मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
सदन

विवाद र भ्रष्टाचारमा मुछिएका चार मन्त्री विपक्षी दलको निशानामा

बिहीबार, १० फागुन २०८०, १७ : २६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । विपक्षी दलको निशामा सरकारका चार जना मन्त्री परेका छन् । विवाद र भ्रष्टाचार  प्रकरणमा जोडिएका मन्त्रीको राजीनामा र कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका रास्वपा र राप्रपाले सरकारका चार मन्त्रीको संसदबाट विरोध गर्दै राजीनामा नआए जस्तासुकै आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विभिन्न काण्डहरूमा जोडिएका र मुछिएका प्रचण्ड नेतृत्वको सरकारका तीन जना मन्त्रीहरूको राजीनामा मागे । सांसद पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।

प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न प्रधानमन्त्रीलाई उक्साउने काममा पर्यटन मन्त्री किरातीको समेत संलग्नता रहेको पन्तले बताए । साथै उनले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री र भ्रष्टाचार प्रकरणमा जोडिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतले झण्डा हल्लाएर अख्तियारमा बयान दिएको भन्दै उनलाई समेत प्रधानमन्त्रीले कारबाही गरेर देखाउनुपर्ने बताए ।

‘सक्नुहुन्छ तुरुन्त कारबाही गरेर देखाउनुस्  । नत्रभने आज नेकपा एमालेको तर्फबाट अत्यन्त गम्भीरताका साथ भनेको छु । यस्ता भ्रष्टाचारका घटनाहरूलाई, विवादास्पद गतिविधि गर्ने क्याबिनेटका मन्त्रीहरूलाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्दैन’, सांसद पन्तले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

पन्त पछि रास्वपाका सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीले पढेर कारबाही प्रक्रिया अघि बढाउनुहुन्छ भन्ने अपेक्षा गरे पनि तीन दिनसम्म पनि कारबाही नगरिएकोमा आपत्ति जनाए ।

‘बालकुमारी घटना जे जसरी भयो त्यो घटना हुँदा देश नै स्तब्ध भएको थियो । मलाई त्यो घटनाले दुई दिनसम्म न्यास्रो लाग्यो । तर हामीले प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारबाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेका थियौ’, श्रेष्ठले प्रधानमन्त्रीलाई प्रश्न गरे । भने, ‘त्यो प्रतिवेदनमाथि प्रधानमन्त्रीको अध्ययन कहाँ पुग्यो ? ’ उनले सांसदप्रति नै सरकार जबाफदेही नभएको भन्दै दण्डहीनताको पराकाष्ठा भएको टिप्पणी गरे ।

‘सांसदप्रति नै सरकार जबाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ?’, प्रश्न गर्दै श्रेष्ठले भने, ‘यसरी प्रतिपक्षलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ आन्दोलन पनि हुन्छ ।’ उनले संसदमार्फत सदन मात्रै नभएर सडक समेत अवरुद्ध गर्ने सरकारलाई चेतावनी दिए ।

एमाले र रास्वपाका सांसदपछि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटना हत्या हो भने हत्याको आदेश दिने गृहमन्त्रीले समेत राजीनामा दिनुपर्ने बताए ।

‘फागुन ६ गते प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा बालकुमारीको घटना हत्या हो भन्नुभएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले बालकुमारीको घटना यदि हत्या हो भने हत्याका लागि आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधार मन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ?’, शाहीले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

उनले यदि बालकुमारी घटना हत्या नै हो भने दोषी सबैलाई जेल हाल्नुपर्ने भन्दै प्रधानमन्त्री जस्तो व्यक्तिले संसदमा आएर जे पायो त्यहीं बोल्न नपाइने बताए ।  

तीन सांसदले बोलेपछि शून्य समयको सुरु भएको सभामुखले जानकारी गराए लगत्तै विपक्षी दलका सांसदहरू उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले उठेका विषयहरू यसअघि पनि उठेको र पर्याप्त रुलिङ भैसकेको भन्दै बस्न आग्रह गरेका थिए । तर पनि विपक्षी सांसदहरूले विरोध जनाउन छोडेनन् । त्यसपछि सभामुखले सरकार सदनमा उपस्थित भएको र सदनको ध्यानाकर्षण भएको भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार सरकारलाई जवाफ दिन पुन रुलिङ गरे । सभामुखले सरकारको जवाफ आउने आश्वस्त पारेपछि मात्र विपक्षी सांसदहरू आसन ग्रहण गर्न राजी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप