका क्रममा रेहन अहमदले अघिल्ला तीनवटै टेस्टमा सहभागिता जनाएका थिए । उनले तीन टेस्टमा कुल ११ विकेट पनि हात पारेका थिए ।

भारत भ्रमणमा आउनुभन्दा अघिदेखि नै रेहन अहमद भिसा (प्रवेशाज्ञाँ) सम्बन्धि समस्यामा पर्दै आएका छन् । इङ्ल्यान्डको टोली तेस्रो टेस्ट सकिएपछि बिदा मनाउन आबु धाबी गएको थियो । आबु धाबीबाट फर्कने क्रममा पनि रेहन अहमदलाई भिसा सम्बन्धि समस्याका कारण लामो समय राँची विमानस्थलमा रोकिएको थियो ।

रेहन अहमदलाई अध्यागमनका कर्मचारीले राँची विमानस्थलमा रोकेका थिए । इङ्ल्यान्डका खेलाडी चार्टर्ड विमानबाट भारत फर्किएका थिए । भारतले रेहन अहमदलाई एकपटक मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने गरी भिसा उपलब्ध गराएको थियो ।

तर, रेहन अहमद एकपटक (पहिलो, दोस्रो र तेस्रो टेस्ट खेल्न) भारत प्रवेश गरिसकेपछि पुनः इङ्ल्यान्डको टोलीसँगै विदा मनाउन आबु धाबी गएका थिए । त्यसैले आबु धाबीबाट फर्कँदा उनीसँग पुनः भारत प्रवेश गर्ने भिसा थिएन ।

त्यसैले राजकोट विमानस्थलमा अध्यागमनका कर्मचारीले उनलाई अन्य खेलाडीसँगै बाहिर निस्कन दिएका थिएनन् । इङ्ल्यान्डको टिम ब्यवस्थापकले पटक–पटक सम्झाउँदा पनि अध्यगमनका कर्मचारीहरुले रेहन अहमदलाई छोडन मानेका थिएनन् ।

त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यस विषयमा खबर गरिएको थियो । बीसीआईले पछि सरकारी स्तरबाटै कुरा मिलाएर रेहन अहमदलाई छुटाएको थियो । इङ्ल्यान्डको ३१ सदस्यीय टोलीका अन्य सदस्यसँग भने पुनः भारत प्रवेश गर्न मिल्ने भिसा थियो ।

रेहन अहमद सन् २००४ मा इङ्ल्यान्डको नटिङ्घममा जन्मिएका हुन् । उनका पिताको नाम नइम अहमद हो । नइम अहमद पाकिस्तानी क्रिकेट टोलीका पूर्वअलराउन्डर खेलाडी हुन् । नइम अहमद आफ्नो समयका प्रभावशाली तिब्रगतिका बलर पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप