शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
खेलकुद

वाफ च्याम्पियनसिप : साम्बाको पाँच गोलसँगै नेपालले इराकलाई सजिलै हरायो

बिहीबार, १० फागुन २०८०, २१ : ४७
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको बिहीबार खेलिएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सजिलो जित हात पारेको छ ।

खेलको प्रारम्भदेखि नै नेपालले इराकलाई दबाबमा राखेको थियो । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् । 

सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् । 

आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको नेपालले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितसँगै नेपाली टोलीले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । 

साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपाल, इराक, प्यालेस्टाइन र सिरिया समूह ‘बी’ मा रहेका छन् । यसअघि खेलिएको समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोलीले सिरियालाई ४-१ गोलको फराकिलो अन्तरले हराएको थियो । 

सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरेका थिए । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । तालिकामा ६ अंकसहित नेपाल पहिलो स्थानमा आसिन छ । 

एक खेल खेलेको प्यालेस्टाइन तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । सिरिया र इराकले भने खाता खोल्न सकेका छैनन् । प्यालेस्टाइनले आफ्नो पहिलो खेलमा इराकलाई ३-० गोलले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा भने जोर्डन, लेबनन, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनन यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुबै टोलीले समूहगत चरणमा दुई-दुई जित हासिल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप