पानीका कारण मिटरब्याज पीडितहरूको सिंहदरबार मार्चपास रोकियो

काठमाडौँ । पानी परेका कारण काठमाडौँमा हुने भनिएको मिटरब्याजी पीडितहरूको सिंहदरबार मार्चपास रोकिएको छ । बिहीबार दिउँसो २ बजेदेखि थानकोटबाट सुरू भई सिंहदरबारसम्म हिँडेर जाने कार्यक्रम पानी परेका कारण रोकिएको हो ।
थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरु हिँडेर सिंहदरबारसम्म आउने तयारी गरेका थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण कार्यक्रम स्थगित गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।
बिहीबार स्थगित भएको मार्चपास कार्यक्रम शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने उनको भनाइ छ । बिहान मार्चपास कार्यक्रमपछि दिउँसो १ बजे भद्रकालीमा ऐक्यबद्धतासभाको आयोजना हुने अध्यक्ष कुशवाहले बताए ।
उनीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीबाट एकै पटक न्याय माग्दै हिँडेर काठमाडौँ आइपुगेका छन् । उनीहरू थानकोटस्थित त्रिभुवन पार्कमा बस्दै आएका छन् । उनीहरू २३ दिनसम्म हिँडेर काठमाडौँ आएका थिए ।