रामायणमा अमिताभ बच्चन दशरथ बन्लान् ?

नयाँ दिल्ली । नितेश तिवारीको रामायणको महँगो बजेटका कारण चर्चित छ । स्टार काष्टलाई लिएर यो फिल्मको चर्चा बेला बेलामा भइरहेको छ । फिल्ममा रणवीर कपूरले शीर्ष भूमिका निर्वाह गर्दै छन् । खबरका अनुसार फिल्ममा ब्रम्हास्त्रमा रणवीरको को–स्टार अमिताभ बच्चनलाई पनि खास रोल अफर गरिएको छ ।
महानायक अमिताभले नितेश तिवारीको रामायणमा राजा दशरथको भूमिका निर्वाह गर्न सक्ने हल्ला बलिउडका गल्लीमा यतिबेला चलिरहेको छ । ३५० करोड भारुमा बन्न लागेको यो फिल्ममा रामको रूपमा रणवीर कपूर, सिताको रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी र रावणको रूपमा कन्नड सुपरस्टार यशलाई काष्ट गरिएको छ । दशरथमा अभिताभको भूमिकाले यो फिल्मलाई अर्को लेभलमा लैजाने छ ।
अमिताभलाई दशरथको भूमिका अफर भएको यो पहिलो पटक होइन । यस अघि सन २००९ मा सञ्जय खान र बेलायती लेखक फारुख धोन्डीको सह–लेखन रहेको द लेजेन्ड अफ राममा खानका सुपरस्टार ज्वाइँ ऋतिक रोशनलाई राम, खानकै छोरा जायद खानलाई लक्ष्मणको रूपमा देखाइने भनिएको थियो । फिल्ममा दशरथको रूपमा अमिताभलाई काष्ट गरिने भएको थियो । तर यो प्रोजेक्ट फ्लोरमा कहिले पनि आएन ।