मधेसमा शृङ्खलाबद्ध साम्प्रदायिक तनाव : कसरी गर्ने समाधान ?
काठमाडौँ । मधेस प्रदेशमा शृङ्खलाबद्ध साम्प्रदायिक घटनामा वृद्धि भएसँगै जनजीवन कष्टकर भएको छ भने राज्य संयन्त्रको सुरक्षा क्षमतामाथि प्रश्न उठेको छ । केही उदाहरण हेरौँ ।
घटना– १
गएको भदौ २२ गते कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा सर्लाहीको मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबिच झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यूको सहारा लियो । विवाद समाधानार्थ सर्वपक्षीय अपिल गर्दा पनि स्थिति सामान्य नभएपछि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको लेखाजोखा गर्दै शान्ति भङ्ग हुन नदिन २३ गते साँझ ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यू लगायो । पछि दुई पक्षबिच सहमति भयो र स्थिति सामान्य बन्दै गयो ।
घटना–२
गत पुस २२ गते सर्लाहीमै प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि तनाव सिर्जना भयो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू जारी गर्यो । स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विवादमा गोली चल्दा स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो, मृतक परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ दिने र घट्नाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने सरकारी निर्णयसँगै स्थिति सम्हालिन थाल्यो । समितिले प्रतिवेदन बुझायो र, दोषी देखिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको तत्काल सरुवा भयो ।
घटना – ३
फागुन ५ गते सरस्वतीको मूर्ति विसर्जनका क्रममा विवाद हुँदा रौतहटको मोतिपुरमा दुई पक्षबिच झडप भयो । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लगायो । हातमा लाठी लिएर आक्रामक रूपमा प्रदर्शनमा उत्रिएका सर्वसाधारण थप हिंसात्मक हुन सक्ने देखिएपछि कर्फ्यू लगाइएको जिल्ला सुरक्षा समितिको दाबी छ । बुधवार अर्थात् फागुन ९ गते मात्र कर्फ्यू हट्यो ।
घटना–४
रौतहटमा भएको सो झडपको बाछिटा वीरगन्जमा पर्यो । फागुन ७ गते वीरगंजको छपकैयाबाट निक्लेको विरोध र्याली आदर्श नगर आइपुग्दा त्यहाँ पनि झडपको स्थिति सिर्जना भयो । प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भए । जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षाको लागि भन्दै कर्फ्यू जारी गर्यो । दुई दिनपछि राजनीतिक दल र प्रदर्शनकारीसँग वार्ता भयो । आन्दोलन रोकियो । अहिले स्थिति सम्हालिएको छ ।
पछिल्लो समय मधेसमा भएका तनावमा यी प्रतिनिधिमूलक घटना हुन् । रौतहट र सर्लाहीमा मूर्ति विसर्जनको नाममा गत वर्ष पनि दुई पक्षीय झडप भएको थियो । यी घटनालाई साम्प्रदायिकको संज्ञा जानकारीहरूले दिएका छन् । यो प्रवृत्तिलाई सूक्ष्म रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता सुरक्षाविज्ञहरु औँल्याउछन् ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याल प्रशासन संयन्त्र बलियो नहुँदा साम्प्रदायिक घटनाले थप उग्र रूप लिने बताउँछन् । ‘प्रशासनले घटनाको उठान बिन्दुदेखि त्यसबाट उत्पन्न हुने परिस्थितिको पहिल्यै विश्लेषण गर्नुपर्छ । राजनीतिक रूपमा सुल्झाउनुपर्ने सर्वदलीय बैठकमार्फत समाधान गर्नुपर्छ,’ अर्यालले रातोपाटीसँग भने,‘ मैले बुझेसम्म जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने वा नलगाउने निर्णय गर्छ । बैठकमा कसैले पनि जोखिम मोल्न चाहँदैन ।’
यसैगरी मधेस प्रदेशका गृहमन्त्री मोहम्मद समिम मधेसका केही जिल्लाहरूमा साम्प्रदायिक तनाव उत्पन्न हुनुको मुख्य कारण एकले अर्काको जात वा धर्मलाई स्विकार्न नचाहनु भएको बताउँछन् । उनले यसमा कोही दोषी पाइए धर्म र जात नहेरी कानुनी दायरामा ल्याउन निर्देशन दिइएको बताए ।
यसैगरी पूर्व गृहसचिव उमेश मैनाली साम्प्रदायिक घटनामा बाह्य घुसपैठ हुनु डरलाग्दो र गम्भीर विषय भएको बताउँछन्, ‘घटना हुने शङ्का लागेपछि स्थानीय प्रशासनले सीमामा कडाइ गर्नुपर्छ । सुरक्षा संयन्त्रले प्रारम्भिक सूचना संकलन गर्नुपर्छ', उनले भने, 'अहिले त स्थानीय तह बलियो छ । उनीहरूले विभिन्न योजना र चेतना अभिवृद्धिका कार्यक्रमहरू ल्याएर दुवै पक्षलाई मिलाउने प्रयास गर्नुपर्छ ।’
यसैगरी राजनीतिक विश्लेषक चन्द्रकिशोर धार्मिक गतिविधि र तनाव पैदा गर्ने विषय छुट्ट्याएर हेर्नुपर्ने धारणा राख्छन् । संवेदनशील विषयमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले भने, ‘कानुन भंगको कुरालाई कानुनको जिम्मा लगाइदिऊँ । तर, सामाजिक जीवनमा राजनीतिक दलहरूले यसमा ईन्टरभेन गर्नुपर्छ । धार्मिक गतिविधि के हो र धर्मका नाममा तनाव पैदा गर्ने काम के हो भनेर छुट्ट्याउनुपर्छ ।’